फूलपाती


फूलपाती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सप्तमी 'फूलपाती'
दुर्गा बीज मंत्र
ॐ ह्रीं दुं दुर्गाय नमः
दुर्गा भवानीको कृपा सबैमा रहोस् ।
माता दुर्गाको सातौं अवतार कालरात्रिको आराधना गरिने सप्तमीको बिशेष महत्व छ ।
ॐ देवी कालरात्रि नमः
कस्ती हुनुहुन्छ त माता कालरात्रि ?
सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुईँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गर्नुभएको हुनुहुन्छ ।
फूलपाती मा के गरिन्छ ?
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
आजको यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
कालरात्रि स्तुति मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
अर्थात्
कालरात्रि देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।
गोरखा दरबारमा फूलपाती
नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पुर्याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।
लोकतन्त्र आगमनपछि यो ऐतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भए पनि मोटरसाइकलमा काठमाडौँसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तब मात्र फूलपाती भित्राउने चलन छ ।
फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सती पिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।
उक्त फूलपातीलाई विशेष मौलिक सिँगार पटार गरेर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।
यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौँ ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।
फूलपाती को लिङ्गे पिङ
अर्कोतर्फ गाउँ–घरमा आजबाट औपचारिक रूपमा लिङ्गे पिङ हालिन्छ । खरको डोरी र टुप्पो नकाटिएको हरियो चार वटा बासलाई गाडेर बनाइने यो पिङ दसैँको अर्को रौनक हो । जुन सदियौँदेखि दसैँमा मनोरञ्जन गरिने एउटा मौलिक साधनको रूपमा प्रचलित छ ।
मान्छे चढेर मच्चिएपछि बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ । दसैँको यस विशेष अवधिमा एक पटक भए पनि भुईँ छाड्नु भन्ने चलन छ । पिङ चढेका बखत भुईँ छोडिन्छ । पिङमा मच्चिउन्जेल प्रकृतिको खुल्ला काखमा पन्छी झैँ स्वतन्त्र भई यो शरीरले श्वास भर्छ अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।
गाउँ–घरमा माहौल पक्कै पनि रोमाञ्चक छ । मुगलान पसेका साथीभाइ आफन्तजन, प्रियजन आफ्ना गाउँ ठाउँमा कत्तिको फर्केका छन् ? सहर बस्नेहरू पनि गाँउठाउँ फर्केका छन् कि छैनन् ? कत्तिका आमाबुवा, दिदी बहिनी, दाजु–भाइका मन हर्षले गद्गद् होलान् त कति प्रतीक्षाका आँखा ओछ्याइ पर्खिबसेका होलान् ।
छोराछोरी, बुहारी अनि नातिनी लगायत तीन चार पुस्ता नै घरमा भेला हुन्छन् । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडे घरको रौनक वास्तवमै अतुलनीय छ । आजैबाट खसी बोका काट्ने तथा बलि कार्य प्रारम्भ भइसक्यो ।
यो रमाइलो माहौलको शुभकामना ! जय होस् !!
-हाम्रो पात्रोका लागि सुयोग ढकाल ।









:max_bytes(150)/https://lh3.googleusercontent.com/-4lr34J5ZVfY/AAAAAAAAAAI/AAAAAAAAAAA/AMZuucl_BcX4i2hUN9bBxjIzsHEvdExpTQ/s96-c/photo.jpg)