मुख्य सामग्रीमा जानुहोस्

भाइटीका

भाइटीका

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

बिहान सबेरैदेखि घरघरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुहुन्छ कि? झिलिमिली, उज्यालो, पशुपन्छीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्तीजस्ता विशेषता बोकेको तिहार आएको छ।


हिजोसम्म त बजारहरू नै फूल र मालाले पहेँलपुर थिए। किनमेल भयो त?

सप्तरङ्गी टीका, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजु, किसमिस, नरिवल, छोकडा, मिठाई, मरमसलालगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ।

भाइटीकाका विषयमा जनउक्ति

भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ। एक पटक एउटी चेलीले आफ्नो दाजुलाई टीका लगाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आइपुग्छ। यमदूतका अनुसार उनका दाजुको आयु पुगिसकेको हुन्छ र अब उनको मृत्यु निश्चित हुन्छ। ती चेलीले यमदूतलाई टीका–टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टीका–टालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टीका–टालो लगाई पूजा गर्छिन्। यसरी चेलीको श्रद्धा र सम्मानबाट खुसी भएका यमदूतले प्रसन्न भएर चेलीसँग वरदान माग्न भन्छन्। उनले आफ्ना दाजुलाई नलैजानुहोस् भनी वरदान मागेर दाजुलाई बचाउँछिन्। अर्थात्, चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्छ भन्ने जनविश्वास रहेको छ।


यमराजले पनि आफ्नी बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टीका लगाउँदा बहिनीले वरदानस्वरूप हरेक वर्ष दाजुलाई यसै गरी टीका लगाउन र पूजा गर्न पाऊँ भन्ने वरदान मागेकाले भाइटीकाको चलन चलिआएको किंवदन्ती रहेको छ।

दिदीबहिनीले पान, सुपारी, नरिवल या मिठाईलगायतका कुराहरू दिएर दसैँ पछि दाजुभाइलाई भाइटीकाको निम्तो दिने चलन छ। यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीबहिनीसँग टीका लगाउँछन्। टीका लगाउनुअघि दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न भुइँमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दुबोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ। त्यसपछि अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार पारिएको लाभा छर्कँदै कलशको पानीलाई दुबोले अभिषेक गर्दै पूजा गरिन्छ। यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठूलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, ढोकामा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ। कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य र दीर्घायुको कामना गर्ने चलन छ।


शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकाको रङ एकअर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गच्छेअनुसार फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसारको दक्षिणा या अन्य उपहार दिदीबहिनीको पाउमा राखेर ढोग्दछन्।


आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्। दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठमन्दिरमा अनि काठमाडौँको रानीपोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाइटीकामा सहभागी हुने चलन पनि छ।

कहाँकहाँ मनाइन्छ भाइटीका?

आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको भेटघाट हुँदै छ। आपसमा माया र सद्भाव साटासाट हुँदै छ। नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यो चाड आ–आफ्नै तरिकाले मनाउने चलन छ। भ्रातृत्व र आत्मीयताको यो दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ।


यस महान् पर्व तिहारको आज पाँचौँ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदै छ। दसैँलाई बिस्तारै बिदा गरेर तिहारको रमाइलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट बिदाइले साह्रै नरमाइलो पनि लाग्छ। बिदाहरू सकिएर अब विद्यालयहरू सुचारु हुन्छन्, कार्यालयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ। हिउँदका छोटा दिनहरू बढ्दै जाँदा न्यानो कपडा अनि तातो खानपानसमेत प्राथमिकतामा पर्न थाल्दछ।

महागुरु फाल्गुनन्द जयन्ती

महागुरु फाल्गुनन्द जयन्ती

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

भनिन्छ, युगपुरुषहरूको जन्मका लागि निकै लामो समय लाग्छ; एउटा लामो कालखण्डमा एक जना मात्र युगपुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आएको छ। यस्ता युगपुरुषहरूले आफ्नो ज्ञान, अनुभव र सीपका आधारमा युगौँयुगसम्म पनि समाजमा सकारात्मक प्रभाव पार्ने र समाजलाई उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ। यस्ता युगपुरुषहरूले आफूले मोक्ष मात्र प्राप्त गर्दैनन्, समाजका लागि उपयोगी होस् भनेर ज्ञानको भण्डार बाँड्ने पनि गर्छन्।


हाम्रो पात्रोले यस्ता युगपुरुषहरूबारे पनि विभिन्न सामग्री प्रकाशित गर्दै आएको छ। उनीहरूको जन्मजयन्तीका अवसरमा इतिहासका विभिन्न पक्षहरूलाई हामीले उजागर गर्दै आएका छौँ।

महापुरुष गुरु फाल्गुनन्द

आउनुहोस्, आज चर्चा गरौँ, त्यस्तै एक महापुरुष गुरु फाल्गुनन्दबारे। वि.सं. १९४२ सालमा नेपालको पूर्वी भागमा पर्ने इलाममा जन्मिएका गुरु फाल्गुनन्दमा अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ। पूर्वी नेपालका विभिन्न ठाउँमा किरातहरूको माङहिम मन्दिर स्थापना गर्न उनको विशेष तथा महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ।


पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृतिप्रेमी किरात समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको प्रसार गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ। त्यस्तै, किरात समुदायलाई रूढिवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ। त्यसैले पनि वर्षौँपछि पनि विशेष गरी किरात समुदायमा गुरु फाल्गुनन्दको चर्चा निकै चल्ने गरेको छ।

राष्ट्रिय विभूति घोषणा

नेपाल सरकारले वि.सं. २०६६ साल मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको सम्मानस्वरूप पाँचथर जिल्लामा एक गाउँपालिकाको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ। अनि झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ। त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ।


प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुनन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ।

नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किरात समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन्। फाल्गुनन्द जयन्तीको अवसरमा किरात समुदायका अगुवाहरूले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन्।

समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्द

समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो। उनलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ। उनले दिएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आज पनि मानव जीवनका विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ। यिनै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुनन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ।


नेपालमा पहिलो पटक लिम्बू सम्मेलन

गुरु फाल्गुनन्दका दिव्य वचन तथा ज्ञानलाई आत्मसात् गर्दै वि.सं. २०७० सालमा पहिलो पटक नेपालमा लिम्बू सम्मेलन पनि आयोजना गरिएको थियो। ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो। यो सम्मेलनले लिम्बूहरूलाई अन्तर्राष्ट्रिय स्तरमै संस्थागत तथा सङ्गठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ।


गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरू उदाहरणीय भएको पनि मानिन्छ।

तर, वि.सं. १९४२ सालमा जन्मिँदा फाल्गुनन्दका सुरुवाती दिन सहज थिएनन्। बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारनमा नरध्वज लिङ्देन नाम राखिएको थियो। तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उनका बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो। पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहको नाम परिवर्तन गरेर फाल्गुनन्द राखिएको हो।

आठ वर्षको उमेरमै हत्या र हिंसाको विरोधमा फाल्गुनन्दले आफ्ना धारणा राखेका थिए। उनले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्नो कुलदेवताको बिहान र बेलुका पूजा–आराधना गर्नुपर्ने, माछामासु र मदिरा सेवन गर्न नहुने धारणा राख्थ्यो।


सेनामा रहँदा पनि साँझबिहान पूजापाठमा लीन रहने भएकाले उनका साथीहरूले उनलाई ध्यानी, योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए। लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुनन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिएका थिए।


हत्याहिंसाका विरोधी, सत्यवचन र धर्मकर्ममा निष्ठावान्, समाज सुधारक महागुरु फाल्गुनन्दको आज परेको जन्मजयन्तीमा उनीप्रति श्रद्धासुमन!

किजा पूजा

किजा पूजा

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन्। तीन दिनसम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो। नेवा: भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाडपर्व हो।


कृषिप्रधान नेवा: समुदायमा तीन दिनको यो चाड स्वन्ति नखःमा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाबकिताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडि बढ्न आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वका रूपमा लिएको पाइन्छ।

यस दिनमा म्हः पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ। बिमिरोदेखि सबै प्रकारका फलफूलसमेत मण्डपमा राख्ने गरिन्छ। नेवा: समुदायमा भने पञ्चरङ्गी टीका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टीका लगाइन्छ, जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ। नेवार समुदायमा म्हः पूजाकै दिनमा जस्तै पूजा गरेपछि पञ्चतत्त्वको सगुन दिने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ।


हरेक मानिसभित्रको देउता अनि दिदीबहिनीबीचको आत्मीयताका लागि नेवा: समुदायमा तिहार प्रसिद्ध छ। काग, कुकुर, गाई, गोरु अनि देउसीभैलोका आशीर्वाद हामीलाई लागून्, वर्षभरि खुसीका प्रकाशहरू आँगनमा फैलिरहून् अनि माया, प्रेम र सद्भाव गहिरिँदै जाऊन्।

हाम्रो पात्रोबाट थप

कमेन्ट गर्नुहोस् 👇

समाचार

समाचार

समाचार

समाचार

समाचार

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल