मुख्य सामग्रीमा जानुहोस्

लक्ष्मी पूजा

लक्ष्मी पूजा

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥

कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको प्रसाद र आशीर्वाद प्राप्त हुन्छ।


आजको दिनको विशिष्टता

हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो नेपथ्यको रङ्गको पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झिर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरू आजको दिनको विशेषता हो ।


आजको दिन राति अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्यजसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ । यी द्वारहरूबाट वर्षैभरि खुसी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !

"भैलिनी आयौँ आँगन, गुन्यू चोलो माँगन

हे औँसीको बारो, गाईतिहारो भैलो...."

आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । रङ्गोली गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राति लक्ष्मी भगवान पृथ्वी लोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ । त्यसैकारणले आज घर अगाडिको तुलसी मठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ। यिनै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।

रङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनमा बत्तीका रूपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तीहरू झैँ हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलिनीका आशीषहरू हामीलाई जस्ताको त्यस्तै लागोस् अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमङ्गहरू हाम्रो आँगनमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।

कुकुर तिहार

कुकुर तिहार

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ। पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रित वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ।


मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ कुकुर। आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ।


ऋग्वेदमा कुकुर

ऋग्वेदमा स्पष्ट रूपमा ‘सरमा’ को बारेमा उल्लेख गरिएको छ। सरमा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ। वैदिक सनातन हिन्दु परम्पराअनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रूपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ।

महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुरविना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ। कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्गको प्रतिनिधिका रूपमा लिइन्छ। तन्त्रसाधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निद्रा भएको, बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ।


आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो है। आजको दिन कुकुरलाई विधिवत् रूपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ। मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध छ। आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ। आज घरपालुवा मात्र नभई सडकका कुकुरहरूलाई पनि माला पहिर्‍याई, अबिरको टीका लगाई खाना खान दिने गरिन्छ। यसरी फूलको माला लगाइदिनाले, माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ। यस अर्थमा आज कुकुरहरूप्रति समर्पित दिन हो।


आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ। यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकुर पूजा गर्ने चलन छ।

सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ। यसका संस्कारका आधारहरू, प्रकृति, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिइएको छ अनि प्रकृतिका हरेक सृजनाहरूमा ईश्वरत्वअनुरूप व्याख्या गरिएको छ।


मानव व्यवहार एउटा ऐनाजस्तै हो। हामीले जस्तो व्यवहार गर्छौँ, त्यस्तै प्रतिविम्बस्वरूप व्यवहार पाउँछौँ। यस पृथ्वीका हरेक जनावरहरूलाई हाम्रो माया र सदाचारको खाँचो छ र सायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यही ज्ञान दिन खोजेको हुनुपर्छ। विज्ञानले पनि पारिस्थितिकीतन्त्र (Eco-System) का रूपमा हरेक प्राणीहरूको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ।

माया दिऔँ, माया बाँडौँ अनि माया पाऔँ। सबैको मङ्गल होस्। जीव र मानव जीवनबीचको सुमधुर सम्बन्धको यो यात्रा जुगौँजुग चलिरहोस्। शुभकामना!

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

कालो बादलबाट खसेको

अन्धकारमा भित्र पसेको,

ईश्वर हो कि भिखारी ?

ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले ।

माग्दछ करुणा भाइहरूमा

आई पृथिविवारि,

माग्दछ भिक्षा ईश्वर मेरो


आँगनको एक भिखारी ?

समाजको छर्लङ्ग चित्रलाई बडो चित्ताकर्षक ढङ्गले पस्कने महाकविका कृति अनि अन्तर्राष्ट्रिय लेखकहरूसँगै अब्बल ढङ्गले पौँठेजोरी खेल्न सक्ने उनका कृतिहरूकै कारणले गर्दा होला, देवकोटालाई कतिले ‘जियोग्राफिक मिस्टेक’ भनेर समेत चित्रण गरेका छन्। स्वर्गभूमि नेपाल अनि नेपालको साहित्यरसका हिरा, कृतिका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन्।

आजको दिन नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन हो। आजकै दिन अर्थात् वि.सं. १९६६ को लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो। नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ। उहाँका अमर कृतिहरू: मुना-मदन, कुञ्जिनी, शाकुन्तलजस्ता कृतिहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन्।

"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन"

मुनामदनका यी श्लोकले उति बेला पनि नेपाली समाजमा समानता र विभेदविरोधी सामाजिक न्यायको बिगुलस्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छन्। उति बेलाको नेपाली समाजका लागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ। सायद यही कारणले गर्दा होला, उनको लेखनको चर्चा विभिन्न अन्तर्राष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन्।


तीन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात् लक्ष्मीपूजाकै दिन जन्म भएको हो।


निबन्धस्वरूपमा अझ प्रखर र भरिला अभिव्यक्तिहरू दिन सक्ने महाकविले सत्र वर्षको उमेरमै भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज, काठमाडौंमा कलामा स्नातकोत्तर अध्ययन गर्नुभएको हो। उहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतिहरू अनि भिखारी, गाइनेको गीत, पागल, पुतली लगायतका कविता सङ्ग्रहहरू नेपाली साहित्य अनुरागीका लागि सृजनाको कोशेढुङ्गा साबित भएका छन्। उहाँका कृतिमा वेदना र रसिकताको अद्भुत मिश्रणसहितको एउटा सम्मोहन पाइन्छ।


भारतीय महापण्डित डा. राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निरालाबराबर एक जना देवकोटा हुन् भनेका थिए।

देवकोटाका जीवनका विभिन्न घटनाक्रमहरू अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन्। विद्यालय जीवनमा आफूले लेखेका कविताहरू साथीहरूलाई सुनाउँदा उनीहरूले त्यो कविता देवकोटाले लेखेका हुन् भनेर पत्याउँदैनथे। सुरुवाती दिनहरूमा कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरूबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरू वर्ड्सवर्थ र सेलीका अङ्ग्रेजी सृजनाहरूलाई पनि पढ्न थाले। पढाइका हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेजबाट गर्नुभएको हो भने बीएबीएल चाहिँ पटना विश्वविद्यालयबाट गर्नुभएको हो। बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एक दिनभरि नै लगातार छाताका विषयमा भाषण गरिदिएका थिए। दिनभरि नै एउटा उदेकलाग्दो विषयमा भए पनि आकर्षक शब्दहरूको माला र बहुआयाम केलाउन सक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रूपमा नेपाली वाङ्मयको प्रगतिका लागि आएका हुन्।


वर्तमान त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन अनि बढोत्तरीका लागि पनि महाकविले आफू शिक्षामन्त्री हुँदा गरेका दूरगामी कदमहरू प्रशंसनीय छन्।


चिताग्नि तापी जल डाल्न फाली

संस्कार आफ्नो सब नै गुमाएँ

म शून्यमा शून्य सरी बिलाएँ

जन्मेँ म यो स्वर्ग विषे पलाएँ

आखीर भै खाक त्यसै बिलाएँ।


वि.सं. २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तीमा उनीप्रति श्रद्धासुमन। भाषा, साहित्य र हाम्रा मूर्धन्य साहित्यकार तथा स्रष्टाहरू उनीहरूका सिर्जनासँगै जिउँदै छन् र यो पृथ्वी रहुन्जेल बाँचिरहनेछन्। नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस्।

नरक चतुर्दशी

नरक चतुर्दशी

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

यस वर्षको यमपञ्चकका दिनमध्ये एउटा मानिने नरक चतुर्दशीमा सबैलाई स्वागत छ। मलाई यस चतुर्दशी असाध्यै दार्शनिक र तार्किक लाग्छ। आउनुहोस्, कुरा सुरु गरौँ ।


नर्क या नरक के हो त?

आखिर जन्म र मरणपछिका सनातन विश्वासमा सदैव आउने कुरा नै स्वर्ग र नर्क त हो। राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो कर्म गर्दा नर्क जाने जनमान्यता छ। यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र विश्वासमा पाइने तर्क हो। नर्क कसैको रोजाइमा पर्दैन, किनभने नर्कमा अनेक सास्ती र दुःखका भोगाइ रहने विश्वास गरिन्छ।


वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ। नरक चतुर्दशी मात्र यस्तो तिथि हो जसले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ। नर्कबिनाको स्वर्गले खासै मान्यता राख्दैन। नरक चतुर्दशीले यस कुरालाई सबैका लागि विचारयोग्य बनाएको छ।

नरके भनेको के हो?

यस चतुर्दशीले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ। यस दिन नरके नुहाउने चलन हुन्छ। तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नरके नुहाउने भनिन्छ। कार्तिकको यस मन्द जाडोमा नुहाएपछि तिलका झिँगटाहरू बालेर ताप्ने चलन छ। आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काई बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ। यसरी बत्ती बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।


स्नान गर्दा हरेक पल नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसात् गर्नुपर्दछ। भन्ने नै हो भने नर्क र स्वर्ग पृथ्वीमा नै छन्। नरक चतुर्दशीले सबैलाई कर्मको पथमा सत्यले डोर्‍याउन सकोस्।

शुभकामना।

सुखरात्री

सुखरात्री

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

सुख रात्रि

सुखरात्रि बुझ्नका लागि चार विशेष रात्रिहरू पहिले बुझ्नुपर्दछ। सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरूलाई महत्त्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ।

यी चार रात्रिहरू वर्षका फरक-फरक दिनमा पर्दछन्।


चार रात्रिहरू

पहिलो, भदौ महिनामा पर्ने भगवान् श्रीकृष्णको जन्मसँग सम्बन्धित जन्माष्टमीको रात हो, जसलाई मोहरात्रि पनि भनिन्छ। मोहरात्रिबाट वर्षका चार विशेष रात्रिहरूको सुरुवात हुन्छ।

दोस्रो, असोज महिनामा पर्दछ। नवरात्रिको अष्टमीको रातलाई कालरात्रि पनि भनिन्छ। यस रात्रि शक्ति र सामर्थ्यका लागि विशेष महत्त्वपूर्ण रहन्छ।


तेस्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग सम्बन्धित लक्ष्मीपूजाको रात अथवा सुखरात्रि हो।


चौथो, फागुन महिनामा पर्ने मोक्षसँग सम्बन्धित भगवान् शिवको रात अथवा शिवरात्रि हो।


आज चाहिँ सुखरात्रि। यस वर्षको सुखरात्रिको सबैलाई शुभकामना छ।

विश्व रेडियोग्राफी दिवस

विश्व रेडियोग्राफी दिवस

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

यो दिन किन मनाइन्छ?

हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ। विल्हेल्म रोन्टगेनले सन् १८९५ मा आजकै दिन एक्स-रेको आविष्कार गरेका हुन्। यसकै सम्झनास्वरूप विश्व रेडियोग्राफी दिवस मनाइन्छ। रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे भनेर बुझ्दछौँ र आधुनिक चिकित्सा प्रणालीमा यसको ठूलो महत्त्व छ।


हामी अस्पताल जाँदा हाम्रो एक्स-रे गर्ने रेडियोग्राफरदेखि हाम्रो एक्स-रेको रिपोर्ट बनाउने डाक्टर, एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजियोग्राफीजस्ता अत्याधुनिक उपकरणहरू सञ्चालन गर्ने प्राविधिकहरू यस प्रविधिका उदाहरणीय सारथि बनी सक्रिय छन्।


विश्वभरका रेडियोग्राफीसम्बन्धी पेसाकर्मीहरूले यो दिन र यस दिनको वरिपरिका दिनलाई रेडियोग्राफीलाई करियरका रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा यसको महत्त्वपूर्ण योगदानबारे जानकारी दिन र निदानसँग सम्बन्धित इमेजिङ तथा विकिरण थेरापीबारे जनचेतना बढाउने अवसरका रूपमा प्रयोग गर्न सक्छन्।

सान्दर्भिक ह्यासट्यागहरू

रेडियोग्राफरहरूका लागि आफ्नो प्रशंसा साझा गर्दा र सामाजिक सञ्जालमा विश्व रेडियोग्राफी दिवस २०२६ को बारेमा कुराकानीमा सहभागी हुँदा यी ह्यासट्यागहरू प्रयोग गर्न सकिनेछ।

#WorldRadiographyDay

#RadiologicTechnology

#MedicalImaging

#HealthcareHeroes

#XRayDiscovery

#PatientCare

#RadiographyMatters



(यो सामग्री सोसाइटी अफ रेडियोग्राफर्स (Society of Radiographers) को वेबसाइट https://www.sor.org/ बाट प्राप्त जानकारीका आधारमा तयार गरिएको हो।)


हाम्रो पात्रोबाट थप

समाचार

समाचार

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल

के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू