नेवानिका पाँचवटा चिनियाँ जहाज लिलामीमा
nayapatrikadaily.com · Fri Dec 22 00:25:00 GMT 2023
नेपाल वायुसेवा निगम (नेवानि)ले आन्तरिक उडानका लागि चीनबाट ल्याएका पाँचवटा जहाज लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । ०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएका चिनियाँ जहाज बिक्रीका लागि निगमले बिहीबार सार्वजनिक आह्वान गरेको हो ।
निगमले चीनबाट अनुदानमा एउटा एमए–६० र एउटा वाई–१२ई ल्याएको थियो । एउटा ५६ सिटे एमए–६० र तीनवटा १८ सिटे वाई–१२ई पौने चार अर्बमा खरिद गरी ल्याएको हो । जसमध्ये एउटा वाई–१२ई नेपालगन्जमा दुर्घटना भयो । चिनियाँ जहाज उडाउँदा आम्दानीभन्दा खर्च बढी भएको भन्दै निगमले ०७७ साउनदेखि ग्राउन्डेड गरेर राखेको थियो । आर्थिक वर्ष ०७५÷७६ सम्म यी जहाजबाट निगमलाई एक अर्ब ९० करोड घाटा परेको निगम स्रोतको भनाइ छ । जहाज ग्राउन्डेडकै अवस्थामा पनि इन्स्योरेन्स, मर्मत–सम्भार, पार्किङ, ह्रासकट्टी र कर्जाको ब्याजसमेत गरी वार्षिक ४८ करोड नौ लाखसम्म खर्च हुने गरेको पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको एक अध्ययनले देखाएको छ । अत्यधिक इन्धन खपत, स्पेयर पार्टस् पनि महँगो, पाइलट–इन्जिनियरको महँगो तालिम, चर्को इन्स्योरेन्सलगायत कारण घाटा व्यहोर्नुपरेको निगमको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)