बेवारिसे बन्यो द्रुत बससेवा
gorkhapatraonline.com · Mon Sep 14 01:34:18 GMT 2026

। तीन वर्षअघि संविधान दिवसका अवसरमा सरकारी तामझामका साथ सुरु भएको द्रुत बससेवा बेवारिसे भएको छ । एम्बुलेन्स सरहको ट्राफिक सुविधासहित छुट्टै सडक लेनको व्यवस्था गरी २०८० असोज ३ गतेबाट द्रुत बससेवा सञ्चालन भएको थियो । ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि नमुना अभ्यासका रूपमा सुरु भएको सेवा तीन वर्षमै बेवारिसे हुन पुग्यो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सुरु भएको थियो । केही महिना विभागले निगरानी गरे पनि हाल विभाग आफैँ बेखबर छ । विभागका सम्पर्क अधिकृत गणेशमानसिं राईले भन्नुभयो, “द्रुत बसको अवस्था पछिल्लो समय विभागले हेरेको छैन । यसका बारेमा विभागसँग जानकारी आएको छैन ।” तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर रत्नपार्कको शान्तिवाटिकाबाट द्रुत बससेवा सुरु गर्नुभएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “तत्कालीन मन्त्रीको सक्रियतामा पपुलर हुन गरिएको थियो । मन्त्री गएपछि सरकारी निकायको सक्रियता पनि गयो ।” हाल व्यवसायीले डेडिकेटेड लेनमा गुडाउन पाएका छैनन् । ट्राफिकले पनि सहजीकरण नगरेको व्यवसायीको गुनासो छ । सिटौलाले भन्नुभयो, “हामीकहाँ सडक पूर्वाधार छैन । अहिले त सूर्यविनायकदेखि धुलिखेलसम्म सडक निर्माण भइरहेको छ कसरी सम्भव हुनु ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)