लाल किल्लाको उज्यालोमा कप्तानगञ्जको छायाँ
nepalviews.com · Sat Aug 15 04:48:00 GMT 2026

१५ अगस्तका दिन जब दिल्लीको लाल किल्लामाथि तिरंगा फहराउँछ, त्यसको ऐतिहासिक आलोकले दक्षिण एसियाकै चेतनालाई स्पर्श गर्दछ । भारतको स्वाधीनता संग्राम केवल एउटा निश्चित भूगोलको कथा थिएन; यो औपनिवेशिक दासताविरुद्ध दुवै देशका जनताको साझा सास-फेराइ र स्वतन्त्रताको संवेग थियो । सन् १८५७ को प्रथम भारतीय स्वाधीनता संग्राममा तत्कालीन नेपाली राज्यसत्ताले ब्रिटिस साम्राज्यलाई सघाए पनि नेपाली जनताको अन्तरात्मा सधैँ न्याय र मुक्तिकै पक्षमा ढल्कियो ।
त्यही जनचेतनाले करिब ९० वर्षपछि इतिहासको नयाँ क्षितिज उघार्यो । सूर्यप्रसाद उपाध्याय लखनउ जेलमा जवाहरलाल नेहरूसँगै बन्दी बने भने बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गजेन्द्रनारायण सिंह र मनमोहन अधिकारीजस्ता योद्धाले भारतीय जेल र सडकमा स्वतन्त्रताको बिगुल फुके । हनुमाननगरको जेल तोडेर डा. राममनोहर लोहियालाई रिहा गराउने सप्तरीका सर्वसाधारण हुन् वा दार्जिलिङ र आसामबाट मुक्ति संग्राममा होमिएका नेपाली, इतिहास साक्षी छ, स्वतन्त्रता सीमाभित्र थुनिने वस्तु होइन, यो चेतनाको संक्रमण हो । सन् १९४७ मा भारत स्वतन्त्र हुनासाथ पोखिएको त्यही प्रजातान्त्रिक ऊर्जाले नेपालमा १०४ वर्षे निरंकुश राणा शासनको जग हिलाइदिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)