मुख्य सामग्रीमा जानुहोस्

नेपाल सम्वत ११४७ प्रारम्भ

नेपाल सम्वत ११४७ प्रारम्भ

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

आजको दिन नेपाल उपत्यकाभित्र र बाहिर जुनसुकै स्थानमा बसोबास गर्ने नेवार समुदायले नेपाल संवत्अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् “न्हूदँया भिंतुना” (नयाँ वर्षको शुभकामना आदानप्रदान) गरी जातीय एकता र पुर्ख्यौली मौलिक संस्कृतिका रूपमा विकास भएको म्हः पूजालाई आ–आफ्नो परम्परागत चलनअनुसार हर्षोल्लासपूर्ण रूपमा मनाउँछन्। विशेषतः नेवार समुदायले मान्ने यो नेपालको मौलिक संवत् पनि हो।

राष्ट्रिय विभूति शंखधर साख्वाः

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत् नै नेपाल संवत् हो। यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरि र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ।


नेपाल संवत् चन्द्रमासमा आधारित समयचक्र अथवा साल हो। विक्रम संवतको कात्तिक शुक्ल पक्षको प्रतिपदाका दिन नेपाल संवतको प्रथम दिन पर्दछ। भक्तपुरका राजा राघवदेवको पालादेखि चन्द्रशमशेरको पालासम्म सरकारी कार्यालयमा नेपाल संवत् प्रचलनमा रहेको इतिहास छ।


१२ वटा औँसीको एक वर्ष मापन गरिएको यस संवत्मा एउटा औँसीदेखि अर्को औँसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र ३५४ दिनको एक वर्ष पर्न जान्छ। नेपाल संवत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ।


आधिकारिक रूपमा चलनचल्तीमा यसको प्रयोग बढिरहेको यस संवत्लाई नेपाल सरकारले पनि आधिकारिक मान्यता दिएको छ। नेवारी समुदायमा भने यस संवत्को व्यापक प्रयोग र प्रचलन रहेको पाइन्छ।


सबैमा नेपाल संवत् ११४७ को कछला महिनामा स्वागत छ।

गोवर्धन पूजा

गोवर्धन पूजा

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

आज गोवर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।


श्रीमद्भागवत गीतामा उल्लेख प्रसङ्ग

भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन श्री कृष्णले आफ्नो औँलाले उठाएका त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तु गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको छ ।

गोरु पूजा

गाईगोरु पूजा

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

गोवर्धनका साथ आज गोरु र कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलाई जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।


प्राचीन नेपाली समाजलाई स्मरण गर्ने हो भने गोरुगाडालगायत जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने यातायातका प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधार थिए। यी नै गोरुहरू अनि बहरहरूका लागि आजको दिन पिठो, नुन, चोकर र पानी मिसाएर बनाइएको घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ।

देउसी

आजको दिनको अर्को रौनक हो, देउसी। हिजो भैलेहरूको भाका अनि आज देउसेहरूको भाका।

अनि तपाईंको के छ त योजना? जाने हैन त देउसी खेल्न?


देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्। सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ। केही देउसीका सर्वप्रिय भाकाहरूबाहेक धेरै अन्य पङ्क्तिहरू परिस्थितिपरक हुन सक्छन्। कहिलेकाहीँ देउसीको अपेक्षाअनुरूप दक्षिणा नपाउँदा चाहिँ,


यो घर हेर्दा सिंहदरबार जस्तो, आँगन हेर्दा टुँडिखेल जत्रो, दक्षिणा हेर्दा माग्नेलाई जस्तो,

आदिजस्ता पङ्क्तिहरू अनि,

केराको थम्बा, हामी यति जना भाइ जम्मा, झिलिमिली झिल्ला, तातो रोटी मिल्ला,

जस्ता पङ्क्तिहरू हामीमध्ये धेरैको बाल्यकालसँग जोडिएका होलान्।


देउसीमा दिइने आशीर्वादले साँच्चिकै विशेष मान्यता राख्छ।

यसपालि आउँदा जस्ताको छाना, अर्को साल आउँदा पक्काको छाना, त्यसपछि आउँदा चाँदीको छाना, त्यसपछि आउँदा सुनको छाना।

यो घरैका केटाकेटी, दूबो मौलाएझैँ मौलाइरहून्,


जस्ता आशीर्वादहरू साँच्चिकै समयसापेक्ष छन्। वास्तवमै हामी सबैलाई देउसेहरूले दिएको आशीर्वाद लागोस्, सद्भाव बढोस्।


आजको दिन रिसराग सबै भुलेर छरछिमेकका घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ। देउसीबाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने, बाँडेर लिने या वनभोज जाने पुरानो रीत नेपाली समाजमा पुस्तौँपुस्ताले दोहोर्‍याइरहेको छ।


आजको दिनको हार्दिक शुभकामना।

म्ह पूजा

म्ह पूजा

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

म्ह को शाब्दिक अर्थ

नेवारी समुदायमा आजको दिन म्ह पूजा भनेर धूमधामका साथ मनाउने चलन रहेको छ। नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता पाइन्छ। ‘म्ह’ को शाब्दिक अर्थ देह या शरीर भन्ने बुझिन्छ र यस अर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयुक्त याचना हो। आजको दिन आत्मतत्त्वलाई बोध गराउने अनि सजीवताको आभास गराउने दिन पनि हो।

नेवारी भाषामा ‘म्ह’ शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रूपमा व्यापक रूपमा बोलचालका वाक्यांशहरूमा भएको पाइन्छ। जस्तै, ‘छित म्ह फुला?’ अर्थात् ‘तपाईंलाई सन्चै छ?’

म्ह फु अर्थात् सन्चै छ

म्ह मफु अर्थात् सञ्चो छैन


‘म्ह’ अर्थात् देहवाचक अनि चेतना प्रदायक शब्द। चेतना नभएका अनि जड वस्तुहरूमा ‘म्ह’ को प्रयोग हुँदैन। यसै चेतना अनि स्व–तत्त्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्ह पूजा मनाउने चलन रहेको छ।

नेवार समुदायमा आफ्नै शरीरभित्रको चेतना प्रदायक यस आत्मतत्त्व अनि परमात्माको पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ। शरीरमा शान्ति नभईकन शान्ति नहुने विश्वासअनुरूप आजको दिन अष्टचिरञ्जीवीको प्रतीक र अष्टऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूपको पूजा गरिन्छ र सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैँले आफैँलाई खुवाइन्छ।

आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन, अर्थात् न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने चलन छ।

हली तिहार

हली तिहार

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

आजको दिन गाई, गोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरूको पूजा गर्ने चलन छ। कृषिप्रधान नेपाली गाउँघरमा हिउँदको सुरुवातसँगै वर्षायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालोलगायतका औजारहरू बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ। यस कारण पनि आजको दिनलाई हली तिहार भनिएको हो।

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

पृष्ठभूमि

हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासङ्गिकतालाई कसरी प्रभाव पार्दछ भनी बुझ्नको लागि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउन सुरु गरेको हो।


अहिलेको समाजका नागरिकलाई विज्ञानको उन्नति र प्रगतिको बारेमा सूचित राख्न पनि संयुक्त राष्ट्र सङ्घ समाजलाई विज्ञानसँगसँगै, या भनौँ, विज्ञानसँग सकेसम्म नजिक राखेर अघि बढ्न चाहन्छ। आजको दिवसले समुदायमा वैज्ञानिकहरूले हाम्रो समाजको हितका लागि गर्ने उल्लेखनीय योगदानहरूको पनि प्रचार गर्दछ। त्यसबाहेक, देशहरू बीच साझा विज्ञानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढाउनु, समाजको लाभका लागि विज्ञानको उपयोगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको नवीकरण गर्नु, विज्ञानले सामना गरेका चुनौतीहरूमा ध्यान आकर्षित गर्नुका साथै वैज्ञानिक प्रयासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन्।

सन् २००१ मा युनेस्को (UNESCO) द्वारा यस दिवसको सुरुआत भएपछि थुप्रै वैज्ञानिक परियोजना तथा कार्यक्रमहरू सफल भएका छन्, जसलाई विश्वका थुप्रै देशहरूले युनेस्कोकै पहलमा वित्तीय सहयोगसमेत गरेका छन्। युद्धग्रस्त क्षेत्रको चपेटामा परेका वैज्ञानिकहरूलाई विश्वका अन्य वैज्ञानिक सङ्गठनहरूसँग समन्वय गराउने कार्य पनि आजको दिवसको एउटा उद्देश्य हो।

सन् २०२६ को शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको मूल नारा हो - “विज्ञान कूटनीतिमार्फत साझा आधार”।


(यो सामग्री युनेस्कोको आधिकारिक वेबसाइट https://www.unesco.org/en मा उपलब्ध जानकारीअनुसार तयार पारिएको हो।)

हाम्रो पात्रोबाट थप

कमेन्ट गर्नुहोस् 👇

समाचार

समाचार

समाचार

समाचार

समाचार

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल