इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
ratopati.com · Mon Jun 15 21:03:34 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको सिएटल स्टेडियममा मंगलबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा इजिप्टले लिएको सुरुवाती अग्रतालाई आत्मघाती गोलले बराबरीमा पुर्याएको हो ।
खेलको २० औँ मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा इजिप्टले उक्त अग्रता कायम राखे पनि दोस्रो हाफमा बेल्जियमले खेलमा फर्कन दबाब बढायो ।
खेलको ६६ औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट दुर्भाग्यपूर्ण आत्मघाती गोल हुन पुगेपछि बेल्जियम १–१ को बराबरीमा फर्कियो ।
प्रशिक्षक रुडी गार्सियाको नेतृत्वमा रहेको बेल्जियमले यस बराबरीसँगै आफ्नो अपराजित यात्रालाई १४ खेलसम्म पुर्याएको छ । सन् २०२५ को जनवरीमा डोमेनिको टेडेस्कोको स्थान लिएका गार्सियाले टोलीलाई यूईएफए नेसन्स लिगको रेलिगेसनबाट जोगाउँदै विश्वकप छनोटमा २९ गोलका साथ समूहको शीर्ष स्थानमा पुर्याएका थिए। यस खेलअघि बेल्जियमले ट्युनिसियालाई ५–० ले पराजित गरेको थियो ।
विश्वकपको इतिहासमा बेल्जियम र इजिप्ट पहिलोपटक आमने–सामने भएका हुन् । यसअघि भएका ४ मैत्रीपूर्ण खेलमध्ये इजिप्टले ३ र बेल्जियमले १ खेल जितेको थियो । सन् २०२२ को नोभेम्बरमा भएको पछिल्लो भेटमा इजिप्ट २–१ ले विजयी भए पनि विश्वकपको मञ्चमा भने दुवै टोलीले बराबरीमा चित्त बुझाउनुपरेको छ ।
यस बराबरीसँगै समूह ‘जी’ मा दुवै टोलीले १–१ अंक जोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा
युरोकप