मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकरण पक्राउ परेका रायमाझी हर्षित मुद्रामा सार्वजनिक

newsofnepal.com · Tue May 16 00:16:19 GMT 2023

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता टोपबहादुर रायमाझी सोमबार अदालत पुग्दा हँसिलो मुहारमा अभिवादन गर्दै देखिनुभयो । सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अन्य आरोपीहरू मास्क र टोपीले मुख छोप्दै मलिन अनुहारमा सार्वजनिक भइरहँदा रायमाझीमा भने त्यसको ठीकविपरीत हँसिलो देखिनुभएको थियो ।

रायमाझी नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाएर तेस्रो मुलुक अमेरिका पठाउने भन्दै करोडौं रकम असुसी गर्ने गिरोहलाई सहयोग गरेको अभियोगमा आइतबार साँझ पक्राउ पर्नुभएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले ११ औं दिनमा बूढानीलकण्ठस्थित पासिकोटबाट पक्राउ गरी सोमबार म्याद थपका लागि जिल्ला अदालत पु¥याएको थियो । अदालतमा जाँदै गर्दा गाडीबाट ओर्लिनासाथ टोपबहादुरको मुहारमा मुस्कान देखियो । उहाँको तस्विर लिनका लागि अदालत परिसरमा असिनपसिन गर्दै हतारिएका पत्रकारहरूतर्फ फर्किंदै रायमाझीले निकै उत्साहका साथ हात हल्लाउँदै तस्वीर खिचाएर अदालतभित्र प्रवेश गर्नुभयो । हतकडी नलगाइएका रायमाझीकोे अनुहारमा ग्लानीको भाव कतै थिएन । अदालतले थप अनुसन्धानका लागि उहाँलाई सोमबारदेखि तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले सोमबारबाटै उहाँको बयान लिन शुरू गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)