महामन्त्रीद्वयले मागे कांग्रेसमा नीति महाधिवेशन
ekantipur.com · Sun Jan 01 01:20:37 GMT 2023
काठमाडौँ — सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस राज्यसत्ताका सबै पदबाट विमुख बन्न पुगेको भन्दै नेता तथा कार्यकर्ताबाट असन्तुष्टि व्यक्त भइरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन् । महामन्त्रीद्वयले पुस २२ बाट हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमै नीति महाधिवेशनको मिति र स्थान तोक्न जोड दिएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार थापा र शर्माले संयुक्त विज्ञप्ति निकाल्दै पार्टीको नीति योजना र कार्यक्रम तय गर्न नीति महाधिवेशन आवश्यक रहेको औंल्याएका छन् । सभापति देउवा भने नीति महाधिवेशन बोलाइहाल्ने मनस्थितिमा देखिँदैनन् । ‘यतिबेला देशभर नै नेता तथा कार्यकर्ताको आक्रोश छ । सभापति पार्टीभित्र रक्षात्मक अवस्थामा हुनुहुन्छ । तत्काल नीति महाधिवेशन बोलाउँदा अप्ठ्यारोमा पर्न सकिन्छ भन्ने उहाँलाई लागेको हुन सक्छ,’ देउवा निकट एक नेताले भने, ‘यो परिस्थिति अलि साम्य भएपछि मात्रै बोलाउने अवस्था हुन सक्छ ।’ सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूको प्रस्तुति हेरेर पनि नीति महाधिवेशन बोलाउने कि नबोलाउने भन्ने निर्णय लिन सक्ने ती नेताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)