मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

राशिफल

विक्रम संवत् २०८३

मेषAries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहेको छ। एकातिर शनिको साढेसाती को अशुभ प्रभाव रहनेछ भने अर्कोतिर बृहस्पति शुभ रहनाले आकस्मिक धनलाभ र यश, कीर्तिमा वृद्धि हुनेछ। धार्मिक कार्यहरूमा मन लाग्नेछ। परिवारको मध्य आपसी तालमेलमा सुधार आउनेछ। शनी र राहु अशुभ भएकाले स्वास्थ्य सम्बन्धी समस्या र डरको अवस्था वा अनावश्यक धनहानी र खर्च वृद्धिले पिरोल्नेछ। सरकारी नोकरीमा झुटा आरोप लाग्ने भय र अपयसको सामना गर्नुपर्ला। शनिको विपरीत प्रभावले उन्नति र प्रगतिमा बाधा आउनेछ। वैदेशिक रोजगारका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। कुसंगतमा नपरी गैरकानुनी कार्यबाट टाढा रहेर सकारात्मक सोच राखी काम काममा इमान्दारिता राख्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरूलाई करियरको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। ठूलो लगानी वा जोखिम लिनुभन्दा अघि शुभचिन्तकहरूसंग उचित सल्लाह अवश्य लिनुहोला। पारिवारिक वा वैवाहिक सम्बन्धलाई लिएर यो वर्ष मध्यम रहेको छ तर चतुर्थ भावमा गुरुको गोचरले गर्दा पारिवारिक सुख, शान्तिमा वृद्धि हुनुका साथै घरमा नयाँ मेहमानको आगमन को सम्भावना रहेको छ। घरपरिवारमा शुभ मांगलिक कार्यका योग छन्। विवाह आदिमा अगाडि बढ्नुभन्दा पहिला विषयवस्तुको पूरा जानकारी लिनुहोस्। जीवनसाथीको स्वास्थ्यको दृष्टिकोणले यो महिना अलि प्रतिकूल रहनेछ भने आफ्नो स्वास्थ्यलाई लिएर पनि दैनिकी व्यायाम गर्नुहोस्। वैशाख महिनामा प्रेम सम्बन्धमा सफलता वा नौकरी पेशामा स्थान परिवर्तनका योग छन्। जेठ महिनामा भय त्रास वा पुर्खौली सम्पत्तिमा विवाद देखापर्ला। असार महिनामा सुखमा वृद्धि वा धार्मिक यात्राका योग छन्। श्रावण महिनामा स्वास्थ्य सम्बन्धी समस्या वा वैदेशिक यात्राको क्रम अगाडि बढ्नेछ। भदौ महिनामा ऋण र स्वास्थ्य सम्बन्धी समस्या देखापर्ला। असोज महिनामा शत्रुनाश र यश, कीर्तिमा वृद्धि हुनेछ। कार्तिक महिनामा व्यापार व्यवसायमा विस्तार एवं आर्थिक पक्ष सबल रहनेछ। मङ्सिर महिनामा स्वास्थ्य सम्बन्धी समस्या। पुसमा मानहानी वा महत्वकांक्षी योजनाहरू समयमा पूरा गर्न नसकिएला। माघमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नुका साथै नोकरी वा पेशामा उन्नतिका योग छन्। फाल्गुनमा धर्मकर्ममा रुचि बढ्नुका साथै धार्मिक स्थलहरूमा यात्राका योग छन्। चैत्रमा वैदेशिक क्षेत्रतिर रहेको अधुरो कार्यपुरा हुनेछ।

वृषTaurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

वृष राशि हुनेहरूका लागि यो वर्ष राम्रो रहेकोछ। बृहस्पति र शनि शुभ रहनाले वर्षभरी आर्थिक उन्नति र प्रगतिको मार्ग प्रशस्त हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेलापर्नेछन्। नयाँ कामको थालनी हुनेछ भने समाजमा मानसम्मान बढ्नेछ। मेहनत गर्दा स्वरोजगार पनि सृजन गर्न सफल भइनेछ। कार्यक्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य जीवन सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा नयाँ अभियान आदिमा शुभचिन्तक वा अनुभवी व्यक्तिहरूको सहयोग मिल्नेछ। राहु र केतु को विपरीत प्रभावको कारण पापकर्ममा मन जाने र कार्यक्षेत्रमा अनावश्यक झमेलामा पर्नुपर्ला सचेत रहनुहोस्। चलिरहेको कार्यमा आकस्मिक बाधाको संकेत देखिएको छ। बृहस्पतिको राम्रो प्रभावले उच्च शिक्षाको क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रतियोगी परीक्षाहरूमा पनि सोचे अनुकूल परिणाम मिल्नेछ। माननीय जनहरूको मध्य आफ्नो कुरालाई राम्रोसँग स्पष्ट रुपमा राख्न सक्नुहुनेछ। आध्यात्मिक विषय वस्तुमा यो वर्ष रुचि बढ्नेछ। स्वास्थ्यको दृष्टिकोणले यो वर्ष सामान्य रहेको छ। खुट्टा दुख्ने र पाचनतन्त्र सम्बन्धी समस्या बल्झिन सक्छ सावधान रहनुहोला। खानपिनमा ध्यान दिनुहोस् नभए पेट सम्बन्धी विकारको सम्भावना देखिएको छ। वैशाख महिनामा धन लाभ भएतापनि स्वास्थ्यमा हानि देखिएको छ। जेठ महिनामा कार्यक्षेत्रमा स्थानपरिवर्तन। असारमा खर्चमा वृद्धि। साउनमा धनलाभ र नयाँ प्रेम सम्बन्ध प्रारम्भ हुने समय। भदौमा मानाहानी वा आर्थिक संकट। असोजमा आर्थिक पक्ष सबल हुने तर मानसिक तनाव। कार्तिकमा शत्रु नाश वा नयाँ कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ। मङ्सिरमा धार्मिक यात्रा र धर्मकर्ममा प्रवृत्ति भइनेछ। पुसमा स्वास्थ्य सम्बन्धी समस्या। माघमा मानसम्मानमा कमी। फागुनमा सुखमा वृद्धी र कार्य सिद्धि। चैत्रमा वैदेशिक यात्रा संगै धनलाभका संकेत।

मिथुनGemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

मिथुन राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। बृहस्पति शुभ रहनाले अभिव्यक्ति र लेखन कला आदिमा निखार आउनेछ। आर्थिक क्षेत्रमा प्रगति एवं उन्नतिको योग छ। परिवारमा शुभ मांगलिक कार्य सम्पादन हुनेछ। शनिको सकारात्मक प्रभावले नोकरी वा पेशामा पदोन्नतिको योग छ भने पेशागत समस्याहरूको समाधान हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। राहु र केतुको प्रतिकूल प्रभावले सानोतिनो संघर्ष र खुट्टा तान्नेहरूको संख्या समेत बढ्नेछ। सानोसानो कुरालाई लिएर अरुमाथि बैरभाव बढ्नेछ। वैवाहिक जीवनमा सकारात्मक वा अनुकूल परिणाम प्राप्त हुनेछ। राहुको नवम स्थानमा गोचरले गर्दा उच्च शिक्षमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई चुनौतीहरू आउनेछन्। वित्तीय लगानि र जोखिम लिनबाट बच्नुहोस्। घरपरिवार र आफन्तहरूको मध्य आपसी समझदारीमा कमी देखा पर्न सक्छ सचेत रहनुहोस्। सन्तानको नोकरीलाई लिएर आइरहेको समस्याको समाधान हुनेछ। व्यापारमा बोलि प्रभावशाली रहनेछ। मसिनरी वा विद्युतीय उपकरण आदिको प्रयोग गर्दा सावधान रहनुहोला। स्वास्थ्य सबल रहनेछ। यात्रा गर्दा अतिरिक्त सावधानी आवश्यक रहेको छ। घर परिवार वा समाजलाई लिएर मानसिक चिन्ता वा अनिन्द्रा को समस्याले पिरोल्नेछ। वैशाखमा आर्थिक उन्नति वा मानसम्मानमा वृद्धि हुनेछ। जेठमा अनावश्यक यात्रा वा आर्थिक व्वय। असारमा धार्मिक यात्रा र स्थान परिवर्तन। श्रावणमा हानि नोक्सानी वा आकस्मिक भय। भदौमा धनलाभ र सुख समृद्धि। असोजमा मानसम्मानमा कमी आउने वा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्तिकमा नयाँ प्रेम प्रसङ्ग प्रारम्भ हुने वा शत्रु नाश। मङ्सिरमा आर्थिक संकट वा परिवारको मध्य कुनै कुरालाई लिएर असमझदारी बढ्ला। पुसमा सन्तान सुख र अनावश्यक खर्चमा वृद्धि। माघमा विदेश यात्रा वा नोकरीमा अपयश व्यहोर्नु पर्ला। फाल्गुनमा स्वास्थ्यमा चिन्ता व व्यापारमा लाभ। चैत्रमा सुख समृद्धि वा प्रशासनिक कामहरू बन्नेछन्।

कर्कटCancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट राशि हुनेहरूको लागि यो वर्ष शुभ रहनेछ। बृहस्पति शुभ रहनाले यो वर्ष आर्थिक उन्नति लिएर आउनेछ। विवादास्पद् मामलाहरू सुल्झिने वा ऋणभारमा कमी आउनेछ। अधुरा कामहरू पूरा हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। विदेश वा बाहरी क्षेत्रबाट जोडिएका कार्यहरूमा आर्थिक उन्नति हुनेछ। घरपरिवारमा कुटुम्बहरूको मध्य राम्रो सम्बन्ध स्थापित बनाउन सकिनेछ। पढाइको क्षेत्रमा शोध संस्था आदिमा राम्रो सफलता हात लाग्नेछ। राहुको अशुभ प्रभावले शिक्षा र वैदेशिक शिक्षाको क्षेत्रमा बाधाहरु उत्पन्न गराउला। शनिको भाग्य स्थानमा गोचरले गर्दा कुनै पनि कार्य सोचेको समयमा पूरा नहोला। कार्यसम्पादनमा लगनशीलता वा संघर्ष धेरै गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी बढाउने वा साझेदारहरू बढ्ने संकेत देखिएको छ। दाम्पत्य जीवन सौहार्दपूर्ण रहनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सकिनेछ। घर घरपरिवारमा शुभ माङ्लिक कार्य हुनेछ। यो वर्ष करियरलाई लिएर सकारात्मक समय रहनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा धेरै परिश्रम र समर्पणको आवश्यकता रहेको छ। कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ। स्वास्थ्यको दृष्टिकोणले यो वर्ष सामान्य रहेको छ। रुगा खोकी वा मौसमी बिमारीहरूबाट जोगिनुपर्ने हुन्छ। पाइल्स, कब्ज र पेटसम्बन्धी समस्याहरूले सताउन सक्छ। पेय पदार्थको सेवनमा पनि नियन्त्रण राख्नुपर्ने हुन्छ। वैशाख महिनामा सुख समृद्धिमा वृद्धी। जेठमा शत्रुनास र धर्मकर्ममा प्रवृत्ति भइएला। असारमा आर्थिक उन्नति। साउनमा धननाश वा कार्यक्षेत्रमा स्थान परिवर्तन। भदौमा कानुनी मुद्दा मामलाहरू व्यहोर्नुपर्ने वा परिवारसँग मनमुटाव। असोजमा धनलाभ र कार्यमा पदोन्नतिका योग। कार्तिकमा स्वास्थ्य समस्या वा शत्रुहरू सक्रिय। मङ्सिरमा ऋणमा वृद्धि। पुसमा शत्रुनाश वा प्रेम सम्बन्ध बलियो हुने। मागमा धार्मिक यात्रा। फाल्गुनमा मानहानि। चैत्रमा अनावश्यक खर्च वा शिक्षामा बाधा उत्पन्न हुने।

सिंहLeo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। शनिको अढैयाले समय सङ्घर्षपूर्ण रहनेछ तर वैदेशिक क्षेत्रका कामहरू बन्नेछन् वा उच्च शिक्षालाई लिएर विदेशतिरको यात्रालाई लिएर सकारात्मक परिणाम लिएर आउनेछ। विद्यार्थीहरूको पठनपाठनमा रुचि नभए पनि परिणाम राम्रो प्राप्त होला। धार्मिक क्षेत्रमा विकास र आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। स्वास्थ्यमा समस्या र झुटा आरोप लाग्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा हानि नोक्सानी खेप्नु पर्ला सावधान भएर निर्णय लिनुहोस्। कानुन विपरीत कार्य गरे बन्धनमा पनि पर्न सकिनेछ सावधान रहनुहोला। शनिको अढैयाले सरकारी कामकाजमा समस्या लिएर आउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि चुनौतीपूर्ण समय रहनेछ। प्रेम सम्बन्धलाई लिएर यो वर्ष सावधानी अपनाउनुपर्ने हुन्छ। जीवनसाथीसँग मानसिक तनावका योग छन्। प्रेम सम्बन्धमा आपसी समझमा कमी र अरुमाथि दोषारोपण गर्ने समय रहेको छ। स्पष्ट संवादमा कमी देखिएको छ। आर्थिक क्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्ने वा दीर्घकालीन योजनाहरूले लाभ दिनेछ। अध्ययनको दृष्टिकोणले यो वर्ष मेहनती विद्यार्थीहरूको लागि सकारात्मक रहनेछ। इंजनियरिंग र अनुसन्धानको छात्रहरूको लागि समय सकारात्मक रहनेछ। परीक्षाहरूमा हजुरको लापरवाही असफलताको कारण बन्न सक्छ सचेत रहनुहोस्। यो वर्ष स्वास्थ्याई लिएर विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। पुरानो रोग बल्झिने वा गुप्त रोग सम्बन्धी समस्या र खुट्टा दुख्ने वा युरिक एसिड आदिको समस्या पनि देखा पर्न सक्छ सचेत रहनुहोस्। हतियार आदि देखि जोगिनुपर्ने रहेको छ। वैशाखमा मानहानि र पाप कर्ममा प्रवृत्त भइनेछ। जेठमा सुख समृद्धि वा कार्यसद्धि। असारमा सुख र धनलाभ श्रावणमा धननास वा पीडा। भदौमा मानसिक चिन्ता वा स्वास्थ्य सम्बन्धी समस्या। असोजमा हानि वा खर्चमा वृद्धि। कार्तिकमा सुख समृद्धिमा वृद्धि हुने वा नकारात्मक प्रभावबाट मुक्ति मिल्ने। मङ्सिरमा स्वास्थ्यमा समस्या वा धन हानि। पुषमा आर्थिक संकट वा मानहानी। माघमा शत्रुमाथि विजय वा मानसम्मान प्राप्ति। फागुनमा लामो यात्रा। चैत्रमा स्वास्थ्यमा समस्या।

कन्याVirgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशि हुनेहरूको लागि यो वर्ष मध्यम रहेको छ। नयाँ आम्दानीका स्रोतहरू फेलापर्नेछन्। दीर्घकालीन योजनाहरूमा राम्रो कमाई गर्न सक्नुहुनेछ। जीवनमा ठूलो लक्ष्यहरू क्रमशः पूरा हुने सम्भावना देखिएको छ। सहयोगी वर्गहरूको राम्रो सहयोग मिल्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। सामाजिक मानसम्मानमा वृद्धि वा लोकप्रियता बढ्नेछ। धर्मकर्म वा नैतिक प्रवृत्तिमा झुकाव बढ्नेछ। संगठन समूह र नेटवर्कबाट राम्रो लाभार्जन गर्न सकिनेछ। राहु र शनि मध्यम रहनाले अनावश्यक झमेलामा फस्नुपर्ला। शत्रुहरूको दमनमा धन खर्च हुनेछ। अत्याधिक आशावादी भएर गलत निर्णय लिन सकिन्छ सावधान रहनुहोला। भौतिकवादतर्फ झुकाव बढ्नेछ। दाम्पत्य जीवनमा समस्या वा विवादले जीवनसाथीको स्वास्थ्यमा असर पार्नेछ। करियरलाई लिएर यो वर्ष राम्रो रहनेछ। नोकरी वा पेशामा पदोन्नति वा कुनै प्रकारको सकारात्मक परिवर्तन देख्न मिल्नेछ। व्यवसायिक क्षेत्रमा अनुकूलता बढ्नेछ। साझेदारी व्यापारमा सतर्कता अपनाउनुपर्ने हुन्छ। आफ्नो क्रोधलाई नियन्त्रणमा राखेर निर्णय लिनुहोस् सफलता मिल्नेछ। व्यापारमा साझेदारहरूसंग सम्बन्धलाई सुधार्ने प्रयास गर्नुहोस्। विद्यार्थीहरूलाई पढाइको क्षेत्रमा अनुकूल समय रहेको छ। उच्च शिक्षालाई लिएर विदेशतिरको यात्राको प्रक्रिया अघि बढ्नेछ भने विवाहितहरूलाई सन्तान आदिको सुख प्राप्ति हुनेछ। विद्यार्थीहरूलाई गुरुजनहरूबाट नयाँ कुरा सिक्ने साथै परीक्षा आदिमा राम्रो सफलता प्राप्त गर्ने सुनौलो समय रहेको छ। स्वास्थ्यको दृष्टिकोणले हेर्दा यो वर्ष जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सवारी साधनबाट चोट र दुर्घटना आदिको सम्भावना रहेको छ सावधान रहनुहोला। वैशाखमा दीर्घकालीन योजनाहरूले लाभ दिने वा सुखमा वृद्धि। जेठमा स्वास्थ्य वा मानहानी। असारमा सुख प्राप्ति तथा जीवनको ठूलो लक्ष्य पूरा हुने। साउनमा धन लाभ। भदौमा अनावश्यक खर्च वा आफन्तहरूसँग मनमुटाव बढ्ने। असोजमा खर्चमा वृद्धि र लामो यात्राको योग। कार्तिक भय वा मानसिक तनाव। मङ्सिरमा सम्मान प्राप्ति वा प्रेममा सफलता। पुषमा आर्थिक संकट। माघमा शत्रु वृद्धि। फाल्गुनमा धार्मिक यात्रा वा शत्रु नाश। चैत्रमा जागिरमा पदोन्नति वा स्थान परिवर्तन।

तुलाLibra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

तुला राशिहुनेहरुको लागि यो वर्ष राम्रो रहेको छ। गुरु शुभ रहनाले नोकरी प्राप्ति र सामाजिक क्षेत्रमा मानसम्मान मिल्नेछ। निर्णय गर्ने क्षमता राम्रो हुनेछ। शिक्षा वा करियरको क्षेत्रमा पदोन्नति र प्रतिष्ठा प्राप्त हुने सम्भावना उच्च रहेको छ। न्याय वा सरकारी प्रशासनिक कार्य सफल हुने समय रहेको छ। धार्मिक कार्यहरूमा पारिवारिक मत मिल्नेछ। शनि अनुकूल हुनाले इन्जिनियरिङ वा टेक्निकल क्षेत्रमा यो वर्ष समयाअनुकूल रहनेछ। साना बच्चाबच्चीहरूको स्वास्थ्यमा सुधार हुनेछ। राहुको विपरीत प्रभावले एकाग्रतामा कमी वा मानसिक द्वन्द र दुविधाको स्थिति बनाउन सक्छ सावधान रहनुहोला। पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर पनि यो वर्ष राम्रो रहेको छ। जीवनसाथी र घरपरिवारको मध्य राम्रो तालमेल बनाउन सकिनेछ। घरमा नयाँ सदस्यको आगमनको संकेत देखिएको छ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न राम्रो समय रहेको छ। करियरलाई लिएर शनि अनुकूल रहनाले मेहनत धेरै गराए पनि काममा सफलता मिल्नेछ। बौद्धिक क्षेत्र वा सृजनात्मक क्षमतामा वृद्धि हुनेछ। मङ्सिरको मध्यबाट राहुको चतुर्थ स्थानमा गोचरले गर्दा माताको स्वास्थ्यसँग सम्बन्धित समस्या उत्पन्न हुनेछ। पारिवारिक सम्बन्धमा मनमुटावको सम्भावना रहेको छ सावधान रहनुहोला। यो वर्षको उत्तरार्धमा नोकरीको कुरालाई लिएर मनमा मानसिक तनावको स्थिति उत्पन्न हुनेछ। जग्गा जमिनबाट सोचेजस्तो लाभआर्जन गर्न नसकिएला। स्वास्थ्यको दृष्टिकोणले यो वर्ष सामान्य रहेको छ। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। शत्रुहरू हार खानेछन्। हड्डी सम्बन्धी र पुरानो चलिरहेको रोगबाट समस्या उत्पन्न होला। हात हतियारको प्रयोग गर्दा र सवारी साधनको उपयोग गर्दा होसियार हुनुहोला। वैशाखमा आर्थिक समस्या र भ्रमणका योग। जेठ अज्ञात भय तथा धन लाभ। असारमा धार्मिक काममा मन जाने र जीवनसाथीसँग राम्रो सम्बन्ध स्थापित। श्रावणमा कार्य सफलता र धनलाभका योग। भदौमा सुख प्राप्ति वा मानसम्मानमा वृद्धि। असोजमा लामो यात्रा वा पीडा। कार्तिकमा स्थान परिवर्तन साथै मान प्रतिष्ठा बढ्ने। मङ्सिरमा स्वास्थ्य समस्या वा धननाश। पुषमा कर्ममा अस्थिरता र वैराग्यमा मन जाने। माघमा रोग साथै पैतृक सम्पत्तिलाई लिएर मतभेद। फाल्गुनमा शत्रुनाश हुने र सुखमा वृद्धि। चैत्रमा प्रतिस्पर्धामा सफलता र नयाँ कामको थालनी।

वृश्चिकScorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। गुरु शुभ रहनाले शिक्षा, अनुसन्धान वा नयाँ ज्ञान हासिल गर्ने अवसर पाईनेछ। व्यक्तित्वमा सकारात्मक सोच वा धैर्य र नैतिकताको विकास हुनेछ। पारिवारिक सम्बन्धहरू सुध्रिने वा बुबासँगको सम्बन्ध झन् राम्रो बन्ने संकेत देखिन्छ। भाग्यको राम्रो साथ पाइनेछ। विद्यार्थीहरूले शिक्षाको क्षेत्रमा अविश्वसनीय परिणाम लिएर आउनेछन्। उच्च शिक्षालाई लिएर समयानुकूल रहेको छ। पिताको कार्यक्षेत्रमा उन्नति हुनेछ। आर्थिक रूपमा यो वर्ष अनुकूल रहनेछ। अप्रत्याशित लाभ र सम्मानमा वृद्धि हुनेछ। काममा वरिष्ठ व्यक्तिहरूको सहयोग मिल्नेछ। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने वा तीर्थस्थलहरूमा यात्राको योग रहेको छ। शनि अशुभ रहेकाले आर्थिक समस्याले चिन्ता बढाउनेछ। सन्तानसम्बन्धी चिन्ताले सताउनेछ। राहु र केतुको कारण जग्गा जमीन र वाहन सम्बन्धी समस्या बेहोर्नु पर्ला। नोकरी वा पेशामा झुटा आरोप वा अपयस पनि खेप्नु पर्ला। आत्मविश्वासमा कमी र आलस्यले गर्दा महत्वपूर्ण कामहरूमा बाधा उत्पन्न हुनेछ। पारिवारिक र वैवाहिक जीवनमा सानो कुरालाई लिएर असमझदारी बढ्नेछ। विद्युतिय उपकरण वा आगोबाट जोगिनुहोस्। प्रेमीहरूको लागि यो वर्ष सकारात्मक नरहला प्रेममा धोखा पाइने वा वादविवादको सम्भावना बढ्नेछ। मनपर्दो वा आसाराखिने व्यक्तिहरूले समयमा सहयोग नगर्लान्। स्वास्थ्यको दृष्टिकोणले छाती दुख्ने वा पाचनतन्त्र सम्बन्धी समस्याले सताउला। खानपानमा सुधार वा नियमित व्यायामले लाभ मिल्नेछ। वैशाखमा कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको सहयोग मिल्नेछ। जेठमा आर्थिक संकट वा यात्रामा कष्ट। असारमा आर्थिक लाभ वा स्वास्थ्य समस्या। श्रावणमा झुटा आरोप र प्रतिष्ठामा कमी। भदौमा समस्याहरूको समाधान वा व्यापार व्यवसायमा मनग्य लाभ रहने। असोजमा धनलाभ र सुख समृद्धि। कार्तिकमा वैदेशिक यात्रा वा धन हानी। मङ्सिरमा पाप कर्ममा प्रवृत्त भइने र स्थान परिवर्तनको योग। पुषमा काममा बाधा र परिवारबाट टाढिनुपर्ने। माघमा ऋणमा वृद्धि र शत्रुहरू बढ्ने। फाल्गुनमा मानसम्मानमा कमी र मानसिक परेशानी। चैत्रमा नोकरीमा मान बढ्ने वा सुखमा वृद्धि।

धनुSagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

धनु राशि हुनेहरूको लागि यो वर्ष मिश्रित फलदायी रहनेछ। जीवनमा आन्तरिक परिवर्तन, अनुसन्धान र आत्मविश्लेषणतर्फ मन जानेछ। यो समय आन्तरिक विकासको लागि महत्वपूर्ण मानिन्छ। पुराना समस्याहरूको समाधान हुनेछ। अध्यात्म वा रहस्यात्मक विषयतर्फ आकर्षण बढ्नेछ। अप्रत्याशित रुपमा पैतृक सम्पत्ति,अपुताली र साझेदारीबाट फाइदा हुने योग यो वर्ष रहनेछ। जोखिमयुक्त लगानीबाट टाढा रहनु नै राम्रो हुन्छ। हरेक कार्य गर्नुपूर्व योजना बनाएर गर्नु नै उपयुक्त रहेको छ। मनोवैज्ञानिक स्थिरतामा कमजोरी र खालिपन रहेको छ। अनुशासन र समझदारीले स्थितिलाई सुधार्न सकिनेछ। आर्थिक रूपमा स्थिति सामान्य रहेता पनि पारिवारिक विषयवस्तुलाई लिएर खर्च बढ्नेछ। दीर्घकालीन लाभको लागि सोच विचार गरेर निर्णय लिनु लाभदायी रहनेछ। घर, जमिन वा आवास सम्बन्धी योजना भए त्यसमा सफलता मिल्ने योग रहेको छ। पारिवारिक सम्बन्धमा गहिराई आउने तर दाम्पत्य जीवनमा विश्वास र समझदारीको आवश्यकता रहेको छ। जीवनसाथीसँग सानातिना कुरालाई लिएर गलतफहमी आउन सक्छ। आफ्नो कुरा स्पष्ट राख्दा सम्बन्ध झन् गहिरो बन्दै जानेछ। शिक्षाको दृष्टिकोणले विद्यार्थीहरूलाई पढाईमा एकाग्रता र मेहनतको आवश्यकता रहेको छ। आध्यात्मिक क्षेत्रतिर जोडिएका व्यक्तिहरूलाई विशेष फलदायी समय रहनेछ। यो वर्ष स्वास्थ्यलाई लिएर विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। पर्याप्त आराम, सन्तुलित खानपान र नियमित दिनचर्यामा विशेष ध्यान दिनुहोला। पुरानो रोग र चर्मरोग सम्बन्धी समस्या बल्झिन सक्छ सचेत रहनुहोस्। वैशाखमा धननाश। जेठमा आर्थिक समस्या वा स्वास्थ्यमा हानि। असारमा यात्रा र सुख समृद्धि। श्रावणमा शत्रुनाश र पारिवारिक मतभेद। भदौमा पाप कर्ममा वृद्धि वा मानहानी। असोजमा धन सम्पत्तिमा वृद्धि व मानसम्मान प्राप्ति। कार्तिकमा सुख वा रमाइलो यात्रा। मङ्सिरमा स्वास्थ्यमा समस्या। पुषमा स्थान परिवर्तन र झुटो आरोप लाग्ने। माघमा व्यापारमा हानी शत्रु वृद्धि। फाल्गुनमा धन प्राप्ति। चैत्रमा स्वास्थ्यमा समस्या।

मकरCapricorn

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मकर राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहेको छ। साझेदारी व्यापार र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारी वर्गको साझेदारी तथा राजनैतिक जनसम्पर्क सम्बन्धी मामलाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। साझेदारी व्यापारमा साझेदारसँग आपसी सम्बन्ध राम्रो रहनेछ। भविष्यलाई लिएर व्यापार विस्तारका नयाँ योजनाहरु बनाउने समय रहेको छ। शनि शुभ रहनाले गुमेको धन हात लाग्ने एवं सम्पत्ति बढ्नेछ भने जोश र जाँगरमा वृद्धि हुनेछ। वैदेशिक रोजगारबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ। व्यापार व्यवसायमा जोखिम लिन हत्तार नगर्नुहोस्। दीर्घकालीन सोचका साथ गरेको लगानीले जीवनमा स्थायित्व र सफलता लिएर आउनेछ। राहु र केतुको प्रभावले धन र बोलिमा सकारात्मक प्रभाव पर्नेछ। आर्थिक पक्षमा आकस्मिक धनमा वृद्धि, वैदेशिक यात्रा,अनलाइन व्यवसाय वा नयाँ क्षेत्रबाट आम्दानी बढ्न सक्छ। पारिवारिक दृष्टिकोणले केही तनाव र गलतफहमी ल्याउन सक्छ साथै परिवारका सदस्यहरूसँग दूरी बढ्ने र विवाद हुने सम्भावना रहेको छ। धनको विषयलाई लिएर वादविवाद पर्न सक्छ, धैर्य र संवादले सम्बन्धलाई सन्तुलित राख्न मद्दत गर्नेछ। आफूले पाएको कुरामा असन्तुष्ट हुने र अझ बढी चाहना राख्दा लोभमा वृद्धि हुनेछ तर अनुशासन नैतिकता र धैर्यताले जीवनमा उन्नति र प्रगति ल्याउन सकिनेछ। विद्यार्थीहरूलाई पढाईमा यो वर्ष राम्रो सफलता मिल्नेछ। मेहनतको राम्रो फल पाइनेछ। स्वास्थ्यको दृष्टिकोणले यो वर्ष सामान्य रहेको छ। मादक पदार्थको सेवनबाट जोगिनुहोस्। स्वास्थ्यमा आँखा सम्बन्धी समस्या वा मौसमी बिमारीहरुले सताउनेछ। वैशाखमा यात्रा वा आर्थिक स्थिति कमजोर। जेठमा नसासम्बन्धी समस्या र अपमान असारमा शत्रु नाश वा सुख वृद्धि। श्रावणमा धनलाभ कार्य सिद्धि। भदौमा पारिवारिक समस्याबाट चिन्ता वा रोग। असोजमा मानसम्मानमा वृद्धि। कार्तिकमा चिताएको काम बन्ने वा धार्मिक यात्राको अवसर। मङ्सिरमा धनलाभ र शत्रुनाश। पुसमा स्वास्थ्य सम्बन्धी समस्या वा पीडा। माघमा प्रतिष्ठा बढ्ने वा स्वास्थ्यले साथ दिनेछ। फाल्गुनमा आर्थिक लाभ र वैदेशिक क्षेत्रतिर सफलता। चैत्रमा पराक्रममा वृद्धि साथै मानसिक शान्ति।

कुम्भAquarius

गु, गे, गो, सा, सि, सु, से, सो, दा

कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। गुरुको अनुकूल प्रभाव रहनाले प्रतिस्पर्धात्मक क्षेत्र तिर राम्रो प्रदर्शन गर्ने योग रहेको छ। विशेषगरी शिक्षा प्रशासन कानुनी वा सेवामूलक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। शत्रुहरूमाथि विजय प्राप्त गर्ने योग रहेको छ। शुभचिन्तकहरूको सहयोगले न्यायिक प्रक्रिया र विवादित चुनौतीहरूको सामना गर्नमा सफल भइनेछ। दाम्पत्य जीवनमा अत्यधिक अपेक्षा आदर्शवाद वा उपदेश दिने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। ऋण र रोगको योग रहेकाले सचेत रहनुहोला। दैनिकी जीवनयापनमा वर्षको पुर्वार्धमा संघर्ष देखिनेछ। शनि र केतु अशुभ रहनाले कार्यक्षेत्रसँग सम्बन्धित काम समयमा सम्पादन गर्न नसकिएला। कुनै कुरालाई लिएर मुद्दा मामलाहरू व्यहोर्नुपर्ला सावधान रहनुहोस्। झुटा आरोप लाग्ने मनमा अशान्ति हुने आलस्य बढ्ने शत्रुहरु बढ्ने आफन्तहरू मध्य बैरभावहुने जस्ता नकारात्मक पक्ष हावी रहनेछन्। आत्मविश्वासमा उत्तारचढाव रहनेछ। कार्यक्षेत्रमा कामलाई लिएर मनमा दुविधा वा असमञ्जसको स्थिति रहनेछ। वैदेशिक यात्रा,भ्रमण वा शिक्षालाई लिएर विदेश यात्राका योग बनिरहेका छन्। अनुसन्धान र टेक्नोलोजी वा असामान्य क्षेत्रमा सफलता मिल्नेछ। समाजमा छुट्टै पहिचान बनाउन सक्षम भइनेछ। अस्थिर चित्त वा गलत संगतको असरले शिक्षा र काममा प्रतिकूल प्रभाव पर्न सक्छ। जीवनमा भावनात्मक दूरी वा असन्तुष्टिको भावना हुनसक्छ। आध्यात्मिक कुरामा बढी रुचि रहनेछ। स्वास्थ्यको दृष्टिकोणले यो वर्ष ध्यान दिनुपर्ने रहेको छ तसर्थ खान पानमा ध्यान दिनुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। परिस्थितिजन्य कुराहरुले गर्दा मानसिक स्थितिमा असर पर्नेछ। मौसमी बिमारी अनिन्द्रा वा ब्लड प्रेसरको समस्याले सताउनेछ। वैशाखमा धनलाभ वा यात्रा। जेठमा मानहानि वा आर्थिक संकट। असारमा सुख समृद्धि वा शत्रुनाश। श्रावणमा पुर्खौली सम्पत्तिलाई लिएर विवाद। भदौमा अनावश्यक खर्च बढ्ने र पारिवारिक चिन्ता वा स्वास्थ्यलाई लिएर समस्या। असोजमा मानसिक शान्ति प्रतिष्ठित व्यक्तिसँग भेटघाट। कार्तिकमा कार्यक्षेत्रमा सफलता मान सम्मान बढ्ने। मङ्सिरमा आँटेको कार्यमा सफलता मिल्ने धनलाभ हुने। पुसमा पीडा वा प्रेम सम्बन्धमा असमझदारी बढ्ने। माघमा स्थान परिवर्तन वा वैदेशिक कार्य पूरा हुने। फाल्गुनमा व्यापार व्यवसायमा हानी साथै पद प्रतिष्ठामा हानिको सम्भावना। चैत्रमा सुख समृद्धि र यश किर्ति बढ्ने।

मीनPisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मीन राशि हुनेहरूको लागि यो वर्ष उत्तम रहेको छ। बृहस्पति शुभ रहनाले शिक्षा,अध्ययन र भौतिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने सम्भावना रहेको छ। विद्यार्थीहरूको लागि यो वर्ष विशेष फलदायी रहनेछ। पढाइमा ध्यान लाग्ने साथै जटिल विषयलाई सहजरूपमा बुझ्ने क्षमतामा वृद्धि हुनेछ। प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्ने योग देखिन्छ। नयाँ सीप सिक्न अनुसन्धान गर्न र उच्च शिक्षाको योजना बनाउनको लागि उपयुक्त समय रहेको छ। गुरुको सकारात्मक प्रभावले व्यक्तिको सोच सकारात्मक हुने र दूरदर्शी बन्नेछ। सन्तान सम्बन्धी सुखमा वृद्धिहुने देखिन्छ। कामना अनुरुपको सन्तान प्राप्तिका योग बनिरहेको छ। परिवारमा खुसी र सौहार्दपूर्ण वातावरण रहनेछ। अविवाहित व्यक्तिहरूको लागि नयाँ प्रेम सम्बन्ध सुरु हुने सम्भावना रहेको छ। दाम्पत्य जीवनमा अझ परिपक्वता बढ्नेछ। संगीत कला र सृजनात्मक कार्यहरूमा कल्पनाशक्ति बलियो हुनेछ। नयाँ विचारले मनमा डेरा जमाउनेछ। नैतिकता र सदाचारतर्फ आकर्षण बढ्नेछ। कार्यक्षेत्रमा लापरवाहीले समस्या निम्त्याउन सक्छ। जोखिमपूर्ण लगानी लगाउनबाट जोगिनुहोस्। नयाँ कामको थालनी वा नयाँ नोकरी प्राप्तिको योग समेत रहेको छ। आम्दानीका स्रोतहरु बढ्नेछन्। शनिको साढेसातिको प्रभावले यो वर्ष झमेलामा फस्नुका साथै अनावश्यक खर्चमापनि वृद्धि हुनसक्छ सचेत रहनुहोला। स्वास्थ्यलाई लिएर समस्या आउनेछ तसर्थ खानपानमा ध्यान पुर्‍याउनुहोला। वर्षको उत्तरार्धमा जीवनसाथीसँग असमझदारी बढ्ने योग रहेको हुदाँ एकल निर्णयमा कामहरु सकेसम्म नगर्नुहोला। स्वास्थ्यमा कमजोरी र कम्मर वा जोर्नी दुख्ने समस्याले सताउला। वैशाखमा आर्थिक हानि। जेठमा व्यवसायमा लाभ। असारमा स्वास्थ्यमा समस्या र खर्चमा वृद्धि। श्रावणमा मान हानी वा आफन्तसँग वैरभाव बढ्ने। भदौमा शत्रुनाश वा सुखमा वृद्धि। असोजमा धार्मिक यात्रा र धर्मकर्ममा रूचि उत्पन्न हुनेछ। कार्तिकमा स्वास्थ्यमा समस्या। मंसिरमा आर्थिक संकट। पुषमा कार्य सिद्धि वा सुख प्राप्ति। माघमा धन प्राप्ति। फाल्गुनमा पाप कर्म प्रवृत्ति भइने र शत्रुभय। चैत्रमा स्थान परिवर्तन संगै आँटेको कार्यमा सफलता मिल्नेछ।