मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
१४६ दिन अगाडि
माघ २०८२शुक्रवारJan 23, 2026🌒

वसन्तपञ्चमी व्रत / सरस्वती पूजा (शिक्षण संस्था बिदा)

माघ शुक्ल पञ्चमी

सूर्योदय:६ : ५४
सूर्यास्त:१७ : ३७

नोटस्

आगामी दिनहरू

वसन्तपञ्चमी व्रत । सरस्वती पूजा

वसन्तपञ्चमी व्रत । सरस्वती पूजा

विशेष अडियो सामग्री

0:00 / 0:00

सरस्वती स्तुति

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।

हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।


जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।


सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आज सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौँ ।आज सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ ।

ब्रह्मा भिभर्त पुराण बाट सरस्वती माताको महिमा


‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।


विद्यालयहरूमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाऊ रहन्छ ।


विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरूमा स्वछन्द विश्वको पुर्न शुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविच्छिन्न होस् ।


विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो । रङ्गिन पोसाकमा विद्यार्थीहरूको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ ।

अक्षरारम्भ

आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो ।

वसन्त ऋतुको सुरुवात


आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।


वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।

सरस्वती मन्दिरहरू

काठमाडौँमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरी धाराको नील सरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रूपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ ।


नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।


आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त: कालसम्म रहिरहोस् ।


सिर्जनाका औजारहरू कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । सरस्वतीको असीम कृपाले सकारात्मक शब्दहरू, भावहरू, व्याख्याहरूको पर्दापण भइरहोस्, सर्जकहरू चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन् । जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सधैँ दूर होस् ।

मुस्लिम समुदायको सुफी वसन्त र कवि अमिर फुस्रोको कथा

आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज अनि किंवदन्तीहरूमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दीनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहत भएका थिए, सुफीका महान् कवि अमिर फुस्रोले फकिरलाई खुसी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हँसाउन सकेको र यो दिनलाई सुफी वसन्त पनि भनिएको जनउक्तिहरू पाइन्छ । त्यसपश्चात् आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफी वसन्तका रूपमा मनाउन थालिएको हो ।


तपाई–हामी जुनै धर्म या संस्कृति या विश्वास राख्ने व्यक्ति भए पनि विद्या हामी सबैलाई आवश्यक छ । सिर्जना र सर्जकको कदर हामी सबैले गर्नु जरुरी छ ।

लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरूले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सदैव साथ दिउन् । ए बी सी डी आदिका अक्षरशः प्रयोग जारी रहोस् । व्याकरणले साथ दियोस् । सङ्गीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरूले साथ दिउन् । मुख्य कुरा शृङ्गार रसले जीवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू