मुख्य सामग्रीमा जानुहोस्

हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)

हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

ठुलो एकादशी

हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो ।


भगवान् विष्णु उठ्ने एकादशी

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

तुलसीको विवाहको दिन

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।


तुलसी पूजाको महत्त्व

वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातः कालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।


वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ । हिन्दु धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।

काठमाडौँ उपत्यकाका चार नारायण

भगवान् विष्णुका अनेक नाममध्ये एक नाम हो, नारायण । आजको दिन विष्णु भगवानको चर्चा गर्दा काठमाडौँ उपत्यका र नारायणसँग सम्बन्धित केही विषयमा पनि चर्चा गरौँ ।


परापूर्व कालदेखि काठमाडौँ सहरमा भगवान् विष्णुको अनुकम्पा रहिरहोस् भनेर उपत्यकाका चारैतर्फ विष्णु भगवानको प्रतिमा पनि राखिएको छ । भगवान् विष्णुको अनुग्रह काठमाडौँमा सधैँ परोस् भन्नका लागि यसो गरिएको हो । काठमाडौँको पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण अनि दक्षिणमा शेषनारायणले काठमाडौँ उपत्यकालाई सधैँ हेरिरहेका छन् भन्ने मानिन्छ ।

आजको दिन यी ठाउँहरूमा विशेष पूजा गर्ने चलन पनि रहेको छ । श्रद्धासहित भक्तजनहरू यी ठाउँमा पुग्ने गर्छन् । बिहानैदेखि भगवान् विष्णुको प्रतिमा भएका ठाउँमा पुगेका श्रद्धालुहरूले साँझ अबेरसम्म पूजापाठ गर्ने चलन रहेको छ । पहिले पहिले त यी चारै नारायण भएको ठाउँमा भक्तालुहरू हिँडेर एकै दिनमा पुग्ने गरेको चर्चा पनि सुनिन्छ ।


यसरी एकै दिनमा यी ठाउँहरूमा पुग्दा अन्त्यमा शेषनारायण भएको ठाउँमा भक्तालुहरू पुग्ने गरेका थिए । शेषको अर्थ अन्त्य भएकाले पनि यस्तो गरिएको हुनसक्ने विश्वास छ । केही पछि यी चारै नारायण पुग्न नसक्ने भक्तालुहरूका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चार नारायणको प्रतिमा राखिएको छ । यी चार नारायणको प्रतिमामा फेरो लगाउँदा पनि चारै नारायणमा पुगेको जत्तिकै फल मिल्ने विश्वास गरिन्छ ।


आजको दिन नेपालभरका विभिन्न भगवान् विष्णुका मन्दिर तथा तीर्थस्थलमा तीर्थाटन गर्ने भक्तजनहरूको व्यापक भीड लाग्ने गर्छ ।


नमोः नवः तुलसी कृष्ण प्रियशी

कृष्ण राधा सेवा को सबै अभिलासी


तुलसी विवाह विधि र विशेषता

देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।

नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।

तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसङ्ग

तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसङ्गलाई लिन सकिन्छ । बिन्दा देवीले पृथ्वीमा आएर भगवान् विष्णुलाई आफ्नो पतिको रूपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्त्व जोडिएको छ । त्यस्तै, श्रीमद् भागवत पुराणमा पनि तुलसीको बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ।


भोजनमा सधैँ तुलसीको पात पनि राख्ने भगवान् श्रीकृष्णसँग पनि तुलसीका विभिन्न प्रसङ्गहरू जोडिएका छन् । त्यसैले पनि अँजुलिभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरू मिल्ने विश्वास पनि गरिएको छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसङ्ग उल्लेख गरिएको छ ।


हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।

यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दु धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।

दियो, कलश, गणेशसहित सबै देवी–देवताहरूको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पण गरी प्रसाद स्वरूप न्वागी खाने प्रचलन पनि रहेको छ ।


पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमने, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दूर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, ऋतु फल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मन वाञ्छित फल प्राप्त हुने शास्त्रोक्त कथन रहेको छ ।


त्यसपछि पहेँलो फूल हातमा लिएर प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ । एउटा नरिवल, दक्षिणासहित भगवान् शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्दछ । तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ ।


आजको दिन भगवान् विष्णुको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधिनी, ठुली एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ ।


भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको विश्वास गरिन्छ । यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ । अनि शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ ।


यस दिन बिहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र भगवान् विष्णुको पूजनसहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगन गरेर सजाइने गरिन्छ । अनि चारैतिरबाट उखु, साल, बाँस या नियालो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ ।

विश्व बाल दिवस

विश्व बाल दिवस

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

कुमारो रमणीयो वै सदैव प्रियदर्शनीयः।

शिशोः स्पर्शः सुखं दद्यात् सर्वेषां हृदयान्वितम्॥


बालबालिका सँधै आकर्षक र हेर्नको लागि रमाइलो हुन्छन। उनीहरुको स्पर्शले मात्र सबैको मनमा आनन्द र न्यानोपन ल्याउँछ।


पृष्ठभूमि

बालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ ।सम्पूर्ण देश अनि समुदाय लाई बालबालिका मैत्री बातावरण र कानुन तर्जुमा गर्न समेत यस महासन्धीले उत्प्रेरणा दिएको छ ।

बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मितीमा मनाउदै आएको भए ता पनी अन्तराष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारीकमा मनाइन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ताहरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो । जसमा बालबालीकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

बालबालिकाहरु लाई मन नपराउने मान्छे सायदै होलान । उनिहरुको निर्दोशपन , उनिहरुको मुस्कान , अनी उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बालबालिका सँग खेल्ने रहर नहोला र ? कस्लाई उनिहरु सँग रमाउने रहर होला ? बालबालिकाहरु भोलीको देशका भविष्य हुन । भोली बिश्व मै ठुला ठुला परिवर्तन ठुला ठुला आविष्कार गरी संसारलाई रुपान्तरण गर्न सक्ने क्षमता भएका आजका अवोध प्राणी हुन । उनिहरुको हिफाजत गरी उनीहरुको शारीरीक, मानसिक, सामाजिक र शैक्षिक बिकाशका लागी बिश्व भरीका देशहरु र प्रत्येक देशका प्रत्येक नागरीक हरुले आ आफ्नो तर्फबाट आ आफ्नो सहयोग पुर्यानु अपरीहार्य छ ।


अन्तराष्ट्रि बाल दिवसको मुख्य उदेश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिसां र दुब्यबहारहरुको निराकरण गरी उनिहरुको व्यक्तीत्वको बिकाश नरोक्किने खालको सहज परीस्थितीको जगेडा गर्नु हो । संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाऊँ होस् चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामिले खाजा खाने होटल, चााहे हामी चढ्ने सार्वजनीक सवारी साधन होस् या त कुनै अपराधिक गतिबिधी नै या त कसैको घर भित्र नै ति प्रत्येक ठाऊँहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालीका हरुको दुरुपयोग गरी उनिहरुमाथी हिसां र दुर्ववहार भई राखेको नै हुन्छ । कतै हामीले प्रत्यक्ष रुपमा देखेका हुन्छौ भने कतै हामीले देखि देखि पनि बिचार पुर्याइ राखेको हुँदैनौम ।

बाल अधिकार

बाल अधिकार अन्तरगत बाच्न पाउने अधिकार, खान पाउने अधिकाार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षाको लगी अधिकार, स्वस्थ्यको लागी अधिकार, सुरक्षा र स्वतंत्रताको अधिकार, पहिचानको लागी अधिकार र खेल्न पाउने अधिकाार लगायतका अधिकारहरु पर्दछन । तर पनि कैयन बालबालिकाहरुको सामान्य रोगकै कारण बिवस भई अकालमै मृत्यु भईराखेको छ , कैयन बालबालिकाहरु शिक्षा बाट अझै पनी बञ्चित छन, खाना खान नपाएर कैयन बालबालीकाहरु कुपोषणको शिकार भईराखेका नै छन, द्धन्दको चपेटामा परेर कैयन बालबालीकाहरु शान्त बातावरणका लागी छटपटाई राखेका छन र यस्ता अन्य थुप्रै समस्याहरुबाट ती निर्दोश बालबालिकाहरु अनायासै जेलिएका छन ।

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विश्व भरी नै विभिन्न देशहरुमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले सेमिनार, गोष्टि र विभिन्न खेलकुदका कार्यक्रमका साथै सृजनात्मक कार्यक्रमहरुको आयोजना गरी बालबालिकाहरु लाई मनोरञ्जन गराउने सकारात्मक प्रयास गरेका हुन्छन । जसले गर्दा बालबालिकाहरु ले आफ्नो सृजना र क्षमताको प्रदर्शन गर्ने अवसर पाउनुको साथै यस दिन धेरै राहत र खुसीको महशुस गर्ने गर्दछन ।


यसपाला हाम्रो देशमा पनि अरु बर्षभन्दा धेरै नै बालबालिका बिरुद्धका अपराधका घटना अनि बालबालिका हराएका, बेपत्ता पारिएका र हत्या गरिएका लगायतका घटनाहरु सुनिएको अनि देखिएको छ । झापामा एकजना बालकको हत्या बिरुद्धमा उत्रिएको सर्वसाधरणहरु लाई दमन गरिएको घटनामा धेरै हताहती अनि मृत्यू सम्मका समाचार हामीले केही महिना अघि मात्रै थाहा पायौं । यस्ता धेरै घटना, नाम अनि परिवारको हिसाब किताब बाँकी छ, नेपालमा अझै पनि बालअधिकार हननका बिषयमा कडा भन्दा कडा कानुन र कार्यान्वयन पक्ष चुस्त हुन जरुरी छ ।

बालबालिकाहरुका लागी काम गर्ने थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु छन । ती निकायहरु सँगको तालमेलमा विश्वका प्रत्येक नागरीकले आ आफ्नो तर्फबाट सामाजिक, नैतीक, मानसिक वा आर्थिक तवरले साने सहयोग मात्र पनि गर्न सकेको खण्डमा थुप्रै बालबालिकाहरु ले फक्र्रिने अवसर प्राप्त गर्न सक्छन । बालबालिकाहरु को प्रत्येक अधिकारु सुनिश्चित गर्न हामि प्रत्येक देशका नागरीकहरु सक्षम हौँ । अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हामि सारा नेपालीको तर्फबाट यहि शुभकामना प्रत्येक बालबालिकाहरु मा । सबै बालबालिका को जय होस ।

हाम्रो पात्रोबाट थप

जय इन्द्रायणी लुटी अजिमा

सिक्नुहोस्, अभ्यास गर्नुहोस्, र गल्तीबाट सिक्दै अघि बढ्नुहोस्!

मनको बोझ बिस्तारै बिसाउन सिक्नुहोस्। 🌿✨

के तपाईं समाधान गर्न सक्नुहुन्छ?

कमेन्ट गर्नुहोस् 👇

समाचार

समाचार

समाचार

समाचार

समाचार