दुई तिहाइ निकट बहुमत प्राप्त सरकारको पटाक्षेप
rajdhanidaily.com · Sun Jul 18 23:31:55 GMT 2021
प्रारम्भ
२०७४ सालको आमनिर्वाचनमा राष्ट्रियताको नारासहित चुनावी मैदानमा उत्रिएका ओलीजीले धेरै मिठामिठा सपना नेपाली मतदातासमक्ष बाँडेका थिए । सर्वसाधारण मतदाता उहाँका चिप्ला कुरामा विश्वस्त भए । सचेत वर्गले मत दिने स्थान खासै देखेन । लोकतन्त्रवादीहरूले संसद्वादी कम्युनिस्टका रूपमा ओलीजी र उनको दललाई पहिचान गरे । ओलीजीले नेपाली कांग्रेससँग प्रतिस्पर्धा एक्लै गर्न प्रायः असम्भव देखे । देशको प्रधानमन्त्री बन्ने उच्च अभिलासाका कारण जे जस्तोसुकै समझदारी गर्न मन्जुर गरे । माओवादी केन्द्रको खरो आलोचकका रूपमा आफ्नो पहिचान बनाएका ओलीजी रातारात सोही दलसँग चुनावी तालमेल गर्ने, दलबीच एकता गर्ने, शासनमा शक्तिको विभाजन बराबरी गर्ने आश्वासन दिएर आधा अवधि मात्र आफू प्रधानमन्त्री बनी बाँकी अवधि कमरेड प्रचण्डलाई बनाउने घरायसी कागजपत्र समेतमा सही गरे । नैतिक रूपमा वचनबद्धता प्रकट गर्दै साढे दुई वर्षको अवधिका लागि इमानदारिता प्रदर्शन गर्दै सरकार प्रमुखको भूमिकामा रहे । तर, जब आफ्नो अवधि समाप्त हुने समयनजिक आउँदै गयो सरकारबाट हट्ने सन्दर्भ कठिन बन्दै गयो । करिब दुई तिहाइको बहुमतको सरकार प्रमुखको दम्भका कारण ओलीजी सानो समूहमा रमाउँदै जाँदा विस्तार कमजोर हुँदै जानुभयो । आफ्नै दलबाट तीव्र विरोधको सामना गर्नुपर्ने अवस्थाको सिर्जना उहाँले नै गर्नुभएको थियो । प्रचण्डको मानमर्दन गर्नेतर्फ अभिमुख हुनुभयो । सत्ता र संसद्मा ४० प्रतिशतको हिस्साको हैसियतमा रहेको प्रचण्ड समूह र दलभित्र उहाँकै वरावरी हैसियतमा रहेका माधव, झलनाथ समूहलाई समेत समेटन आवश्यक देख्नुभएन । यसका पछाडि कुनै सैद्धान्तिक आधार थिएन । झलनाथ, नेपाल, प्रचण्ड सत्तामा हिस्साको चाहना मात्र होइन शक्तिमा समेत समान पहुँचको चाहना राख्ने, ओलीजी दललाई बहुमत प्राप्त गराउन आफ्नै मात्र योगदान रहेको मिथ्या कल्पनामा सीमित बन्दै एक्लै हिँड्ने प्रवृत्तिमा रमाउँदै गर्दा यस अवस्थाको सिर्जना हुन पुगेको हो । व्यक्तिगत अभीष्ट पूरा गर्न अस्वस्थ प्रतिस्पर्धा यी नेताबीच हँुदै गर्दा ओलीजीले आफैंलाई शक्तिशाली भएको महसुस गर्न पुग्नु कै परिणाम आजको अवस्थामा साम्यवादीको सरकार पुग्नु हो । यो ओलीजीको राजनीतिक जीवनको सबैभन्दा ठूलो भुल थियो । यही कमजोरीका कारण सत्ता मात्र गुमेको नभई राष्ट्रपतिजस्तो सम्मानित पदलाई आलोचनाको केन्द्रबिन्दु बनाएर ओलीजी सरकारबाट बिदा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)