राष्ट्रपतिबाट कैद माफी पाएका विक हत्या आरोपमा पक्राउ
ekantipur.com · Wed Oct 18 17:01:58 GMT 2023
रुकुम पश्चिम — गत संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो ।
घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो । हत्यामा संलग्न रहेको पाइएपछि मंगलबार साझ खलंगास्थित आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । उनले हत्या स्वीकार गरिसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए । प्रहरीका अनुसार दुवै जना बीच प्रेम सम्बन्ध (अनैतिक) रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेर हत्याको अवस्थामा पुगेको बयान दिएका छन् । ‘महिलाले विहे गरौं भन्दा विवाद बढेपछि आवेशमा आएर आफैसँगै रहेको छुरीले हत्या गरेको स्वीकारेको छ,’ डीएसपी भट्टराईले भने, ‘होटलको कोठामा सिरकले छोपेर राखेको अवस्थामा शव फेला परेको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)