
एकसिङ्गे गैंडा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपालका राष्ट्रिय निकुञ्जहरूमा पाइने एकसिंगे गैंडा संसारकै अनौठो र दुर्लभ प्रजातिमध्ये एक हो। अहिलेको तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा लगभग ७०० एकसिङ्गे गैडा छन् । यहाँबाट केही समय अगाडिसम्म लगभग १०० को हाराहारीमा यी गैंडाहरूलाई बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटापु वन्यजन्तु आरक्षणमा पठाईएको छ भने २६ वटा गैंडा विभिन्न राष्ट्रलाई उपहार स्वरूप प्रदान गरिएको छ ।
नेपाली समाजमा गैंडालाई शक्ति र दृढताको प्रतीक मानिन्छ। विश्वव्यापी रूपमा गैंडा नेपालको पहिचान बनेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त विश्वले “Rhino’s” भनेर पनि सम्बोधन गर्ने गरेका छन् । गैंडा हेर्नु नेपाल आउने पर्यटकको “Wish List”मा शिर्ष स्थानमा रहने गरेको छ।
३५ देखि ४० वर्षसम्मको जीवनकाल भएका यी गैंडाहरू पौडिन निक्कै शिपालु हुन्छन् । पौडिन बाहेक शरीरलाई चिसो राख्न यिनीहरू हिलोमा पनि रमाउने गर्दछन् । सन् १९५० तिर नेपालमा १०० भन्दा पनि कम एकसिङ्गे गैंडा थियो। चितवन राष्ट्रिय निकुञ्जले यसको संरक्षणमा ठूलो भूमिका खेलेको छ । तर, अझैपनि गैंडाको सिङका लागि अवैध शिकार गर्ने गलत मानिसहरूले गर्दा यसको संरक्षणमा चुनौती बढेको छ ।
