कर्कट सङ्क्रान्ति/लुतो फाल्ने दिन/सोमबारे औंसी


कर्कट संक्रान्ति/लुताे फाल्ने दिन
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
असार सकिएर श्रावण अथवा साउन महिना सुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ ।
श्रावण महिनाबारे पौराणिक व्याख्या
श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान् शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात् गङ्गा नदी लिएर हिँडेका भगवान् शिव आफै जल हुनुभएको उल्लेख गरिएको छ ।
यसै हिसाबले पनि यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बाग द्वार, महोत्तरीको सोनामाईथान र सिद्धानाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरूको भीड लाग्ने गर्दछ ।
श्रावणका काँवरहरू
तराई मा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्रा कोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डाैको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँट घाट धाम लगायतको विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ ।
दक्षिणायन
श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ ।
यो रङ्गिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रङ्गिन चुराहरू लाउने गरिन्छ ।
श्रावणसम्ममा बारीका मकैहरू पनि ठुलै घोगा भइसकेका हुन्छन्, श्रावणको झरीमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाउँघरका हिलो गोरेटोमा प्याट्ट प्याट्ट चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिँडेको बाल्यकालका यादहरू पनि श्रावण महिनाको एउटा सम्पत्ति हो, यस श्रावणले हामी सबैको जय होस !
लुतो फाल्ने दिन
श्रावण महिनामा सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरी पर्नुभएकाले मान्छेहरू आव-जावत गर्दा पानीमा रुझ् सक्ने संभावना हुन्छ । त्यसमाथि कृषि अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिट्टिनु लगभग सामान्य झैँ हो । यसर्थ गर्मी र वर्षाको यो असरले वर्षाको महिनाहरूमा चर्म तथा छालासँग सम्बन्धित रोगहरू जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउन सक्ने सम्भावना अत्यधिक हुन्छ । साउने सङ्क्रान्ति लाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । यस दिन नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भन्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।
सोमबारे औँसी

९० सालको महाभूकम्प र सोमबारे औँसीको किस्सा
सोमबारे औँसीको एउटा प्रसङ्ग गएर विसं १९९० सालको माघ २ गतेको महाभूकम्पसँग गएर ठोकिन्छ, आउनुहोस् आज विसं १९९० को महाभूकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औँसीको सन्दर्भ जोडौँ । विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो । त्यस दिन सोमबारे औँसी थियो। अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।
आज पनि सोमबारे औँसी हो। महाभूकम्प पछि सोमबारे औँसीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औँसीको महात्मै अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ ।
यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तीर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औँसी" को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।
बढ्दो सोमवारे औँसीहरू
पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । ल है यस सोमबारे औँसीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?
जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।
हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल













:max_bytes(150)/https://lh3.googleusercontent.com/-8n3PsN6xvU4/AAAAAAAAAAI/AAAAAAAAAAA/AMZuuckMCARs2MUVu580mTruQamIKF-CZw/s96-c/photo.jpg)
:max_bytes(150)/https://lh3.googleusercontent.com/-72xvOzHPFZ4/AAAAAAAAAAI/AAAAAAAAAAA/ACHi3rczbh0h9VFkwdOOiudzFRMh89wKYQ/s96-c/photo.jpg)