शुद्धीकरण अभियान संघर्षपूर्ण
ekantipur.com · Fri Nov 19 01:07:03 GMT 2021
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार अदालत प्रवेशमा रोक लगाउन धर्ना दिइरहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले गरेको लाठीचार्जबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत घाइते भएका छन् । गम्भीर घाइते भएका महर्जनलाई नजिकैको अन्नपूर्ण न्युरो अस्पतालमा तत्कालै लगिएको थियो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै केही सातादेखि नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत प्रवेश गर्ने मूल गेटमा धर्ना दिँदै आएका छन् । प्रधानन्यायाधीश जबरा भने मूल गेटबाट नभई गेट नम्बर २ बाट अदालत प्रवेश गर्दै आएका थिए । कानुन व्यवसायीहरूले बिहीबार गेट नं. २ मा पनि धर्ना दिएपछि प्रहरीले बल प्रयोग गरेको हो । वकिलहरूले धर्नाका लागि तय गरिएको दुई घण्टा गेट नं. २ मा सुरक्षाकर्मीसँग घम्साघम्सीमै बिताए । कानुन व्यवसायीलाई रोक्न अदालतको सुरक्षामा एसपीको कमान्डमा रहेका प्रहरीले नपुगेर दंगा प्रहरीलाई समेत खटाइएको थियो । एसएलआर हतियार बोकेका ‘स्पेसल टास्क फोर्स’ का सुरक्षाकर्मी पनि कानुन व्यवसायीलाई रोक्न तैनाथ देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)