जबराको बहिर्गमन : मूकदर्शक बनेका शीर्ष नेतामाथि दबाब बढ्दै
nayapatrikadaily.com · Mon Nov 08 01:04:00 GMT 2021
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनका लागि ठोस पहल थाल्न प्रमुख दलका शीर्ष नेतामाथि दबाब बढ्दै गएको छ । झन्डै एक महिनादेखि सिंगो न्यायक्षेत्र आन्दोलनमा उत्रिए पनि दलका नेतृत्व मूकदर्शक बनेका छन् । यद्यपि दोस्रो–तेस्रो पुस्ताका नेताहरूले भने जबराको राजीनामाका लागि बोल्न नेतृत्वमाथि दबाब बढाएका छन् । विवादित फैसला दिने मात्र होइन संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा हिस्सा मागेर न्यायपालिकालाई नै बदनाम बनाएको दाग प्रधानन्यायाधीश जबरामाथि छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरूले यस विषयमा चाँडै ठोस धारणा बनाउने भन्दै आए पनि गठबन्धनभित्र यी विषयमा गम्भीर छलफल नै भएको छैन । एमालेले भने जबराले मात्रै होइन संसद् पुनस्र्थापनाको फैसला गर्ने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएर विषयलाई थप गिजोलिरहेको छ ।
जनताको प्रतिनिधिमूलक संस्था संसद् बन्द रहेकाले न्यायालयको विवादमाथि जनप्रतिनिधिले पनि बहस गर्न पाएका छैनन् । राजीनामा नगरे प्रधानन्यायाधीश जबरामाथि सार्वभौम संसद्लाई महाभियोग लगाउन सक्ने अधिकार छ । तत्काल कायम रहेको सदस्य संख्याको एकचौथाइ सांसदले महाभियोग प्रस्ताव दर्ता गराउन सक्छन्, जसले जबरालाई तत्काल निलम्बित गराउँछ । एक महिनादेखि जारी विवादमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको शीर्ष नेतृत्व अझै ‘पर्ख र हेर’ हेरको रणनीतिमा छन् । राजनीति शीर्ष नेतृत्व सकेसम्म यो मुद्दामा पन्छिने र न्यायक्षेत्रबाटै यसको छिनोफानो होस् भन्नेमा छ । तर, युवा नेताहरू भने जबराको राजीनामा आउनुपर्ने पक्षमा स्पष्ट छन् । न्यायालयबाटै निकास (जबराको राजीनामा) नआए महाभियोगको विकल्पमा जान उनीहरूको सुझाब छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)