
रातो मच्छिन्द्रनाथ रथारोहण
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ललितपुरको सांस्कृतिक जीवनमा गहिरो रूपमा जडित र नेपालकै सबैभन्दा महत्वपूर्ण रथयात्रामध्ये एक हो रातो मच्छिन्द्रनाथको रथयात्रा। यो केवल धार्मिक उत्सव मात्र नभई इतिहास, आस्था, प्रकृति र समुदायबीचको सम्बन्धलाई जोड्ने जीवित परम्परा हो, जुन पुस्तौँदेखि निरन्तर चलिआएको छ।
रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुर सहरका विभिन्न टोलहरूमा घुमाइने एक दीर्घ धार्मिक यात्रा हो। यो रथलाई परम्परागत रूपमा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलसम्म तानिन्छ। प्रत्येक स्थानमा पुग्दा विशेष पूजा, स्वागत र संस्कारहरू सम्पन्न गरिन्छ।

मत्स्येन्द्रनाथ, जसलाई नेवा समुदायमा “बुंग द्यः” भनिन्छ, हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूका लागि अत्यन्त पूजनीय देवता हुन्। हिन्दुहरूले उहाँलाई भगवान शिवको अवतारका रूपमा मान्छन् भने बौद्धहरूले अवलोकितेश्वरको रूपमा पूजा गर्छन्। यसले नेपालमा रहेको धार्मिक सहिष्णुता र सहअस्तित्वको अद्वितीय उदाहरण प्रस्तुत गर्छ।
रथयात्राको प्रारम्भसँगै म्हेपी डाँडाको माटोबाट करुणामयको मूर्ति निर्माण गरिन्छ। विशेष धार्मिक विधिद्वारा उक्त मूर्तिमा आत्मा प्रतिस्थापन गरिन्छ र त्यसपछि महास्नान लगायतका संस्कारहरू सम्पन्न गरिन्छ। यी सम्पूर्ण प्रक्रिया समुदायको सक्रिय सहभागितामा गरिने भएकाले यसले सामूहिकता र आस्थाको गहिरो भावना झल्काउँछ।
मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमती लगिन्छ, जहाँ उहाँलाई केही समयसम्म विश्राम गराइन्छ। बुंगमतीलाई नै मत्स्येन्द्रनाथको जन्मस्थल मानिन्छ, जसले यस सम्पूर्ण यात्रालाई पूर्णता दिन्छ।
रातो मच्छिन्द्रनाथको रथयात्रा केवल एउटा उत्सव होइन, यो नेपालको सांस्कृतिक धरोहर हो, जहाँ इतिहास, आस्था, परम्परा र समुदाय एकै ठाउँमा मिसिन्छन्। वर्षा, समृद्धि र सहअस्तित्वको प्रतीकका रूपमा यो जात्राले नेपाली समाजलाई एकतामा बाँध्ने काम गर्दै आएको छ।


विश्व सम्पदा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सम्पदा के हो ?
कुनैपनि राष्ट्रको एतिहाषिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ।
नेपालका चर्चित सम्पदाहरू कुन कुन हुन् ?
नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र हुन् । हुन त नेपाल सम्पदाहरूको धनी देश हो । तर, युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका कारण यी १० सम्पदाहरू विश्वभरि नै चर्चित छन् ।
के तपाईंलाई लाग्छ कि नेपालका सांस्कृतिक सम्पदाहरूको संरक्षणमा पर्याप्त ध्यान दिइएको छ?
किन मनाइन्छ विश्व सम्पदा दिवस ?
विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउन, ति सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि यो दिवस मनाउन शुरु गरेको हो।
अहिले नेपालको सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि के कस्ता चुनौतीहरू छन् त ?
अहिले विकासको नाममा हाम्रो मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । हाम्रा देवताका मूर्ति अनि कलाहरु चोरी निकासी भएर विश्व बजारमा बेचिएका छन् । त्यसबाहेक, जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको सुधारका लागि पर्याप्त अनुदान न आउनु, या आएपनि कार्यान्वयन हुन नसक्नु जस्ता समस्याहरू अहिले हाम्रो सम्पदाको संरक्षणका मुख्य चुनौती हुन पुगेका छन् । सम्बन्धित निकायले यी चुनौतीहरूको यथाशीघ्र समाधान खोज्न जरूरी देखिएको छ ।
यस वर्षको विश्व सम्पदा दिवसको नारा के हो ?
"Emergency Response for Living Heritage in contexts of Conflicts and Disasters"
यसले युद्ध र प्राकृतिक विपद्का समयमा जीवन्त सम्पदा परम्परा, सीप र सांस्कृतिक अभ्यासहरूको संरक्षणमा जोड दिन्छ। यसले केवल भौतिक भवनहरू बचाउने कार्यभन्दा माथि उठेर इतिहासको मानवीय पक्षलाई प्राथमिकता दिन्छ, जसले गर्दा वातावरण संकटमा पर्दा पनि समुदायको पहिचान र ज्ञान सुरक्षित रहन सकोस्। यो "emergency response" पद्धतिले जीवन्त संस्कृतिलाई उत्थानशीलता र पुनरुत्थानको लागि एक महत्त्वपूर्ण औजारको रूपमा हेर्दछ।

दक्षिण एशियाली सभ्यता र संस्कृतिको गर्भमा लुकेको एउटा दिव्य र आलोकित सम्पदा हो, ज्योतिष र वास्तु विज्ञान । यी केवल प्राचीन विधा मात्र होइनन्, बरु मानव जीवन, प्रकृति र अनन्त ब्रह्माण्डबीचको सूक्ष्म सम्बन्धलाई व्याख्या गर्ने वैज्ञानिक सूत्रहरू हुन्। यही गौरवमय विरासतलाई संरक्षण, संवर्द्धन र आधुनिक युगको पदचापसँगै सशक्त बनाउने साझा संकल्पको प्रतिफल हो, दक्षिण एशियाली ज्योतिष महासंघ।
आज २३ औं दक्षिण एशियाली ज्योतिष महासंघ दिवस । आजको दिवसले दक्षिण एशियाको भूगोलभरि छरिएर रहेका ज्योतिषी, वास्तुविद् र तन्त्र विशेषज्ञहरूलाई एउटै बौद्धिक र भावनात्मक सूत्रमा आबद्ध गर्ने सेतुको काम गर्दछ।
महासंघको जग एउटा महान् सोचमा अडिएको छ, 'प्राचीन ज्ञानलाई केवल परम्परागत अभ्यासको घेरामा सीमित नराखी, यसलाई व्यवस्थित, मर्यादित र वैज्ञानिक दृष्टिकोणबाट परिभाषित गर्ने।' यही आदर्शलाई आत्मसात् गर्दै महासंघले विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी, प्राज्ञिक सम्मेलन र प्रशिक्षण कार्यक्रममार्फत ज्ञानको क्षितिजलाई फराकिलो बनाउँदै आएको छ। यस्ता गतिविधिले ज्ञानको आदान-प्रदान मात्र गरेका छैनन्, बरु नयाँ पुस्तामा हाम्रा मौलिक विद्याप्रति नवीन जिज्ञासा र भरोसा समेत जगाएका छन्।
स्थापना दिवसको यो पावन घडी विगतको ऐना हेर्दै भविष्यको सुनौलो चित्र कोर्ने अवसर हो। यो दिनले प्रत्येक सदस्यलाई आफ्नो व्यावसायिक दायित्व र सामाजिक उद्देश्यप्रति पुनः प्रतिबद्ध हुने उर्जा प्रदान गरोस्।
हाम्रो पात्रोको तर्फबाट शुभकामना ।





