
बर्खामा डेङ्गी फैलिने चिन्ता, चिकित्सकले सुझाएका सावधानीका उपाय यस्ता छन्
मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकायले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिरहँदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले डेङ्गीको सङक्रमणमा वृद्धि देखिन सक्ने अनुमान गरेका छन्।
अघिल्लो वर्षको तुलनामा सङक्रमण घटेको पाइए पनि वर्षाको समयमा सावधानी नअपनाइए महामारीको जोखिम हुने अधिकारीहरू बताउँछन्।
सन् २०२५ को ज्यानुअरी १ देखि जुन ८ सम्मको अवधिमा १,२५५ जनामा उक्त सङक्रमण देखा परेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमिओलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
डेङ्गी लागिहाल्यो भने के गर्ने? प्लेटलेट्स बढाउन के खाने
डेङ्गी हुँदा मेवाको पात खानु वा अन्य घरेलु उपचार गर्नु कति ठिक
अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या २,५०० को आसपास थियो।
यद्यपि ज्यानुअरीयता डेङ्गीकै कारण सङ्क्रमितको मृत्यु भएको नपाइएको अधिकारीहरू बताउँछन्।
"पोहोर सालभन्दा सङ्क्रमणको सङ्ख्या आधाको अवस्थामा देखिए पनि वर्षा अधिक हुने अनुमान गरिएकाले महामारी फैलिन सक्ने सम्भावनाका आधारमा हामीले सतर्क हुन अपील गरिराखेका छौँ," महाशाखाका निर्देशक डाक्टर चन्द्रभाल झाले भने।
७२ जिल्लामा फैलियो सङ्क्रमण
अधिकारीहरूका अनुसार यो वर्ष नेपालका विभिन्न ७२ जिल्लामा डेङ्गीको सङ्क्रमण देखा परिसकेको छ।
सबैभन्दा धेरै प्रभाव बागमती प्रदेशमा देखिएको छ। महाशाखाको विवरणअनुसार बागमतीपछि क्रमश: कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेशमा धेरै मानिसहरूमा डेङ्गी सङ्क्रमण देखा परेको छ।
काठमाण्डू जिल्लामा सबैभन्दा धेरै १३२ जनामा यो सङ्क्रमण देखिएको छ। कास्कीमा ९० र सुनसरीमा ८७ जना सङ्क्रमित भएका छन्।
मनाङ, महोत्तरी, रसुवा, डोल्पा र हुम्ला गरी पाँच जिल्लामा भने ज्यानुअरीयता उक्त सङ्क्रमण देखा परेको छैन।
डेङ्गीका कतिपय बिरामीमा कुनै पनि लक्षण नदेखिने हुँदा वास्तविक सङ्क्रमणको तुलनामा तथ्याङ्क कम देखिन सक्ने कतिपय विज्ञहरू बताउँछन्।
डेङ्गी रोग फैलाउन सघाउँछन् थोत्रा टायरले
के हो डेङ्गी
यो लामखुट्टेबाट सर्ने भाइरसजन्य सङ्क्रमण हो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार सङ्क्रमित लामखुट्टेबाट यो रोग मानिसमा सर्छ।
विश्वको लगभग आधा जनसङ्ख्या डेङ्गीको जोखिममा रहेको र हरेक वर्ष १० करोडदेखि ४० करोड मानिसमा उक्त सङ्क्रमण देखिने गरेको डब्ल्यूएचओ आँकडा छ।
नेपालमा सन् २००४ मा पहिलो पटक यो सङ्क्रमण देखा परेको अधिकारीहरू बताउँछन्।
डेङ्गी रोग फैलाउने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम रहने निर्देशक झाले बताए।
डेङ्गी निको भएपछि पनि प्रायलाई किन सञ्चो महसुस भइरहेको छैन?
डेङ्गी भएका बिरामीलाई लामखुट्टेले बढी टोक्न सक्छ, खोप छ कि छैन
कति घातक
सामान्यत: जोखिमपूर्ण नभए पनि कतिपय जटिल लक्षणहरू देखिए भने यसले मानिसको जीवनमा खतरा उत्पन्न गराउन सक्ने विज्ञहरू बताउँछन्।
"खास गरी लामखुट्टेका माध्यमले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भए पनि भाइरसजन्य रोग भएकाले अन्य भाइरसजन्य रोगमा देखिने प्रकृतिकै लक्षणहरू देखा पर्छन्," महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले भने, "सामान्यतया अस्पताल नै भर्ना हुनुपर्नेजस्ता लक्षणहरू देखा पर्दैनन्। सामान्य डेङ्गीमा ज्वरो तथा बान्ता आउने जस्ता लक्षण देखिन्छन् तर गम्भीर सङ्क्रमण भएका कतिपयमा अत्यधिक ज्वरो तथा बान्ता आउने, पेट दुख्ने, आन्तरिक तथा बाह्य रक्तश्रावका लक्षणहरू देखा पर्छन्।"
डेङ्गी हुँदा उपचार गर्ने छुट्टै विधि छैन। दुखाइसहितका लक्षणका आधारमा बिरामीको उपचार गरिन्छ। बिरामीलाई ज्वरो आउँदा 'सिटामोल 'र झाडापखाला लाग्दा 'जीवनजल' दिने र शरीरमा पानीको मात्रा कम हुन नदिने जस्ता उपाय अवलम्बन गरिन्छ।
"तर गम्भीर अवस्थाका लक्षण देखिएमा दुखाइ वा ज्वरो कम गर्ने नाममा आफुखुसी औषधि सेवन गर्नुहुँदैन। त्यसले झन् जटिलता निम्त्याउन सक्छ। त्यस्तो अवस्थामा तत्काल नजिकैको स्वास्थ्य संस्थामा जानुपर्छ।"
डेङ्गी परीक्षण गर्न कहाँ जाने?
हामीलाई कुन-कुन भाइरसले चुनौती दिइरहेका छन्
सङक्रमण भएको अवस्थामा गरिष्ठ खानेकुराभन्दा नरम, रेसादार, झोलिलो पदार्थ वा शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सघाउने खालका भोजन आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
डेङ्गीलाई जनस्वास्थ्य चुनौतीका रूपमा लिँदै नेपाल सरकारले रोकथाम र नियन्त्रणको रणनीति अपनाएको दाहालले बताए।
सावधानीका उपाय
लामखुट्टेको अण्डा नष्ट पार्नुसँगै लामखुट्टेको टोकाइबाट जोगिनु डेङ्गी सङ्क्रमण नियन्त्रणको प्राथमिक उपाय भएको जनस्वास्थ्य अधिकारीहरू बताउँछन्।
डेङ्गीबाट जोगिनका निम्ति इपिडीमिओलजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएका उपाय यस्ता छन्।
पानी जम्मा गरी राखिएका ट्याङ्की, ड्रम, गाग्री तथा बाल्टिन आदिलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने
आफ्नो घरवरपर, कार्यस्थल र सार्वजनिक स्थानहरूमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीहरूलाई पानी नजम्ने गरी व्यवस्थापन गर्ने
छाना तथा अन्य स्थानमा फालिएका सवारी साधनका टायरहरूलाई पानी जम्न नपाउने गरी छोपेर राख्ने तथा आकासे पानीको पहुँचबाट टाढा राख्ने
घरबाहिर वा भित्र राखिएका फूलका गमला तथा गमला वा गमलामुनिका प्लेटहरूमा जमेको पानी कम्तीमा हप्ताको एक पटक फालेर गमला तथा प्लेटलाई राम्रोसँग सफा गर्ने
बिहान, दिउँसो वा राति जुनसुकै बेला सुत्दा पनि झुलको प्रयोग गर्ने
घरभित्र लामखुट्टे छिर्न नदिन सम्भव भएसम्म झ्याल तथा ढोकाहरूमा सानो प्वाल भएको जाली प्रयोग गर्ने
पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउने
शरीरको खुल्ला भागमा लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने
विकास निर्माणका काम भएका ठाउँ, राजमार्ग निर्माण, भवन, पुल लगायतका काम भएका ठाउँमा लामो समय जमेर रहेका पानीमा डेङ्गी सङ्क्रमण गराउने लामखुट्टे हुने भएकोले त्यस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।
आफ्नो घर र वरपर समुदायमा पानी जम्न नदिने र लामखुट्टेले अण्डा पार्ने ठाउँ नभएको सुनिश्चित गर्न सके डेङ्गी नियन्त्रणमा सहज हुने महाशाखाका निर्देशक झाले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: