विश्व मधुमेह दिवस

विश्व मधुमेह दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । मधुमेहका कारण उत्पन्न हुने स्वास्थ्य तथा आर्थिक जोखिमप्रति बढ्दो चिन्तालाई सम्बोधन गर्न विश्व स्वास्थ्य सङ्गठन (WHO) को सहयोगमा अन्तर्राष्ट्रिय मधुमेह महासङ्घद्वारा सन् १९९१ मा स्थापना गरिएको विश्व मधुमेह दिवस सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको आधिकारिक दिवस बन्यो।
मधुमेहका लक्षणहरूबारे जानकारी हुनुले मानिसहरूलाई कतिबेला स्वास्थ्य सहयोग लिनुपर्छ भन्ने कुरा पहिचान गर्न मद्दत गर्छ। मधुमेहका सामान्य लक्षणहरूमा बढी तिर्खा लाग्नु, बारम्बार पिसाब लाग्नु, थकान महसुस हुनु र धमिलो देख्नु पर्दछन्।
टाइप १ मधुमेह प्रायः छिटो विकसित हुन्छ, जबकि टाइप २ मधुमेह सामान्यतया बिस्तारै विकसित हुन्छ र यसका लक्षणहरू कम देखिन सक्छन् वा कुनै पनि लक्षण नदेखिन सक्छन्।
सन् २०२६ को विश्व मधुमेह दिवसको नारा “मधुमेहमा छिटो पहल” (Early Action on Diabetes) रहेको छ। यसले समयमै रोग पहिचान, समग्र स्वास्थ्य सेवामा पहुँच र मधुमेहप्रतिको कलङ्क न्यूनीकरणको महत्त्वलाई उजागर गर्दछ।

मधुमेहको उपचार
मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।
मधुमेह बारे केही तथ्यहरू
· मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।
· डायबिटिज एटलसका अनुसार, विश्वभर ५८ करोड ९० लाख वयस्क (२०–७९ वर्ष उमेर समूह) मधुमेहबाट प्रभावित छन्। यो सङ्ख्या सन् २०५० सम्ममा बढेर ८५ करोड ३० लाख पुग्ने अनुमान गरिएको छ। त्यसैगरी, सन् २०२४ मा मधुमेहका कारण ३४ लाख मानिसको मृत्यु भएको थियो, अर्थात् प्रत्येक ९ सेकेन्डमा १ जनाको मृत्यु भएको थियो।
· डायबिटिज एटलसका अनुसार नेपालमा सन् २०२४ मा १३ लाख जनसङ्ख्यामा मधुमेह भएको तथ्याङ्क छ। र यो सङ्ख्या बढ्दो छ।
डायबिटिज दुई प्रकारका हुन्छन् ।
टाइप वान डायबिटिज र टाइप टु डायबिटिज ।
हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।
अब कुरा गरौँ दोस्रो प्रकारको मधुमेहबारे। यो अहिले नेपालमा वा विश्वभरका मानिसहरूमा देखिने सबैभन्दा सामान्य प्रकारको मधुमेह हो। जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ। यसलाई चिकित्सकीय भाषामा टाइप २ मधुमेह भनिन्छ।
हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।
· यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् ।
· डायबिटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।
· त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशाणुगत रूपमा पनि मधुमेह सर्न सक्छ ।
· त्यसो त, समय–समयमा रगत जाँच गरेर समयमै उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति गाह्रो छैन। प्रिडायबिटिज भएको थाहा पाउनेबित्तिकै शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह हुने जोखिम कम गर्न सकिन्छ।
· अधिक तौल भएका व्यक्तिहरूले आफ्नो शरीरको तौलको ५ देखि ७ प्रतिशतसम्म तौल घटाएमा रगतमा ग्लुकोजको मात्रा सामान्य सीमाभित्र राख्न मद्दत पुग्छ र यसले प्रिडायबिटिज र टाइप २ मधुमेह हुने जोखिम कम गर्न पनि मद्दत गर्छ।
· यसको अर्थ हो, टाइप २ मधुमेहको जोखिम कम गर्न सबैभन्दा पहिले शरीरको तौल स्वस्थ र सन्तुलित राख्नुपर्छ। स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र सुर्तीजन्य पदार्थको सेवन नगर्नु मधुमेहको जोखिम कम गर्ने महत्त्वपूर्ण उपाय हुन्।
· मधुमेहको जोखिमबारे सचेत हुँदाहुँदै पनि बजारमा पाइने जङ्क फुडको अत्यधिक सेवन गर्ने, धूम्रपान गर्ने र मद्यपान गर्ने बानी त्यागिएन भने स्वस्थ जीवनशैली अपनाउन कठिन हुन्छ। अस्वस्थ खानपान, सुर्तीजन्य पदार्थको सेवन र हानिकारक मद्यपानले मुटुसम्बन्धी रोगलगायत अन्य नसर्ने रोगको जोखिम पनि बढाउन सक्छ।
त्यसैले मधुमेहको जोखिम कम गर्न वा मधुमेहलाई नियन्त्रणमा राख्न चाहनेहरूले अस्वस्थ बानी त्याग्दै स्वस्थ जीवनशैली अपनाउनुपर्छ।
· खानपानमा ध्यान दिनुहोस्: मधुमेहको जोखिम कम गर्न तथा मधुमेह भइसकेपछि रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्न सन्तुलित र पौष्टिक खानपान आवश्यक हुन्छ।
· ताजा र पौष्टिक खानेकुरा रोज्नुहोस्: अत्यधिक प्रशोधित खानेकुराको सट्टा सागसब्जी, फलफूल, गेडागुडी, साबुत अन्न तथा अन्य पौष्टिक खानेकुरालाई प्राथमिकता दिनुहोस्। घरमा पकाइएको खाना रोज्दा पनि त्यसमा नुन, चिनी र अस्वस्थ बोसोको मात्रा नियन्त्रण गर्नुपर्छ।
· धूम्रपान त्याग्नुहोस्: मधुमेह भएका व्यक्तिले धूम्रपान त्याग्नु महत्त्वपूर्ण हुन्छ। मद्यपान गर्ने व्यक्तिले पनि यसको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे चिकित्सकसँग परामर्श लिनुपर्छ।
कार्बोहाइड्रेटको मात्रा र स्रोतमा ध्यान दिनुहोस्: मधुमेह भएको अवस्थामा कार्बोहाइड्रेट पूर्ण रूपमा त्याग्नुपर्दैन। भात, आलु, रोटी तथा अन्य कार्बोहाइड्रेटयुक्त खानेकुराको मात्रा मिलाउनुका साथै साबुत अन्न, गेडागुडी र रेसायुक्त खानेकुरालाई प्राथमिकता दिनुपर्छ। खानाको मात्रा र प्रकार व्यक्तिको स्वास्थ्य अवस्था, औषधि तथा शारीरिक गतिविधिअनुसार फरक हुन सक्ने भएकाले चिकित्सक वा पोषणविद्को सल्लाह लिनु उपयुक्त हुन्छ।
भात र फलफूल खानै नहुने भन्ने होइन: मधुमेह भएका व्यक्तिले पनि आफ्नो खानपान योजनाअनुसार भात र ताजा फलफूल खान सक्छन्। तर, खानेकुराको मात्रा र सन्तुलनमा ध्यान दिनुपर्छ। चिनी थपिएका पेय पदार्थ तथा जुसको सेवन सीमित गर्नु राम्रो हुन्छ। रातो मासु तथा प्रशोधित मासुको सेवन पनि सीमित गर्नुपर्छ।
समयमै परीक्षण र उपचार गराउनुहोस्: मधुमेह समयमै पत्ता लगाएर उचित उपचार तथा नियन्त्रण गर्न सके यसबाट हुने गम्भीर जटिलताको जोखिम कम गर्न सकिन्छ। मधुमेहले मुटु, मिर्गौला, आँखा, रक्तनली र स्नायुमा असर पुर्याउन सक्छ।
त्यसैले आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस् र नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुहोस्। मधुमेहको समयमै पहिचान, चिकित्सकीय सल्लाह, उचित उपचार र नियमित अनुगमनले रोगलाई नियन्त्रणमा राख्न तथा यसबाट हुने जटिलता कम गर्न मद्दत गर्छ।
विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरू सबैमा सुस्वास्थ्यको हार्दिक कामना!
(यो सामग्री विश्व स्वास्थ्य सङ्गठन (World Health Organization-WHO) को आधिकारिक वेबसाइट https://www.who.int/ तथा अन्तर्राष्ट्रिय मधुमेह महासङ्घ (International Diabetes Federation-IDF) को आधिकारिक वेबसाइट https://idf.org/ मा उपलब्ध जानकारीका आधारमा तयार पारिएको हो।)
सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस


सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइन्छ। सन् २०१९ मा युनेस्कोको ४०औँ महासभाले यस दिवस मनाउने घोषणा गरेको हो।
यस दिवसको मुख्य उद्देश्य सांस्कृतिक सम्पदाको चोरी, लुटपाट, अवैध आयात-निर्यात तथा व्यापार नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, चोरी भएका सम्पत्तिको उत्पत्तिस्थलमा फिर्ती तथा पुनर्स्थापना सुनिश्चित गर्नु र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्नु हो। यसले सांस्कृतिक पहिचान, इतिहास र सामूहिक स्मृतिको संरक्षणमा समेत जोड दिन्छ।
यस दिवसले सन् १९७० मा पारित Convention on the Means of Prohibiting and Preventing the Illicit Import, Export and Transfer of Ownership of Cultural Property (1970 Convention) अर्थात् सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरण निषेध र रोकथामसम्बन्धी महासन्धिमार्फत अन्तर्राष्ट्रिय सहकार्य र सक्रिय पहलको महत्त्वलाई पनि उजागर गर्दछ। यस महासन्धिले सांस्कृतिक सम्पत्तिको चोरी तथा लुटपाट रोकथाम गर्न र चोरी भएका सांस्कृतिक सम्पत्तिको फिर्ती तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय ढाँचा प्रदान गर्दछ।
नेपालको परिवेशमा
नेपालको सन्दर्भमा यो दिवस विशेष महत्त्वपूर्ण छ। नेपालका मठमन्दिर, गुम्बा, पुरातात्त्विक स्थल तथा ऐतिहासिक मूर्तिहरू चोरी र अवैध व्यापारको जोखिममा छन्। काठ, ढुङ्गा तथा धातुबाट निर्मित हाम्रा कलाकृतिहरू अवैध रूपमा अन्तर्राष्ट्रिय बजारमा पुर्याइने गरेका छन् जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासमा क्षति पुर्याउँछ। सन् २०१८ मा अमेरिकाको मेट्रोपोलिटन म्युजियममा रहेका उमामहेश्वर र बुद्धका मूर्तिहरू नेपाल फिर्ता ल्याइनु यसको महत्त्वपूर्ण उदाहरण हो।
(यो सामग्री युनेस्कोको आधिकारिक वेबसाइट https://www.unesco.org/ बाट सङ्कलित जानकारीका आधारमा तयार गरिएको हो।)
हाम्रो पात्रोबाट थप
मनको बोझ बिस्तारै बिसाउन सिक्नुहोस्। 🌿✨

के तपाईं समाधान गर्न सक्नुहुन्छ?

कमेन्ट गर्नुहोस् 👇

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने






