छठ पर्व

छठ पर्व
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन्। अनि अब सुरु भएको छ छठ पर्वको रौनक। हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईंहरू सबैलाई छठ पर्वको शुभकामना।
सूर्यको अनुष्ठान
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो। वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ। सूर्यको वरिपरि पृथ्वी घुम्ने र शक्ति तथा ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ। मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ।
सूर्यको प्रकाश र सूर्यको ऊर्जाको विषयमा अब वैज्ञानिक रूपमा पनि निकै धेरै कुराहरू प्रमाणित भइसकेका छन्। पृथ्वीको सम्पूर्ण ‘इकोसिस्टम’ को एउटा महत्त्वपूर्ण आधार हो सूर्य। त्यसैले पनि सूर्य मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धलाई धार्मिक रूपमा मात्र होइन, वैज्ञानिक रूपमा पनि परिभाषित गरिएको छ र प्रमाणित भएको छ।

छठ पर्वको नाम
दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ। षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अपभ्रंश हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ। तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ।
सद्भाव र भ्रातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बडो हर्ष र उल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा र झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर मनाइने गरिन्छ।
छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ। केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ। यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्यस्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसादस्वरूप घर लैजाने चलन छ।
छठ विशुद्ध रूपमा एउटा धार्मिक आस्थाको पर्व हो। यो पर्वमा जनावर काटमार गर्ने वा बलि दिने चलन छैन।
छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ।
छठ पर्वका चार दिन
यसको पहिलो दिनलाई अरबा अथवा नहाय खाय भनिन्छ। त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई साँझिया अर्घ्य अर्थात् छठ भनिन्छ। कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो। यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई बिहानिया अर्घ्य पारण भनिन्छ।
यो पर्वका यी चार दिन विभिन्न कामहरू गरिन्छ। अरबाको दिन गाउँका युवाहरू मिलेर छठ मनाइने नदी, ताल वा पोखरीको किनारलाई सजाउने र सडकहरू सफा गर्ने गर्छन्। यसको तेस्रो दिन अर्थात् साँझिया घाटको दिन साँझमा व्रतालुहरू त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन्। अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ।छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ। यस्तो गर्दा मैथिली भाषाका पारम्परिक गीतसङ्गीतलाई बढी स्थान दिइन्छ।
छठ मन्त्र:
एष ब्रह्मा च विष्णुश्च शिवः स्कन्दः प्रजापतिः। महेन्द्रो धनदः कालो यमः सोमो ह्यपाम्पतिः।।
एनमापत्सु कृच्छ्रेषु कान्तारेषु भयेषु च। कीर्तयन् पुरुषः कश्चिन्नावसीदति राघव।।
आदित्यं सर्वकर्तारं कलाद्वादशम्युतम्। पद्महस्तद्वयं वन्दे सर्वलोकैकभास्करम्।।
छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन्। गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन्। यो ठाउँलाई शुद्ध बनाउनका लागि गङ्गाजल र अरुवा चामलको पानी छर्किने पनि गरिन्छ। व्रतालुहरूले केराको पातमा खाना राखेर एक छाक खाने गर्छन्। उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ। छठको विशेष परिकारमा ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन्।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरू आवश्यक पर्छन्। ती खाद्यान्नहरूलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर विधिपूर्वक सजाइएका खोला, नदी र तलाउसम्म लैजाने गरिन्छ।
नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ। जो छठको व्रत बस्छन्, उनीहरूले एक महिनाअघिदेखि नै माछामासु खाँदैनन्। उनीहरूले लसुनप्याजसमेत खान नहुने विश्वास छ।
छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ। महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ। त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ।
प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई फेरि पनि शुभकामना। हामी सम्पूर्ण मानवहरू सूर्यको जाज्वल्यमान उपस्थिति र सूर्यदेवको हामीप्रतिको कृपाका लागि सधैँसधैँ अनुग्रहित छौँ। छठी माताका विभिन्न भजनकीर्तन बजाएर, जलाशयवरपर गाडिएका केराका थम्बा अनि उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले सदियौँदेखि पुनः परिभाषित गरिरहेको आभास हुन्छ।
यस वर्ष पनि अन्य वर्षहरूमा झैँ पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण बक्सिऊन्। यही पानी र सूर्यको प्रकाशका कारण बन्ने पानीको बाफ र बादलहरूले धर्तीलाई भिजाइरहून्, यो धर्तीलाई उर्वर बनाइरहून् र हरियाली छाइरहोस्।
जलचर, थलचर सबैको कल्याण होस्, प्राणीमा प्राण होस् अनि धर्मको जय होस्। छठी माताले हामी सबैको जय गरून्!
हाम्रो पात्रोबाट थप
मनको बोझ बिस्तारै बिसाउन सिक्नुहोस्। 🌿✨

के तपाईं समाधान गर्न सक्नुहुन्छ?

कमेन्ट गर्नुहोस् 👇

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने






