पहिलो आधुनिक पुस्तकालयकी संस्थापक मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन
hamrakura.com · Tue Jun 23 00:00:00 GMT 2026
काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आज आयोजित एक विशेष कार्यक्रममा उक्त नयाँ टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे। वि.सं. २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक र व्यवस्थित स्वरूप दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी मिश्रको अतुलनीय योगदानको स्मरणस्वरूप यो हुलाक टिकट जारी गरिएको हो।
कार्यक्रममा बोल्दै सचिव बस्नेतले विश्वविद्यालयको केन्द्रीय पुस्तकालयलाई आधुनिक रूप दिन शान्ति मिश्रले देखाएको लगन र मेहनत निर्णायक रहेको बताइन्। राष्ट्रको प्राज्ञिक विकासमा महिलाहरूले पुर्याएको ऐतिहासिक योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेकामा उनले विभागको सराहना समेत गरे। कार्यक्रममा शान्ति मिश्रका श्रीमान् नारायण मिश्रले दिवङ्गत पत्नीको पुस्तकालय विकासप्रतिको अगाध समर्पण स्मरण गर्दै उनले पुस्तकालयलाई वृहत् बनाउने सोचकै कारण प्राध्यापन पेसा छाडेर पुस्तकालय क्षेत्र रोजेको भावुक प्रसङ्ग सुनाए।
Read full story at source (hamrakura.com)