इन्दिरा एकादशी व्रत । एकादशी श्राद्ध । मघा श्राद्ध । विश्व मानसिक स्वास्थ्य दिवस


इन्दिरा एकादशी व्रत
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
इन्दिरा एकादशी व्रत
एकादशी भनेको के हो ?
पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औँसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औँसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ ।
असोज कृष्णपक्षमा पर्ने एकादशी
असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी व्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको व्रत लिनाले समस्त पापहरूको नष्ट हुने विश्वास रहेको छ । हिन्दु परम्परा अनुसार सोह्र श्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी व्रत लिँदा समस्त पितृहरूको नर्कबाट उद्धार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।

इन्दिरा एकादशी व्रत कथा
पौराणिक कथन अनुसार सत्ययुगमा महिष मति सहरमा इन्द्र सेन नामक एक प्रतापी राजाको राज्य थियो । ती राजा पुत्र पुत्री सहित धन सम्पतिले भरिपूर्ण र शत्रुहरुसंग अपराजित थिए । एक दिन इन्द्र सेन राजाको राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिको आगमन भयो । नारदको आउनु भएपछि इन्द्र सेनले खुसी हुँदै आसन गराए । नारद पनि इन्द्र सेनको भक्तिले प्रसन्न भए । नारदले आफूले एक दिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्र सेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्ग लोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्र सेन आश्चर्यचकित भए । नारदले त्यसको सविस्तार बताए । इन्द्र सेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको व्रतलाई पुरा गर्न नसकी बिचैमा छाडेका कारण यमलोकको बास भएको नारदले बत्ताइदिए ।
नारदले राजा इन्द्र सेनलाई इन्दिरा एकादशीको व्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्ग प्रस्थान हुने बत्ताइदिए । नारद ऋषिले त्यति बताइदिएपछि सोही अनुसार इन्द्र सेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको व्रत बसी व्रतको समापनमा ब्राह्मण पुरोहितहरूलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयं पनि पितृ धर्म प्राप्त गरी सुखशान्तिले राज्य चलाउन समक्ष भए । यही मान्यता अनुसार नै यस एकादशीको व्रत पछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दीप सहित बिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्। इन्दिरा एकादशीको व्रतका दिन नसुति व्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यही भएर मानिसहरू एकादशी व्रतपछि दिनभर भजन कीर्तन गरेर दिन बिताउँछन् ।
एकादशी श्राद्ध

पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
एकादशी श्राद्ध
सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।
एकादशी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
मघा श्राद्ध
यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले मघा पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यासम्म चल्ने पितृ पक्षको मघा नक्षत्र को श्राद्धलाई विशेष रूपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथि पनि अन्य तिथिहरू समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथिलाई विशेष मानिन्छ ।
मघा तारा
मघा तारा चाहिँ पितृहरूले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथिमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।
पितृ पक्ष अथवा महालय श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ, कुतुक र रोहिणी मुहूर्तमा यी श्राद्धकर्महरु गरिनु अत्यन्त फलदायी भएको मानिन्छ, त् मघा श्राद्धलाई काकवली अथवा वलभोलानी पनि भनिन्छ । यस तिथिमा उमेर नपुगी मृत्युवरण भएका बालबालिकाका लागि संझनास्वरुप श्राद्ध गरिन अत्यन्त फलदायी मानिन्छ, यस तिथिमा मृत्युवरण भएका सकल पितृहरूको मोक्षको कामना ।
विश्व मानसिक स्वास्थ्य दिवस

वर्ष २०२३ को विश्व मानसिक स्वास्थ दिवसको नारा 'Mental health is a universal human right' भन्ने तय भएको छ । यसको अर्थ चाँही मानसिक स्वास्थ लाई आधारभूत मानव अधिकारका रुपमा गरिएको परिभाषा भन्ने लाग्दछ ।
हाँस्न भुल्दै गएको पुस्ता
एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।
तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ ।
सूर्य उदाउँदा हाँस्न भुलेको मानिसलाई आजभोलि हाँस्न बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरू चाहिन्छ । जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ति र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हँसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफू अगाडि बढ्नुलाई जितको परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धाबीच अन्योलको परिधि बनाएका छन् । अनि तनावपूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।
यस्ता प्रतिनिधि पात्र बालक जस्ता अरबौं मानिसहरू एक खित्का पनि नहाँसी अनि तनावबीच नै आफ्ना दिन अनि वर्षहरू गुजारिरहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरू त हाम्रा टोल–छिमेकमै दैनिक सुनिन्छ ।
मानसिक स्वास्थ दिवसको पृष्ठभूमि
मानसिक स्वास्थ्यको यिनै मुद्दा अनि परिवेशले ल्याएको चुनौतिलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरू भनेको मानवीय संवेदनात्मक सहयोग र भावनात्मक प्राथमिक उपचारहरू हुन् ।
जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरूलाई भौतिक प्राथमिक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दुर्घटनामा परेका ब्यक्तिहरूलाई तत्कालै सही मानसिक प्राथमिक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।
जीवन अनमोल छ । यहाँ महत्वपूर्ण कुराहरू जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो । कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त बिर्सिरहेका छैनौँ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।
‘डिप्रेशन’का शिकार
स्मरणरहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा ‘डिप्रेशन’का शिकार भइरहेका छन् । खुशी अनि सन्तुष्टिकासाथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोडको सूचीमा नाम लेखाउने रहर पक्कै पनि छैन । जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो, परिणाम त केवल उपज मात्र हुन्, प्रयासको । हामी छाँयाको पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् ।
मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनका लागि पहल गर्नु हाम्रो दायित्व हो । उनीहरूलाई दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौं ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल








:max_bytes(150)/https://lh5.googleusercontent.com/-T1L_y0GTqYE/AAAAAAAAAAI/AAAAAAAAAAA/ACHi3rdG8TVwP34yfnm7A7A4OSAuzNp7oQ/s96-c/photo.jpg)