पर्यटकीय गन्तव्य बनाउन सुपा खोलाको पानी अब डमरु दहमा
kendrabindu.com · Fri Aug 14 02:09:09 GMT 2026

अर्घाखाँची । धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिर नजिकैको सुपा खोलाको पानी ठाडास्थित डमरु दहमा ल्याइने भएको छ । शितगंगा नगरपालिका–३ ठाडामा रहेको डमरु दहमा बाह्रै महिना पानी भरिभराउ गराएर पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य छ । हाल वर्षामा मात्रै पानीले दह भरिन्छ । हिउँदका बेला पानीको सतह घट्छ ।
करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको डमरु दह ६ फिट गहिरो छ । जिल्ला सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे सडक खण्डको छेउमै दह छ । दहमा पानी भरिभराउ बनाएर बोटिङ अर्थात् डुंगा चलाउने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको शितगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । यसका साथै यस क्षेत्रका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन पनि सुपा खोलाको पानी दहमा ल्याउन लागिएको हो । यो बहुउद्देश्यीय योजना हो । जसका लागि ४ करोड २० लाख रुपैयाँ लगानीमा तीन वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
Read full story at source (kendrabindu.com)