मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
२६० दिन अगाडि
१५असोज २०८२बुधवारOct 1, 2025🌔

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस / राष्ट्रिय चलचित्र दिवस / महानवमी व्रत

असोज शुक्ल नवमी

सूर्योदय:५ : ५६
सूर्यास्त:१७ : ५०

नोटस्

आगामी दिनहरू

महानवमी व्रत

महानवमी व्रत

विशेष अडियो

0:00 / 0:00

ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः


नवरात्रिको नवौँ दिन

आज नवरात्रिको नवौँ दिन । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।

सिद्धि धात्री

देवी पुराणमा उल्लेख भएअनुसार यिनै देवीको असीम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।


शक्ति स्वरूप सिद्धि धात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्कण्डेय पुराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको व्याख्या गरिएको छ ।


आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इन्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो । शक्तिस्वरूपा देवीहरूले असुरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती छ ।

नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाउँमा आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजासहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । बलि दिन आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराही लगायतका शक्ति पीठहरूमा धेरै घुइँचो हुन्छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने चलन छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।


यसै गरी उपत्यका बाहिर पर्साको तिलवा नदी पारी केहूनिया रहेको शक्ति पीठ विन्दवासिनी देवीको मन्दिरमा, वीरगन्जको गहवामाईमा, काभ्रेको पलान्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्र तारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहबीको बुढी खोला किनारमा रहेको काल मन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाडौँ वसन्तपुर दरबार स्क्वायरमा रहेको दसैँ घर, कोतको पटाङ्गिनी लगायत नेपालभरिका शक्ति पीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजा अर्चना र सप्तशती पाठ गरिन्छ ।


कतिपय ठाउँमा आज कुखुरा, बोका, भेडा, हाँस र कुखुराको पञ्च बलि पनि चढाएर कोत पूजा र निशान पूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका बिरुवाहरूको पूजा गर्ने चलन पनि छ ।

कतिपय शक्ति पीठमा दुईदेखि दश वर्षसम्मका कन्याहरूको पूजा गर्ने चलन पनि छ । यस्तो कन्या पूजाका बारेमा देवी भागवतमा लेखिएको छ । आजको दिन काठमाडौँको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एक दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ ।


यस दिन विशेष पाठ:

या देवी सर्वभूतेषु माँ सिद्धि दात्री रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।


अर्थात्:

सिद्धि दात्री देवीका रूपमा सर्वत्र विराजमान अम्बे, म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु । मलाई शक्ति दिनुहोस् । महानवमीको सबैलाई शुभकामना, देवी माताले हामी सबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।


यसका साथै नवमीकै दिन नेवा सभ्यतामा चाहिँ स्याकुटाकु मनाउने चलन छ । स्याकुटाकुमा आफ्नो खेतमा गएर पूजा अर्चना गर्ने, माटोलाई पुज्ने, बालीलाई पुज्ने र बलि दिने चलन छ । साहाकारीहरूले चाहिँ फलफूल नैवेद्य आदि चढाएर स्याकुटाकु मनाइन्छ ।


यसपालाको दसैँको हर्षले वर्षभरि कान्ति छाओस् । अगाध माया अनि असीमित शुभकामना !

राष्ट्रिय चलचित्र दिवस

राष्ट्रिय चलचित्र दिवस

विशेष अडियो

0:00 / 0:00

पहिला असोज १ गते मनाइने राष्ट्रिय चलचित्र दिवस यस वर्ष देखि भने असोज १५ गते मनाइदैछ । नेपालको पहिलो कथानक चलचित्र "आमा"को प्रदर्शन मितिलाई ध्यानमा राखेर असोज १५ लाई राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको हो ।


नेपाली चलचित्रको इतिहास

सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।

बिसं २०२१ मा चलचित्र आमामा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।यस वर्ष अभिनेता लोहनीे संसारबाट बिदा हुनु भएको छ यद्धपि चलचित्रमा वहाँको योगदान सदैव स्मरण गरिनेछ ।


नेपाली चलचित्रहरुको जय होस् । अर्थपूर्ण शुभकामना ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

विशेष अडियो

0:00 / 0:00

नेपालमा ज्येष्ठ नागरिक

संसारभरि जस्तै नेपालमा पनि मानिसको सरदर आयु बढेको छ जसले गर्दा ज्येष्ठ नागरिकहरूको सङ्ख्या पनि बढ्दै छ । हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसङ्ख्या सन् २०५०मा दुई अरब पुग्नेछ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ६० वर्ष उमेर पुगेका मानिस कुल जनसङ्ख्याको ९ प्रतिशत (करिब २५ लाख) रहेको थियो र यो अनुपात बढ्दो छ ।


समाजको खुल्ला डबली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौँ । यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौँ । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ ।

यी छोराछोरी बढ्लान् कमाई गर्लान्

दूध–भात देलान् मलाई


बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कँदै गरेका बुवाले हातमा बोकेको प्लास्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।


पृष्ठभूमि

१४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो । यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो ( जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो ) र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन गर्‍यो।


अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२५ को नारा "Older Persons Driving Local and Global Action: Our Aspirations, Our Well-Being, Our Rights" स्थानीय र विश्वव्यापी स्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्ने कुरा उजागर गर्छ। यसले वृद्ध व्यक्तिहरूका आकांक्षा, स्वास्थ्य र अधिकारहरूको सम्मान गर्नु आवश्यक रहेको सन्देश दिन्छ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()