अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (विशेष क्षमता भएका कर्मचारीलाई मात्र)
मंसिर शुक्ल त्रयोदशी
मंसिर शुक्ल त्रयोदशी

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
विशेष अडियो सामग्री
अपाङ्गता दिवसको पृष्ठभूमि
सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरू गुन्जिरहुन् भन्ने कामना पनि छ ।अपाङ्गता भएका व्यक्तिहरूले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यम मार्फत अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरूले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिबद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन् भन्ने याद दिलाउने दिन पनि हो ।अपाङ्गता भएको जनसङ्ख्यालाई साथै लिएर हिँड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन ।
यस वर्ष अर्थात् २०२५को अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा “Fostering Disability Inclusive Societies for Advancing Social Progress” भन्ने रहेको छ । यस वर्षको नाराले अपाङ्गता भएका व्यक्तिहरूलाई जीवनका हरेक क्षेत्रमा पूर्ण सहभागिता दिलाउने र समान अवसर सुनिश्चित गर्ने सन्देश दिन्छ। यो विषयले समावेशिता केवल अधिकार मात्र नभएर, सामाजिक प्रगतिको आधार पनि हो भन्ने बुझाउँछ

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउनको लागि सन् २०२३ को विश्वव्यापी दिवसले निम्न विषयगत विषयहरूलाई तीन फरक अन्तरक्रियात्मक संवादहरूमा समेटेको छ ।
रोजगारीमा अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन
असमानता घटाउन अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन
अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन

अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणका बिचमा राख्न सके सपाङ्ग झैँ अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनै पनि चुनौतीको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन, समाजमा रहेका कुनै न कुनै किसिमले अपाङ्गतामा रहनुभएका दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूमा आज हाम्रो पात्रोको हार्दिक नमन र सम्मानका शब्दहरू ।
अपाङ्गताका विषयमा भइरहेका पैरवीहरू
समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यकता हो ।नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले अपाङ्गताका लागि धेरै परियोजना कानुनतः पैरवीहरू गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताका लागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरूमा सहज अपाङ्गमैत्री शिक्षा जस्तै: ब्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत-जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरूमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरिक उत्पादन गर्न सके वहाँहरूको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।
आफ्नो जीवनयापनका लागि अर्काको भर पर्न नपरेमा मात्र आत्म स्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तर्राष्ट्रिय समुदाय र गैरसरकारी संस्थाहरूको पनि अपाङ्गता भएका साथीहरूको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाइन्छ, जुन अत्यन्त राम्रो विषय हो । सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान व्यवहार पाइयोस् अनि सहज स्वास्थ्योपचार व्यवस्थित होस् । अपाङ्गता सोचले सीमित नहोस् अनि यसमा सबै साथीहरूको साथ, सहयोग अनि प्रतिबद्धता रहोस् ।
डिसेम्बर ३ को विशेष क्षमतासहितको यो फरक ऊर्जायुक्त दिन विशेषको शुभकामना ।