मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महरासँग ‘सम्बन्ध’ रहेका वाङ पटकपटक सुन तस्करीमा

ekantipur.com · Wed Aug 30 00:51:43 GMT 2023

काठमाडौँ — पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको परिवारसँग ‘घनिष्ठ सम्बन्ध’ भएका चिनियाँ नागरिक दाओजिन वाङले तस्करीबाट पटक–पटक नेपालमा सुन भित्र्याएको खुलेको छ । दुबईबाट गत पुस १० मा विद्युतीय चुरोट (भेप) मा लुकाएर करिब ९ केजी सुन भित्र्याउनेमध्येका वाङ विगतदेखि नै सुन तस्करीमा संलग्न रहेको पाइएको हो ।

हाल फरार वाङले तस्करीको सुन भित्र्याएको र त्यसबापत भरियालाई दिनुपर्ने ‘कमिसन’ का विषयमा गरिएको कुराकानीको अडियो कान्तिपुरले फेला पारेको छ । अडियोअनुसार केही वर्ष पहिलेको प्रसंगलाई लिएर वाङ र भरियाबीच ५ मिनेटभन्दा बढी कुराकानी हुन्छ । पूर्वसभामुख महराले वाङसँग आफ्नो पुरानै चिनजान रहेको सार्वजनिक रूपमै स्वीकार गरिसकेका छन् । वाङसँग आफ्नो चिनजान ‘फलफूल व्यापारी’ का रूपमा मात्रै रहेको भनेर महरा यो विषयलाई ‘सामान्य रूपमा लिएर उम्किने प्रयास’ गरिरहेका छन् । महरासँगकै चिनजान तथा सम्पर्कको आडमा वाङ र उनको समूहले पटक–पटक तस्करीको सुन ल्याउने गरेको तथ्य भेटिएको हो । महरा सभामुख, उपप्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका व्यक्ति हुन् । त्यही शक्तिको आडमा चिनियाँ तस्करले नेपालमा बसेर ‘अन्तर्देशीय आपराधिक धन्दा’ चलाउने गरेको पछिल्ला घटनाक्रमबाट देखिइसकेको छ । पछिल्लो पटक भेपमा राखेर ल्याएको सुन छुटाउन वाङले उनै पूर्वसभामुख महरा र उनका छोरा राहुललाई प्रयोग गरेको पुष्टि भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)