समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क
ratopati.com · Sun Jun 28 09:01:54 GMT 2026

नर्डिक युरोप समाज कल्याण र दिगो विकासको मामलामा संसारकै नमुना छन् । नर्डिकमा विशेष गरी स्विडेन, डेनमार्क र नर्वे ऐतिहासिक रूपमै अब्बल नै थिए । तर फिनल्यान्ड सन् १९५० देखि १९८० को दशकभित्र एक कमजोरबाट विकसित मुलुकको सुचीमा अग्रणी बन्न पुग्यो। यसले जे जति छलाङ मार्यो, त्यसका पछाडि अनेक कारण र आयामहरू छन् । तर सामाजिक-आर्थिक व्यवस्थापनको आधार भने राष्ट्रिय परिचय पत्र (नम्बर), व्यावसायिक परिचय पत्र (नम्बर) र तथ्याङ्क बैङ्कको उचित प्रबन्ध गर्नु नै हो। जसले समाज व्यवस्थापन, आर्थिक अनियमितता नियमन र समग्र राष्ट्र व्यवस्थापन गर्न अत्यन्तै सहज बनायो। हालै मात्र पनि विगत दुई दशकमा बाल्टिन मुलुकहरू ईस्टोनिया, लात्भिया र लिथुनियाको प्रगति पनि निकै लोभलाग्दो छ।
कुनै पनि राष्ट्र भित्र बसोबास गर्ने व्यक्तिलाई राज्यका तर्फबाट पहिचान गर्ने दस्ताबेज राष्ट्रिय परिचयपत्र हो। विकसित राष्ट्रको तुलनामा विद्यमान नेपाली राष्ट्रिय परिचयपत्र बनाउँदा आवेदन फर्ममा आवश्यकता भन्दा ज्यादै न्यून सूचनाहरू मागिएको देखिन्छ। अति सामान्य भन्दा पनि सामान्य जानकारी मागिएको हुन्छ । विशेष गरी जन्म ठेगाना, जात, धर्म, जस्ता सामान्य प्रश्नलाई जोड दिएर सोधिएको देखिन्छ । तर राष्ट्रिय परिचयपत्र यस्तो चिज हो जसले राष्ट्रले चाहेको बखत कुनै पनि देशका बासिन्दालाई तुरुन्त पहिचान गर्न, भेट्न, र आवश्यक परेको समपूर्ण जानकारी पाउन सकोस्। लिङ्ग, जात र धर्मका कुराहरूलाई गौण र अरू धेरै व्यक्तिगत महत्त्वपूर्ण विषयवस्तु र सूचनाका तथ्याङ्कहरूलाई अभिलेखीकरणमा समेटिएको हुनु पर्छ । नेपाली नागरिकको प्रमाण स्वरूप देश भित्रको लागि नेपाली नागरिकता हुन्छ भने विदेशमा नेपाली भनेर चिनिन नेपालको पासपोर्ट हुन्छ । यदि त्यो भन्दा थप उपयोगी हुँदैन भने अर्को त्यही काम गर्ने राष्ट्रिय परिचय पत्रको अर्थ हुँदैन । राष्ट्रिय परिचयपत्रले राज्यले चाहेको बखत एक क्लिकमा देशभित्र स्थायी तथा अस्थायी रूपमा बस्ने आफ्ना नागरिक तथा गैर नागरिक सम्पूर्णको व्यक्तिगत र पारिवारिक सूचना पाउन सक्नु पर्छ । जसले कुनै पनि व्यक्ति र परिवारलाई राज्यले चाहेको बेला तुरुन्त भेट्न सकोस् र आवश्यक व्यवस्थापन गर्न सकोस् ।
Read full story at source (ratopati.com)