रास्वपा खारेजीको मागसहित उजुरी
gorkhapatraonline.com · Thu Feb 02 00:40:20 GMT 2023
काठमाडौँ, माघ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिनुभएको हो। एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको तर्क गर्दै पौडेलले दलको दर्ता खारेजी गर्न माग गर्नुभएको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, नेपालको सुरक्षामा आँच पु-याउने गरी कुनै विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतको कार्य गर्न बन्देज लगाएको छ। सोही ऐनको दफा १२ ले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, सुरक्षामा आँच पु-याउने गरी विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतका कार्य गरेमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल खारेजको माग उठेपछि त्यस सम्बन्धमा आयोगले आवश्यक छलफल गर्ने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)