तिहार बिदा

तिहार बिदा
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
दीपज्योतिः परंब्रह्म दीपज्योतिर्जनार्दनः।
दीपो हरतु मे पापं दीपज्योतिर्नमोऽस्तुते॥
दियोको प्रकाश परब्रह्म हो। दियोको प्रकाशले भगवान् विष्णुको प्रतिनिधित्व गर्दछ। यो ज्योतिले हाम्रा पापहरू हटाओस्। दिव्य प्रकाशलाई नमस्कार।
यस वर्ष तिहारमा बालिएका हरेक दियोले दया जगाऊन्, रक्षा गरून्, माया पलाऊन्।
सबैको भलो होस्।
गाई पूजा


गाईगोरु पूजा
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
आजको दिनमा गाईको पूजा गर्ने चलन छ। ‘गाई र माई’ भन्ने उखान भारतवर्षमा खुब प्रचलित छ। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान पनि गरिन्छ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसलाई ऊर्जा र पवित्रता दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो खोलेर गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।
गौमाताको महत्त्व:
सनातन ग्रन्थहरूमा ब्रह्मा, विष्णु र शिव तीनै देवताहरूले आत्मसात् गरेको र उच्चारण गरेको यस श्लोकले गौमाताको महत्त्व प्रकट गरेको छ।
त्वं माता सर्वदेवानां त्वं च यज्ञस्य कारणम्। त्वं तीर्थं सर्वतीर्थानां नमस्तेऽस्तु सदानघे॥
हे पाप नाशकर्ता, सबै देवताहरूकी माता, हरेक यज्ञको कारण तथा सबै तीर्थहरूमध्ये सबैभन्दा पवित्र, तपाईंलाई म नमन गर्दछु।
मनुस्मृति, अध्याय ४, श्लोक १६२
एउटा गुरु, शिक्षक, माता, पिता, ब्राह्मण, गाई र योगीलाई मार्नु हुँदैन।
ब्राह्मणलाई कुनै जातविशेषका रूपमा नभई, ब्रह्माण्डको ज्ञान हासिल गर्ने चेष्टा भएको र ब्रह्मत्वको महत्त्व बुझ्न चाहने जोकोहीलाई ब्राह्मणका रूपमा लिन चाह्यौँ।
वेदले गौमाताका बारेमा के भन्छ?
वेदका अनुसार गाईलाई विश्वव्यापी प्रतीक मानिन्छ।
अथर्ववेदअनुसार गाईभित्र ३३ करोड देवताहरूको वास हुन्छ। भगवान् श्रीकृष्णले गाईको दिव्य रूपको वर्णन गर्दै ‘धेनूनामस्मि कामधुक्’ भनेका छन् ।
अथर्ववेद, काण्ड १, सूक्त १६, मन्त्र ४
यदि नो गां हंसि यद्यश्वं यदि पूरुषम्। तं त्वा सीसेन विध्यामो यथा नोऽसो अवीरहा॥
यदि कसैले हाम्रा गाई, घोडा वा मानिसलाई नष्ट गर्छ भने ऊ पापको भागीदार र सजायको भोगी हुन्छ।
यस्ता अनेक श्लोकहरूले गौ रक्षा र अहिंसाको पैरवी गरेका छन्। आज गाईतिहारको यो विशेष अङ्कमा गौमाताप्रतिको स्नेहका साथ यी श्लोकहरू समर्पण गर्न चाहेँ।
विश्व स्वतन्त्रता दिवस

पृष्ठभूमि
हरेक वर्ष नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाउने गरिन्छ। अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु. बुशले जर्मनीको बर्लिनमा रहेको पूर्वी र पश्चिमी बर्लिनलाई विभाजन गर्ने पर्खाल भत्किएको र मध्य तथा पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सन् २००१ मा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन्।
सन् २००१ मा विश्व स्वतन्त्रता दिवस घोषणा गर्ने क्रममा राष्ट्रपति बुशले भनेका थिए: “सन् १९८९ नोभेम्बर ९ मा बर्लिनको पर्खाल भत्किनु शीतयुद्धको एउटा निर्णायक मोड र अत्याचारमाथि स्वतन्त्रताको विजयको महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको छ। यो पर्खाल स्वतन्त्र मानिसहरू र तानाशाही शासनअन्तर्गत बाँचिरहेका मानिसहरूबीचको विभाजनको एउटा कठोर प्रतीक थियो। पूर्वी जर्मनी र अन्य दमनकारी शासनहरूमा स्वतन्त्रताका लागि सङ्घर्ष गर्नेहरूको भावना र दृढतालाई हामी सम्मान गर्छौं। बर्लिनको पर्खालको पतनपछि, धेरै मुलुकले निर्वाचन प्रक्रियामार्फत आफ्ना नागरिकहरूबाट सिर्जित राजनीतिक दबाबका कारण वा आन्तरिक तथा क्षेत्रीय द्वन्द्वहरूको समाधानमार्फत स्वतन्त्रता प्राप्त गरेका छन्।”
शीतयुद्धको अन्त्य
विश्वमा शीतयुद्धको अन्त्य गर्दै सोभियत युनियनलाई धराशायी पार्न ठूलो भूमिका निर्वाह गर्ने अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ।
अमेरिकीहरूले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाए पनि विश्वका अन्य राष्ट्रहरू, विशेषतः युरोपेली राष्ट्रहरू भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाउन उदासीन देखिन्छन्। शीतयुद्धकालदेखि नै संसारमा पुँजीवादी, कम्युनिस्ट र केही समाजवादी देशहरूमा वैचारिक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ।
नयाँ विश्वव्यापीकरण (न्यु ग्लोबलाइजेसन) अनि नयाँ राष्ट्रवाद (न्यु नेसनलिज्म) को विचारअनुसार सम्पूर्ण विश्वका बासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शनभित्र फराकिलो दायरामा राखिएको छ।
चाहे हामी कम्युनिस्ट विचारधाराका होऔँ, पुँजीवादी विचारधाराका होऔँ या अन्य कुनै विचारधाराका, स्वतन्त्रताको प्रत्याभूति अनि स्वतन्त्र जीवनयापनको महत्त्व मानव समुदायमा अति नै महत्त्वपूर्ण छ।
नेपालमा स्वतन्त्रता
नेपालमा पनि क्रमशः वि.सं. २००७, २०४६ अनि २०६३ गर्दै विभिन्न चरणमा स्वतन्त्रताका नयाँ-नयाँ आयामहरू थपिँदै गएका छन्। स्वतन्त्रताको परिधिभित्र सहज जीवनयापन गर्न पाउने अधिकार पनि पर्दछ। बाटोमा हुने अत्यधिक सवारी जामदेखि ग्यास अनि तेलको लाइन, मूल्यवृद्धि, भ्रष्टाचार अनि कानुनी राज्यको कमी नेपाली समाजका स्वतन्त्रतासम्बन्धी समस्याहरू हुन्। यी समस्याहरूलाई हामी कुनै न कुनै रूपमा हरेक दिन भोग्दै आएका छौँ। आशा छ, नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरूको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै अटाउनेछ।
स्वतन्त्रताको शुभकामना!
(विश्व स्वतन्त्रता दिवससम्बन्धी जानकारी George W. Bush Presidential Center को वेबसाइट www.bushcenter.org मा प्रकाशित सामग्रीका आधारमा तयार गरिएको हो।)
हाम्रो पात्रोबाट थप
विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल
के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।










