मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
२०५ दिन अगाडि
मंसिर २०८२मंगलवारNov 25, 2025🌒

षडानन्द जयन्ती / अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस / विवाह पञ्चमी

मंसिर शुक्ल पञ्चमी

सूर्योदय:६ : ३२
सूर्यास्त:१७ : ०८

नोटस्

आगामी दिनहरू

विवाह पञ्चमी

विवाह पञ्चमी

विशेष अडियो सामग्री

0:00 / 0:00

सीताराम गुनगान करु,

धीरज धर्मक ज्ञान करु।

राम जनकपुर आबि रहला,

धार्मिक लीला सब केँ देखला।

हनुमान संग सेतु बनायल,

लंका पर विजय पताक उडायल।

सीताक आदर्श जग केँ देखायल,

रामराज्य सँ धर्म स्थापन भेल।"

मिथिलाके सियाराम जगतजननी एछ

सीतारामको गुनगान गर, धैर्यता र धर्मको ज्ञान लिउ, राम त जनकपुर आइरहन्छन्, धर्मको लीला सबले हेर्नेछन्, हनुमान संग सेतु बनाउन जाउ र लंकामा विजय पाउन हरसंभव गर । सीताको आदर्श बिश्वले देखेको छ, रामराज्य को स्थापना संगै धर्म पनि पूर्नस्थापित हुनेछ ।


मिथिलाके सियाराम जगतजननी एछ , अर्थात् मिथिलाकी छोरी सीता र उनका श्रीमान् राम जगतका जननी हुन् भन्ने उक्ति आज पनि मिथिलाका घरघरमा सुनिन्छ । रामायण कहिँ ज्यूँदो छ भनें मिथिलावासीको हृदयमा छ, विवाह पञ्चमीमा त्यो प्रष्ट देखिन्छ पनि ।

बरु भगवान् इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान् रामकी पत्नीलाई अपहरण गर्नेलाई रामले विनाश गर्नुहुनेछ, यो अकाट्य छ ।


आदर्श प्रेम कथाको दृष्टान्त

आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । राम सीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्साउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरूले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेष गरि जनकपुरमा आजको दिन ठुलै उत्सव लाग्छ; सागरहरू छेउमा आरती गरिन्छ, राम जानकी मन्दिर धूमधामले सजाइन्छ अनि साँझमा आरतीहरू मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरूको कीर्तिको गुणगान गाइन्छ ।

नेपालमा रामायण ज्यूँदो छ

मैले मेरा विभिन्न आलेख र अध्ययनमा नेपालमा रामायण ज्यूँदो छ भनी आएको छु, यसको ज्वलन्त उदाहरण नै विवाह पञ्चमी हो । विवाह पञ्चमी प्राचिनकाल

देखि नै मिथिलावासीहरूले मनाउँदै आएका छन् र आज पनि उत्तिकै रौनकका साथ मनाइँदै आएको छ ।जनकपुरमा हरेक सन्ध्या सागरहरू छेउमा आरती गरिन्छ, रामायणको स्मरण गरिन्छ अनि आरतीसँगै सीताका महिमाहरू स्मरण गरिन्छ, रामका कृतिहरूको यश गाइन्छ ।


त्रेता युगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई विवाह गर्नुभएको तिथि मानिन्छ । त्रेता युगको रामायणका प्रसङ्ग अन्तर्गत विवाह पञ्चमीको व्याख्या गर्न चाहयौं, मङ्सिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृति अनुसार भएको हो ।


सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा राम जानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यही भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।

सीताको जन्मस्थल

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सच्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुला ठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजा कोठाको सर सफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।

यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।


यही प्राचीन पौराणिक महाविवाहको सम्झना स्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राण प्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषतः साधु, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ । यो युगमा पनि राम सिताको विवाह उत्तिकै महत्त्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा व्यापक मेला लागेको छ र जनकपुर वासीहरू त्रेतायूगदेखिको आफूहरूले चलाई आएको चलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् ।

आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चात्को रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पुजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रूपमा चिनिन्छ ।


रामायण

२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्ड भएको ठुलो खण्डकाव्य रामायण यिनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछि गएर वाल्मीकि ऋषिले लिपिबद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्यान्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलित छ । रामायणका यिनै पङ्क्तिहरूलाई वाल्मीकि ऋषिले रामका पुत्रहरू लव र कुशलाई कण्ठस्थ गराएका थिए । रामायणका पङ्क्तिहरू सुनेपछि रामले आफ्ना छोराहरूलाई ठम्याएका पनि हुन् ।


इतिहास भन्दा अगाडिदेखिको यो पावन उत्सर्गको भक्ति मार्गमा विशेष महत्त्व छ, राम सीता अटुट छन् र रहन्छन् ।


सीताको अग्निपरीक्षापछि रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्त्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरू अनि मर्यादाका पाठहरू सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठुलो गुण लगाएको छ ।


सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् ।


यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।

षडानन्द जयन्ती

षडानन्द जयन्ती

विशेष अडियो सामग्री

0:00 / 0:00

नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी, साधु तथा शिक्षा प्रेमी षडानन्द अधिकारी अर्थात् बाला गुरु षडानन्दको जन्म आजको दिन भोजपुर जिल्लामा भएको थियो । भोजपुरको दिङ्ला गडी गाउँमा १९८२ सालमा बाला गुरु षडानन्दको जन्म भएको हो ।


पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको कान्छो पुत्रका रूपमा जन्मिनुभएका षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध हुनु भएको हो । उहाँ जन्मिँदा उहाँका बाबु लक्ष्मी नारायणको मृत्यु भइसकेको थियो ।

शिक्षाका लागि गर्नु भएका पहलहरू

उहाँले पूर्वी नेपालमा शिक्षाका लागि गर्नु भएका पहलहरू अतुलनीय रहेका छन् । तत्कालीन समयमा राणा शासनका कारण नेपालमा सर्वसाधारण जनताका छोराछोरी पढ्ने भन्ने थिएन । अत्यन्त सीमित व्यक्तिहरूले मात्र विद्यालयसम्म जान पाउँथे । त्यो समयमा भोजपुरमा संस्कृत पाठशाला निर्माण गरेर गुरु षडानन्दले पूर्वी नेपालमा शिक्षाको बिउ रोप्नु भएको थियो ।


अत्यन्त दुःखले शिक्षा आर्जन गर्नुभएका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योग साधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रूपमा आफूलाई स्थापित गराउनु भयो ।

उहाँको कठोर तपस्याले उहाँलाई दैवी शक्तिको उपहार पनि मिलेको विश्वास गरिन्छ । पछि उहाँलाई श्री १०८ को उपाधिले समेत सम्मान गरिएको थियो । उहाँको सम्मानमा भोजपुर जिल्लामा एउटा नगरपालिकाको नाम षडानन्द नगरपालिका राखिएको छ । उहाँको सम्मानस्वरुप २०५१ सालमा नै नेपालमा हुलाक टिकट सुरु गरिएको थियो ।


व्रतबन्ध गरे लगत्तै जनकपुरमा गएर बाला गुरु षडानन्दले संस्कृतको अध्ययन गर्नुभएको थियो । जनकपुरमा रहँदा संस्कृतका धुरन्धर विद्वानहरूसँग उहाँको सान्निध्य रहेको बताइन्छ ।


त्यहाँबाट फर्किएपछि १९३२ साल चैत शुक्ल राम नवमी सोमबारको दिन बाला गुरु षडानन्दले दिङ्लामा नर्मदेश्वर शिव मन्दिर निर्माण गर्नुभएको थियो । र, त्यहाँ नै विद्यालय स्थापना गरेर आफैँले अध्यापन कार्य सञ्चालन गर्नु भएको थियो ।

भोजपुरमा सती प्रथाको अन्त्य, छुवाछुतको विरोध गरेर गुरु षडानन्दले समाज सुधारमा पनि ठुलो योगदान गर्नु भएको छ ।


१९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेला पर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उहाँ काठमाडौँ, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किनु भएको थियो । १९७३ सालको ज्येष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै उहाँ ब्रह्म लीन हुनु भएको मानिन्छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

अन्तर्राष्ट्रिय महिला दिवस र महिला हिंसा अन्त्य दिवस को फरक ?

अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरू छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् ।

महिला हिंसा अन्त्य दिवस को पृष्ठभूमि

अब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो । यसको पछाडि पनि कारण छ । डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।


यस हिसाबले यस वर्ष चाहिँ महिला हिंसा अन्त्य दिवसको ४७ औँ श्रृखला हो यही दिनको सम्झनाका रूपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो ।७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो । विश्वमा कुनै न कुनै समयमा पुरुष प्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो । हाम्रो समाजमा पनि विभिन्न तौर र तरिकामा महिलामाथि हिंसा भइरहेका छन् । यसमा हाम्रो भूमिका पनि रहन सक्छ, यसको अन्त्य गर्न प्रण गरौँ ।हाम्रो पात्रोको तर्फबाट हामीले महिलामाथि हुने हिंसा अन्त्य गर्न भूमिका खेलौँ भन्ने सन्देशका साथ आजबाट सुरु हुने महिलामाथि हुने हिंसाको अन्त्यको कामना पनि ।

सन् २०२५ को UNiTE to End Digital Violence against Women and Girls ले अहिलेको समयमा महिलाहरूमाथी हुने डिजिटल हिंशाको विरुद्धमा आवाज उठाउछ । अहिलेको समयमा महिलाहरू भोग्ने डिजिटल हिंशाको उदाहरण पनि नेपाली समाजमा पर्याप्त भेट्न सकिन्छ। सरकारले डिजिटल हिंसा रोक्ने कडा कानुन बनाउनु पर्छ, प्रविधिक कम्पनीहरूले आफ्नो प्लेटफर्म सुरक्षित बनाउनुपर्छ, दातृ निकायहरूले नारीवादी संगठनलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउनुपर्छ। अनि तपाईंहामीले आवाज उठाएर पीडितहरूको साथ दिनु पर्छ।


यसै प्रयासले मात्र महिला माथि हुने डिजिटल हिंसा अन्त्य गर्न सकिन्छ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()