सोम प्रदोष व्रत/अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस / विश्व माटो दिवस

प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस 
कवि शिरोमणि लेखनाथ पौड्यालको कविता कोट्याउन चाह्यौ
कसैको देशमा पनि हुन्न एकनास समुन्नति
अरूको त के कुरा र हेर ? सध्याँमा सूर्यको गति
अर्थात् समाजमा या देशमा सबैको एकनास समुन्नति हुँदैन, बिहानै अत्यन्त चहकिलो सूर्य त साँझमा कमजोर हुन्छ भन्ने रहेको छ । कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नुनै सामाजिक विकासको सूचक हो र यस कार्यमा सूचना पूर्याउन अनि जागरण गर्न स्वयंसेवकको भूमिका रहन्छ ।
पृष्ठभूमि
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२२ ले स्वयंसेवा मार्फत एकताको विषयलाई उजागर गर्दछ । यो अभियानले स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने हाम्रो सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्छ।
UN स्वयंसेवकहरू (UNV) कार्यक्रमले संयुक्त राष्ट्र स्वयंसेवकहरूको मात्र नभई विश्वभरका स्वयंसेवकहरूको अथक कामलाई पहिचान र प्रवर्द्धन गर्न वार्षिक रूपमा ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवी दिवस मनाउने गर्दछ ।
यस दिवसको महत्त्व
विश्वभरि बढ्दो असमानताले साझा समाधान खोज्नको लागि मिलेर काम गर्न आवश्यक छ भनी सन्देश दिएको छ । स्वयंसेवकहरू, ऐक्यबद्धता भएर विकास चुनौतीहरूको समाधान र साझा हितका लागि कटिबद्ध हुन्छन् । स्वयंसेवा त्यस स्वैच्छिकता हो जहाँ करुणाले निस्वार्थपना लाई भेट्छ। विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एक अर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन आजको दिनले विश्वभरका स्वयंसेवकहरू लाई आव्हान पनि गर्दछ ।
स्वयंसेवा के हो ?
यस वर्ष संयुक्त राष्ट्र सङ्घले आफ्नो वेबसाइटमा स्वयंसेवालाई यसरी व्याख्या गरेको पाइयो । स्वयंसेवा भनेको दिनु, बाँड्नु , अरूको साथमा उभिनु, तपाईँले ख्याल गर्नुहुने कारणहरूलाई समर्थन गर्नु र सबैका लागि राम्रो भविष्य सिर्जना गर्नु हो । यस वर्षको नारा पनि "Solidarity Through Volunteering" अर्थात् स्वयंसेवा मार्फत ऐक्यबद्धता भन्ने छ ।
नेपालको स्वयंसेवा
नेपालको स्वयंसेवाको परिपक्ष्यमा कुरा गरौँ, स्वयंसेवाको कुरा गर्दा हामीमध्ये धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौँ अनुभव कालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरू को ठुलो भूमिका छ, सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयंसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।
औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवा
स्वयंसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडी, विदेश भ्रमणको सङ्ख्या अनि लगाएका बहुमूल्य वस्त्र भूषण मात्र हैन, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वयंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौँ त? हामीबाट अरूले के सिके त रु अनि हामीले गर्दा कति जनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्त्वपूर्ण रहन्छ ।
धेरै स्वयंसेवी सस्थाहरु नेपालमा छन् जसले विना कुनै दातृ रकम समाजलाई निस्वार्थ सहयोग गरिरहेका छन् । स्वयंसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टि छ र सधैँ स्वयंसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहीँ कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग गरौँ । एक दिन सँगै खाना या खाजा लगेर बाँडौँ, हाँस्न सिकाऔँ, आफू पनि हाँसौँ ।
सेवा नै धर्म हो अनि स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय छ ।
सबै स्वयंसेवकहरू लाई नमन ।
विश्व माटो दिवस
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।
यस वर्षको माटो दिवसको नारा चाँही "Soil: Where food begins" अर्थात खाधान्न र माटोलाई जोडेर यस वर्षको नारा र क्रियाकलाप अनि सन्देशहरु तय गरिएको छ ।
माटोको महत्त्व
अहिलेको समय प्रदूषण एउटा चिन्ता हो, हाम्रो पैताला मुनि पर्ने माटोको चिन्ता के हामीले कहिले गरेका छौ ? पक्कै पनि हामी मध्य धेरैले माटोको बारेमा सोचेका छैनौ। हो, हाम्रो यही बेवास्ता गर्ने बानीले गर्दा नै होला, अहिले विश्वभरिको करिब एक तिहाइ माटोको स्तर निक्कै कमजोर भैसकेको छ। अधिकांश प्रदूषणहरू मानव गतिविधिहरूबाट उत्पन्न हुन्छन् जस्तै, औद्योगिक गतिविधिहरू, अप्रत्यक्ष सहरी फोहोरहरू र अन्य गैर-पर्यावरण अभ्यासहरू र खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउन थालेको हो। हुन त माटोसँग पनि केही मात्रामा भएको प्रदूषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सीमित छ।
माटो स्वच्छ हुनुले बोटबिरुवाको विकास मात्र प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटो धेरै कीराहरू र अन्य जीवहरूका लागि आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरूलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले पनि माटोको बारेमा सोचेनौ भने विश्वले निक्कै चाडै खाद्यान्न सङ्कटको सामना गर्नेछ।
वास्तविकता उजागर भैसकेको छ। अब माटोको बारेमा सोच्ने मात्र हैन, यसलाई लाभदायक हुने कामहरू मात्र गर्ने बेला आइसकेको छ। भविष्यमा आउने खतराको बारेमा जानी बुझी हामी अब जोखिम उठाउन सक्दैनौ। विश्व माटो दिवसले फैलाउने जागरूकतामा आजै देखि ध्यान दिऊ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल







:max_bytes(150)/https://lh4.googleusercontent.com/-N9_H1ZbZrSc/AAAAAAAAAAI/AAAAAAAAAAA/ABtNlbDjoqrQvSCsSXcmjTeQvqDFn5adzQ/s96-c/photo.jpg)
:max_bytes(150)/https://lh3.googleusercontent.com/-y2swX2j2r-s/AAAAAAAAAAI/AAAAAAAAAAA/AMZuuckfUC5STO1cQmXvASfUiVRyT67NrA/s96-c/photo.jpg)