मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदृश्य अपराध : पहिचान र सावधानी

rajdhanidaily.com · Tue Aug 08 23:11:52 GMT 2023

कार्य प्रकृति र विशेषताको आधारमा दृश्य र अदृश्य गरी अपराध दुई प्रकारको हुन्छ । समाजमा घट्ने सबै अपराध यही दुई समूहमा समेटिएका हुन्छन् । दृश्य अपराधको पीडित आफैं जागरुक बन्ने हुँदा उतिखेरै यस्तो अपराध सार्वजनिक हुन्छ । हत्या, चोरी, डकैती, लुटपिट, जबरजस्ती करणी दृश्य अपराध हुने भएकोले तत्कालै सार्वजनिक हुन्छन् । दृश्य जस्तो अदृश्य अपराध तत्कालै सार्वजनिक नहुन सक्छ । कतिपय अदृश्य अपराध त पीडितरहित पनि हुन्छन् । यस्तो अपराध पीडितकै स्वार्थ र अग्रसरतामा हुने भएकाले त्यस्तो अपराध पीडितरहित बन्छ । कतिपय कार्यालयमा सेवाग्राही र सेवाप्रदायकबिच हुने अवैध साँठगाँठ पीडितविहीन अपराधको दृष्टान्त हो । तत्कालै सार्वजनिक नहुने राजनीतिक अपराध, बैंकिङ कसुर, साइबर अपराध, मिटर ब्याज, जग्गा घोटाला, भ्रष्टाचार र सवारीचालक अनुमतिपत्रको खरिदबिक्री र ठगी आदि प्रमुख अदृश्य अपराध हुन् । यस्तो अपराध सार्वजनिक हुन समय लाग्न सक्छ ।

दृश्य र अदृश्य अपराधको विशेषतामा के अन्तर हुन्छ ? यस्तो अपराधको विद्यमान प्रभाव क्षेत्र कस्तो छ, अपराधबाट बच्न अपनाउनुपर्ने प्रमुख उपाय के हुन् ? तथा दुवै अपराधको प्रभाव अहिले नियन्त्रित अवस्थामा छ÷छैन ? यस आलेखलाई यिनै बुँदामा केन्द्रित गरिएको छ । अदृश्य अपराधमध्ये पनि कतिपय अपराधले राष्ट्रलाई नै पीडित बनाउँछ भने कतिपय व्यक्ति पीडित हुन्छन् । राष्ट्रपीडित बन्ने अदृश्य अपराधमा बैकिङ कसुर, जग्गा घोटाला, भ्रष्टाचार, ठगी र साइबर अपराध अग्रस्थानमा पर्दछन् । दृश्य र अदृश्य दुवै अपराध प्राय गरी पेसेवर अपराधी, आवेश प्रेरित अपराधी, बाध्यात्मक अपराधी, बालअपराधी, र मनोविकृत अपराधीबाट हुने गर्दछन् । तर, यसको अलावा पछिल्लो समयमा अपराधीको समूहभित्र राजनैतिक अपराधी थपिएका छन् । प्रायगरी अधिकांश अदृश्य अपराध अहिले राजनैतिक अपराधीबाट हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)