नेपालको लगातार दोस्रो जित
nayapatrikadaily.com · Fri Oct 20 00:24:00 GMT 2023
नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार हङकङमाथि ६ विकेटको सानदार जित निकालेको छ । टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि युएईलाई ६ विकेटले निराश पारेको थियो । मूलपानीको माथिल्लो मैदानमा नेपालले बलिङ, ब्याटिङ तथा फिल्डिङमा एकनासको प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । नेपालले १३.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।
लगातार दोस्रो जितपछि नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । एक–एक खेल खेलेका हङकङ र युएईले अंक जोडेका छैनन् । नेपालले तेस्रो खेल शनिबार हङकङसँग खेल्नेछ । नेपालको जितमा प्लेयर अफ दी म्याच करण केसीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । करणले चार ओभरमा १५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । उनले ३.७५ इकोनोमीमा बलिङ गरे । उनले योजनाअनुसार खेलेका कारण नतिजा पक्षमा आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)