सर्वोच्चमा आजदेखि गोलाप्रथा
nayapatrikadaily.com · Wed Dec 01 00:38:00 GMT 2021
सर्वोच्च अदालतमा बुधबारदेखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदै छ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास प्रारम्भ हुन लागेको हो । पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था भएकाले पहिलो थैलीमा १ देखि २१ सम्म नम्बरका गोटी राखिएका हुन्छन् । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।
त्यस्तै, दोस्रो थैलीमा ‘अ’ र ‘आ’ लेखिएका दुईवटा गोटी र न्यायाधीशको संख्याअनुसार अरू खाली गोटी राखिन्छ । अहिले सर्वोच्चमा एक न्यायाधीशको पद रिक्त रहेकाले बढीमा २० वटा मात्रै गोटी रहन्छन् । यो थैलीबाट न्यायाधीशहरूले गोटी निकालेर एकल इजलासको टुंगो लगाउँछन् । तेस्रो थैलीमा संयुक्त इजलासको संख्याअनुसार संकेत रहेका गोटीहरू राखिएको हुन्छ । यी गोटी छानेपछि संयुक्त इजलासमा को–को न्यायाधीश रहने भन्ने टुंगो लाग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)