Gosaikunda Snan Aarambha/Adhikmas Aarambha/Matsyanarayan Mela Suru/World Telecommunication day/World Hypertension Day | गोसाइकुण्ड स्नान आरम्भ/अधिकमास आरम्भ/मत्स्यनारायण मेला शुरू/विश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस | २०८३ जेठ ३ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2026
    २०८३ जेठ

    आइतवार
    May 17, 2026
    अधिक जेठ शुक्ल प्रतिपदा
    गोसाइकुण्ड स्नान आरम्भ/अधिकमास आरम्भ/मत्स्यनारायण मेला शुरू/विश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस ( Gosaikunda Snan Aarambha/Adhikmas Aarambha/Matsyanarayan Mela Suru/World Telecommunication day/World Hypertension Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अधिकमास आरम्भ

    अधिकमास आरम्भ

    विशेष अडियो सामग्री

    अधिकमास भनेको केहो ?

    एउटा औँसीदेखि अर्को औँसीसम्म सूर्य सङ्क्रान्ति परेको छैन भने त्यो महिनालाई अधिकमास वा मलमास भनिन्छ अर्थात् एउटा सूर्य महिना भित्र दुईवटा औँशी परेमा त्यो महिना अधिकमास वा मलमास कहलाउँछ । यो अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेको र यो महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गर्नुभएकोले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।


    सङ्क्रान्तिरहितो मासोऽधिमासः ।

    सङ्क्रान्तिद्वययुक्तो मास: क्षयमास: ।- (धर्मसिन्धु:)

    असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।

    द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।। -(सिद्धान्त शिरोमणि)

    पुरुषोत्तम महिनाको परिभाषा

    वर्षभरिका १२ महिनाको नेतृत्व भानु, इन्द्र, रवि, अरुण आदिलाई सूर्य तथा कुनै न कुनै देवीदेवताले नेतृत्व तथा सुरक्षा गर्ने तर, यो अधिक महिनालाई कसैले पनि अपनाउन नमानेपछि मलमास दुखित तथा उदासीनताका साथ भगवान् विष्णुलाई आफ्नो पीडा, व्यथा एवम् एक्लो भएको कथा भगवानलाई सुनाएपछि भगवान् विष्णुले मलमासलाई सम्झाउँदै भन्नु भएको छ


    अहमेते यथा लोके प्रथितः पुरुषोत्तमः।

    तथायमपि लोकेषु प्रथितः पुरुषोत्तमः।।


    "म आफ्नो जुन गुणको कारणले वेदमा, लोकमा र शास्त्रमा पुरुषोत्तम नामले प्रसिद्ध छु, त्यसै प्रकार मलमासपनि ‘पुरुषोत्तम’ नामले प्रसिद्ध हुनेछ र म स्वयम् मलमासको स्वामी हुनेछु ।” भन्दै यसरी अधिक मासको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकारी नेतृत्व गर्नुभएकोले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

    अधिक मास कसरी पर्छ ?

    ज्योतिष विज्ञानका अनुसार सूर्यको गतिलाई आधार मानि गणना गरिने वर्षलाई सौर्यवर्ष भनिन्छ र यो सौर्यवर्षको मान ३६५ दिन १५ घडी २२ पला र ५७ विपला हुन्छ । जबकि चन्द्रमाको गतिको आधारमा गणना गरिने वर्षलाई चान्द्रवर्ष भनिन्छ । चाद्रवर्ष ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ । यसप्रकार सौरवर्ष र चान्द्रवर्षको वर्षमानमा प्रतिवर्ष १० दिन ५३ घडी २१ पला अर्थात् लगभग ११ दिनको फरक पर्दछ अत: सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार वर्षमा ११ दिन फरक हुने गर्दछ । यसै अन्तरलाई समानता बनाउन चान्द्रवर्ष प्रत्येक लगभग ३ वर्षमा १२ महिनाको ठाउँमा १ महिना अधिक भई १३ महिनाको हुन्छ । यसरी गणना गर्दा प्रत्येक ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पूरा भएपछि अर्को अधिकमासबाट अर्को अधिकमास आउँछ । यस्तो अधिकमास यसपालि यही साउन महिनामा परेको छ । विशेष कुरा के छ भने अधिक मास चैत्र देखि आश्विन सम्म मात्रै हुन्छ । कार्तिक, मार्गशीर्ष र पौष महिनामा क्षय मास हुन्छ र माघ फाल्गुनमा अधिक या क्षय मास कहिल्यै पनि हुँदैन ।


    अधिक मासमा के गर्नु हुन्छ ? के गर्नु हुदैन ?

    नगरी नहुने र परिआएका अर्थात् जुन कर्मको अन्य कुनै उपाय हुन्न त्यस्ता नित्य, नैमित्तिक र काम्य कर्महरू अधिकमास या क्षय मासमा गर्नु हुन्छ, तर तत्काल नगरे पनि हुने खालका वा जुन कर्मलाई अरु बेला पनि गर्दा हुन्छ त्यस्ता कर्म नित्य, नैमित्तिक र काम्य कर्महरू भने अधिकमास या क्षय मासमा भने गर्नु हुँदैन ।


    “मलेsनन्यगतिं कुर्यात् नित्यां नैमित्तिकीं क्रियाम्”- (काठकगृह्यसूत्र)

    अनन्यगतिकं नित्यं नैमिन्तिकं काम्यं चाधिमासक्षयमासयो: कर्तव्यम् ।

    सागतिकं नित्यं नैमित्तिकं काम्यं च वर्ज्यम् । - (धर्मसिन्धु:)


    जस्तै माङ्गलिक शुभ कार्यहरू, शिलान्यास, गृहप्रवेश, सप्ताह, प्रतिष्ठा, चूडाकर्म, विशेष पूजाआजा, विशेष यज्ञ, अनुष्ठान, व्रत उद्यापन, व्रतबन्ध, विवाह जस्ता संस्कारहरू गर्नु हुँदैन, तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासना, नित्यपूजा, गर्भाधान पछि देखि अन्नप्राशन सम्मका संस्कार गर्नुहुन्छ साथै पहिलेदेखि गरिआएको सबै नित्य र नैमित्तिक कार्य भने गर्नु हुन्छ । यो पुरुषोत्तम महिनामा मालपुवा आदि दान, धर्म, परोपकार र पुरुषोत्तम भगवानको उपासना गर्नुको पनि छुट्टै महत्त्व र परम्परा छ । धार्मिक दृष्टिले यो अधिक मासमा भने भगवान पुरुषोत्तमको उपासना भने निकै फलदायी हुन्छ ।


    नव विवाहीताले किन मलमास बार्ने ?

    नव विवाहिताले विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने किम्वदन्ती कथाहरूमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने परम्परा रहिआएको छ ।


    पुरुषोत्तममासम दानम् वितरणम् प्रोक्तम् मुनिभी: तत्वदर्शीभि:


    यस कारण यसै पुरुषोत्तम मासमा दान र त्यागको ठूलो महत्व मानिएको छ सम्भव भएसम्म यथाशक्ति दान तथा सेवा गर्नाले दानीलाई कैले पनि हानी हुँदैन । अस्तु ॥


    -ज्योतिषाचार्य प. नारायणप्रसाद दुलाल

    विश्व दूरसञ्चार दिवस

    World Telecommunication day

    विशेष अडियो सामग्री

    नेपाली दूरसञ्चार इतिहास

    सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो।सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो। सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो।सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो। त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो। सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो। सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो ।सन् १९९५ मा आएर सञ्चार प्रविधिको नविनतम् उपलब्धि अप्टिकल फाइबर नेटवर्क जडान भयो । सन् १९९७ मा वीरगंज–रक्सौल अप्टिकल फाइबरको माध्यमबाट भारतीय दूरसञ्चार निगमसँग सिँधा सम्पर्क जोडियो ।

    सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो। सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो। २००५ मा सिडिएमए फोन सेवाको थालनी भयो ।नेपालभर विस्तारित मोबाइल नेटवर्कमा सन् २००७ मा आएर जिपिआरएस र थ्रिजी सेवाको थालनी भयो । त्यसपछिका उपलब्धिहरू त नयाँ पुस्ता नै गवाही हुन्।तर सुस्तरी हाम्रा पुस्ताहरू मोबाइल, इन्टरनेट, फेसबुक, यु–ट्यूब लगायत अन्य प्रविधि र दूरसञ्चारका कीर्तिमानी आयामसँग लुटपुटिँदै हुर्कदैछन् ।विश्व दूरसञ्चार दिवसको परिवेश सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ। सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो। यस दिवसलाई सूचना समाज दिवसका रूपमा समेत मनाइँदैछ। नेपालमा समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ।

    विश्व उच्च रक्तचाप दिवस

    विश्व उच्च रक्तचाप दिवस

    विशेष अडियो सामग्री

    ‘हाइपर–टेन्सन’ के हो ?

    उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो।बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, ब्यस्त जीवनशैली अनि चाहनाहरूको गुणन गर्ने र नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई ‘हाइपरटेन्सीभ’ बनाउँदैछ। हामीसबै सतर्क हुन जरुरी छ । हामी सबै ‘हाइपरटेन्सन’कै जोखिममा छौं।

    ‘हाइपर–टेन्सन’ बाट जोगिने उपाय

    धुम्रपान, मद्यपानबाट टाढा रहनु अत्यन्त राम्रो हो। तथापि त्यसबाट पूरै टाढा बस्न नसकेको खण्डमा कम प्रयोग गर्नुपर्छ। दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरूवाट मुक्त हुन सक्दछौ।


    दैनिक ब्यायामहरूले थकान महसु्स गराएर निन्द्रा पर्ने हुन्छ, रात्रि सिफ्ट कार्य गर्ने र रात्रिकालीन समयमा धेरै बेर बस्ने मानिसहरूमा ‘हाइपरटेन्सन’को सम्भावना धेरै हुन्छ ।रक्तचापको एउटा निर्धारित चाप छ, त्यसमा बढी र गलत दुवै हानिकारक हो ।आफ्ना लागि समय निकाल्नु र तनावरहित जीवनको खोजमा रहनुपर्छ।बैंकका ब्यालेन्सले सुख त देलान्, तर स्वास्थ्य भन्दा ठूलो सुख केही छैन।आहार, बिहार अनि विश्राममा ध्यान दिनुपर्छ नै। तपाई–हामी सबैजना स्वस्थ भएको हेर्न रहर छ । सबैको जय होस्।

    ‘हाइपर–टेन्सन’ आधुनिक समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो।ध्यान पुर्याउनु जरुरी छ। पाउने र गुमाउने होडबाजीमा जीवन बाँच्न बिर्सिएका यी पुस्ताहरूमा शान्ति अनि समानताको एउटा मोडको खाँचो छ ‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न जरुरी छ। सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’८० हुने गर्छ।


    आजको दिन थोरै समय निकालेर एकफेर ‘ब्लडप्रेशर’ जचाउने पो हो कि रु स्मरणरहोस् हृदय रोगका कारक तत्वहरूमा रक्तचाप उच्च हुनु महत्वपूर्ण र भयानक कारण मानिन्छक। यसका कारण मृगौलाका रोगहरू,थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन्।ओखतीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुको साटो समय समयमा आफै शरीरलाई जाँच गराउन ठीक हुन्छ। यसतर्फ हामी सचेत हुन जरुरी छ।

    मत्स्यनारायण मेला

    मत्स्यनारायण मेला

    विशेष अडियो सामग्री

    काठमाडौवाट झन्डै ८ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला लाग्ने गर्दछ भने साबिकका वर्षहरुमा आजका दिनमा मात्र मेला लाग्दछ।यस मेलामा परपर वाट हजारौं लाखौं भक्तजनहरु दर्शनार्थ आउने गर्दछन्। मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा / पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।


    विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ।चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन्। मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ।

    मत्स्य अवतारको व्याख्या

    म थोरै मत्स्य अवतारको व्याख्यामा थप हौसिन चाहन्छु । सत्ययुगको सुरुवात भन्दा अगावै कलियुगको अन्तका क्रममा सबै कुराहरूलाई विनाश गर्ने क्रम चलिरहेको थियो। हामी सबैलाई थाहै छ कि चार युगका आधारमा सनातन दर्शनमा समग्र मानव अवस्थितिलाई बाँडिएको छ।


    यसरी एउटा पूर्ण चक्र, सत्य, त्रेता, द्वापर र कलिको वृत्तपछि विनाशको सँघार मा भगवान् ब्रह्मा नयाँ सत्ययुगको सृजना गरेर निदाएको अवस्था थियो । यसै क्रममा धर्म–दर्शनका बहु उपयोगी ग्रन्थहरू वेद, उपनिषद् लगायतका अन्य थुप्रै श्रोतहरू बोकेर हायागृभ नामका दैत्य समुन्द्र मुनी लुक्न गए। यिनै हायागृभलाई खोजी गर्न र सबै ग्रन्थहरू फिर्ता ल्याउन भगवान् विष्णुले मत्स्य अवतार लिएको उल्लेख छ। आज तिनै मत्स्य अवतारको जयन्ती, सबैलाई शुभकामना । यस वर्ष शुभसँग बितोस्।

    गोसाइकुण्ड स्नान आरम्भ

    गोसाइकुण्ड स्नान आरम्भ

    विशेष अडियो सामग्री

    ॐ अस्य श्री भगवान नीलकंठ सदा (शिव स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः

    श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म(स्थै(आर्यु(आरोग्य(अभिवृद्धयर्थं मोक्षादि(चतुर्वर्ग(साधनार्थं च श्री नीलकंठ(सदाशिव(प्रसाद(सिद्धयर्थे जपे विनियोगः।


    ब्रह्माको श्रोत, पार्वतीको शक्ति, निलकण्ठ सदाशिव, मेरा पापहरुवाट मलाई पूर्णत मुक्ति मिलोस्। ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव निलकण्ठको जयजयकार होस् ।

    गोसाईकुण्ड र निलकण्ठ

    आजको आलेख निलकण्ठको अर्थवाटै शुरु गरौं । नीलकण्ठ, नीलो घाँटी भएको, म आज यहाँबाट शुरु गर्दै छु, र यो अति उत्तम कथा हो।समुन्द्र मन्थनका क्रममा समुन्द्रवाट धेरै कुराहरु निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पती र स्थापित भए । यसैक्रममा महासागरवाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरुलाई असर गर्न थाल्यो, भगवान विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो।

    तपाईंलाई तिर्थयात्रा गर्दा के कुराले सबैभन्दा बढी आकर्षित गर्छ?

    शिवजीले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैं। देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाबिध्याको स्वरुपमा प्रवेश गरि विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सिमित पार्नुभयो।यसरी निलो घाँटी भएका निलकण्ठ भगवान गएर त्रिशुल प्रहार गरि बनाएको कुण्ड नै गोसाईकुण्ड हो।समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईकुण्ड (गोसाईको अर्थ) भगवान र कुण्ड पवित्र पोखरी हो, भगवान शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ।

    सबै देवताहरु त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ।त्यसैले पनि गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ।


    जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ गोसाईकुण्डमा आजको दिनबाट हजारौ भक्तालुहरु विभिन्न जनविश्वासका साथ वर्षेनि कुण्डमा स्नान गर्न जाने परम्परा रहेको छ। रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने अनुमान रहेको छ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.