प्रहरीद्वारा चार अर्ब तीन करोड ४४ लाख बराबरको राजस्व सङ्कलन
farakdhar.com · Mon Apr 01 17:24:32 UTC 2024

राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ । तस्करी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्म जम्मा रु चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व सङ्कलन भएको जनाइएको छ ।
उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट सङ्कलन भएको हो । ती शीर्षकमा संलग्न सात हजार छ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व सङ्कलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक रुपमा ठूलो परिमाणमा राजस्व सङ्कलन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)