मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
२५९ दिन अगाडि
१६असोज २०८२बिहिवारOct 2, 2025🌔

विजया दशमी / देवी विसर्जन / विश्व अहिंसा दिवस

असोज शुक्ल दशमी

सूर्योदय:५ : ५७
सूर्यास्त:१७ : ४९

नोटस्

आगामी दिनहरू

विजया दशमी

विजया दशमी

विशेष अडियो

0:00 / 0:00

वि.सं.२०८२ को बडादसैँ

यस वर्ष विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज १६ गते बिहान ११:५३ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि ०२ अक्टोबर बिहान ११:४९ , न्यूयोर्क अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११:२५,फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११:५७, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११ :०५, टेक्सास, अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११:३३, वासिङ्टन डिसी, अमेरिकाका लागि ०१ अक्टोवरका ११:३५, क्यालिफोर्निया, अमेरिकाका लागि ०१ अक्टोवरका ११:११ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिष को तिर्सना ।

नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार हो दसैँ ।


अक्षताले निधार भरिने टीका

नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठुला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।

बौद्ध अनुयायीहरूको सेतो टीका

यो पावन पर्व हिन्दु धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दुहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।


घरको मूल टीका लगाएर ससुराली, मामाघर या ठुला बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्यता र सामीप्ययतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।


दशहरा

वैदिक सनातन धर्मानुयायीहरूले दसैँको आर्सीवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुर को वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।

घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईँलाई ?


फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन् परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईँ सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज सहर देखी असहज अनकन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कुदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसैँको ऊर्जायुक्त रङ्गले छोएको छ ।

टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदै छौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।


पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।


यसको अर्थ:

द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।


महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते ।


अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।


यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।

देवी विसर्जन

असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकले व्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !


ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि सङ्घार भित्रका अक्षताहरूमा लक्षण बसोस्, आशिष् दिने मुखमा सरस्वती बसुन् अनि तपार्इं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । शुभकामना !!

देवी विसर्जन

विशेष अडियो

0:00 / 0:00

ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।

उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।

कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।

गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।


नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी विसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिन विसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।


माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन विसर्जन गरेर प्रसाद स्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।

विश्व अहिंसा दिवस

विश्व अहिंसा दिवस

विशेष अडियो

0:00 / 0:00

पृष्ठभूमि

आज हामी अहिंसाको धारणालाई अगाडि बढाउन मद्दत गर्ने व्यक्तिको जन्मदिन मनाउँछौँ , जुन व्यक्तिले गत शताब्दीमा शान्ति र सद्भावका विषयमा ठुलो प्रभाव पारेको भन्ने बताइन्छ । सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा हामी मोहनदास करम चन्द गान्धी को नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्नेछौँ ।अक्टोबर २, अर्थात् विश्व अहिंसा दिवस, विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्मदिन पनि हो ।


गान्धीको जीवनमा गहिरिएर हेर्न भन्दा पनि उनका विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्व भरि पैरवी गरिन्छ ।राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि को एउटा कृति अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरुद्ध धोतकका रूपमा विश्व प्रसिद्ध छ ।

कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरूमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्ति संकेतयुक्त बिगुल सुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरूका आधारमा गरिने हिंसा नभइदिने हो भने अमेरिकी स्वतन्त्र सङ्ग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबै जना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन।

आज विश्व अहिंसा दिवस हो, बुद्धको देश नेपाल अनि हामी नेपालीको अहिंसाप्रति विशेष पहिचान छ, हामी धेरै सरल, शान्त अनि स्वतन्त्र प्रकृतिका छौँ। संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिइरहेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहर निया सम्म, मेचीको पुलदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरूको बीजारोपण गर्न जरुरी छ र यही शान्तिको अकुंरणलाई विश्वसामु पुर्‍याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे बाइबल होस या त्रिपिटक या अन्य कुनै पनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्दैन भनेर उल्लेख गरिएको छ । अब बेला आएको छ मुस्कानको बाटो हिँड्ने, "अहिंसा परमो धरम" अर्थात् हिंसा नगर्नु नै सबैभन्दा ठुलो धर्म हो । मुस्कुराउन नछोड्नुहोला, हिंसात्मक भावहरूलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।


जय होस सबैको, सबैको मङ्गल होस् ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()