इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
ratopati.com · Sun Jul 05 19:20:22 GMT 2026
काठमाडौँ । विश्व फुटबलका दुई सर्वाधिक रोमाञ्चक आक्रमणकारी खेलाडी भिनिसियस जुनियर र एर्लिङ ब्राउट हालान्ड सोमबार बिहान आमनेसामने हुँदैछन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत हुन लागेको यो आकर्षक भिडन्तसँगै यस विश्वकपको ‘गोल्डेन बुट’ अर्थात् सर्वाधिक गोलकर्ता बन्ने होड पनि थप तातिएको छ । यो रोमाञ्चक खेल नेपाली समय अनुसार सोमबार बिहान १ः४५ बजे अमेरिकाको न्यूयोर्क–न्यु जर्सी स्टेडियम, इस्ट रदरफोर्डमा सुरु हुनेछ ।
यस विश्वकपमा गोल्डेन बुट जित्ने प्रतिस्पर्धा निकै रोचक बनेको छ, जहाँ अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पे समान ७–७ गोलका साथ शीर्ष स्थानमा रहेका छन् । ३९ वर्षीय मेसीले शुक्रबार राति केप भर्डविरुद्ध अर्जेन्टिनाको ३–२ को जितमा गोल गर्दै आफ्नो विश्वकप करियरको २०औँ गोल पूरा गरेर नयाँ कीर्तिमान रचेका छन् । उनी लगातार ८ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । अर्कोतर्फ, फ्रान्सका किलियन एम्बाप्पेले शनिबार पराग्वेविरुद्धको अन्तिम १६ को खेलमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो करियरको १९ औँ विश्वकप गोल पूरा गरी मेसीलाई पछ्याइरहेका छन् । नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका ह्यारी केन समान ५–५ गोलका साथ यस दौडमा तेस्रो स्थानमा रहेका छन् । यदि प्रतियोगिताको अन्त्यमा गोल संख्या बराबर भएमा फिफाले ‘असिस्ट’ लाई पहिलो टाईब्रेकर मान्नेछ, जसमा एम्बाप्पे मेसीभन्दा २–० ले अगाडि छन् भने दोस्रो टाईब्रेकरका रूपमा मैदानमा कम समय बिताएको खेलाडीलाई आधार मानिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)