थ्रेड्सदेखि फेसबुकसम्म विश्वकपमय, जर्सी लगाइदिने एआई र लाइभ च्याट फिचर थपियो
onlinekhabar.com · Sat Jun 13 10:16:27 GMT 2026

३० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को अवसरमा मेटा कम्पनीले आफ्ना विभिन्न सामाजिक सञ्जालहरूमा खेलप्रेमीहरूका लागि विशेष सुविधाहरू थप गरेको छ।
थ्रेड्स, इन्स्टाग्राम, फेसबुक, मेसेन्जर र ह्वाट्सएपमा विश्वकपको रौनक बढाउन लाइभ अपडेट, थिम्याटिक स्टिकर र एआई प्रविधिमा आधारित नयाँ फिचरहरू उपलब्ध गराइएका छन्।
थ्रेड्स एपमा विश्वकपका खेलहरूको प्रत्यक्ष कुराकानी र लाइभ स्कोर अलर्ट हेर्न मिल्ने व्यवस्था गरिएको छ। यसमा फुटबलका दिग्गज खेलाडीहरूले लाइभ कमेन्ट्री गर्नेछन् भने प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा आफ्नो मनपर्ने राष्ट्रिय टिमको ब्याज वा झन्डा राख्न सक्नेछन्।
त्यसैगरी, इन्स्टाग्राममा विश्वकप सामग्रीका लागि एउटा छुट्टै ‘सर्च हब’ बनाइएको छ। प्रयोगकर्ताले फुटबल भिडियोमा रहेको विशेष बटन थिच्दा वा विश्वकप सर्च गर्दा सीधै आधिकारिक ब्रोडकास्टरहरू, राष्ट्रिय टिमहरू र फ्यानहरूका उत्कृष्ट रिल्स तथा स्टोरीहरू हेर्न मिल्ने पेजमा पुग्नेछन्।
इन्स्टाग्रामको इनबक्समा भने एआई प्रविधिमा आधारित ‘गोल !’ भ्वाइस इफेक्ट थपिएको छ, जसले विशेष एनिमेसन खोल्नेछ।
फेसबुकमा फिडको सबैभन्दा माथि रहेको फेसबुक लोगोलाई डबल ट्याप गरेर ‘फुटबल मोड’ सक्रिय गर्न सकिनेछ। यस मोडभित्र फुटबल थिमका रियाक्सन र एउटा छुट्टै फुटबल मिनिगेम खेल्न पाइनेछ। साथै, फेसबुकमा मेटाको नयाँ एआई टुल ‘वेअर इट’ थपिएको छ। यसको मद्दतले प्रयोगकर्ताले आफ्नो फोटोमा मनपर्ने देशको जर्सी भर्चुअल रूपमा लगाएर तस्बिर बनाउन र प्रोफाइलमा राख्न सक्नेछन्।
मेसेन्जरको ग्रुप च्याटमा प्रत्यक्ष खेलको गतिविधि थाहा पाउन ‘लाइभ अपडेट्स’ फिचर ल्याइएको छ। च्याटको प्लस (+) बटन थिचेर यो फिचर अन गरेपछि खेलमा गोल हुँदा वा रातो कार्ड पाउँदा च्याटभित्रै तुरुन्तै रियल-टाइम नोटिफिकेसन आउनेछ। यसले गर्दा साथीहरूसँग च्याट गर्दै खेलको खुसियाली मनाउन सहज हुनेछ।
ह्वाट्सएपले पनि यसअघि नै आफ्नो फुटबल इमोजी परिमार्जन गरेर यस वर्षको आधिकारिक म्याच बल ‘ट्रायोन्डा’को स्वरूप दिइसकेको छ। विश्वकपको समयमा सामाजिक सञ्जालमा हुने ठुलो बहस र गतिविधिलाई ध्यानमा राख्दै मेटाले आफ्ना सबै मञ्चहरूलाई खेलमय बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)