मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
१५४ दिन अगाडि
माघ २०८२बिहिवारJan 15, 2026🌘

राष्ट्रिय योग दिवस / माघे संक्रान्ति / घ्यु चाकु खाने दिन / उत्तरायण आरम्भ

माघ कृष्ण द्वादशी

सूर्योदय:६ : ५५
सूर्यास्त:१७ : ३०

नोटस्

आगामी दिनहरू

माघे संक्रान्ति | घ्यु चाकु खाने दिन

माघे संक्रान्ति | घ्यु चाकु खाने दिन

विशेष अडियो सामग्री

0:00 / 0:00

षट् तिल कर्म

वर्ष २०८२ सालको माघे सङ्क्रान्ति दिन विशेष लेखनको सुरुवात नै म षट् तिल कर्म भन्ने शब्दको व्याख्या गरेर गर्न जाँदै छु । तिलको महत्वलाई उजागर गर्दे तिल सँग सम्बन्ध राख्ने ६ वटा मूल कर्महरूको सूची राख्न चाहेँ ।


उत्तरायणको सुरुवात हुने दिन तिलको ६ प्रकारको प्रयोगको पैरवी शास्त्रहरूमा छ ।

तिल स्नान अर्थात् तिल मिसिएको पानीमा स्नान गर्ने ।

तिल दीप अर्थात् तिलको तेल या तिलका गेडा भएको तेलमा दीप बाल्ने ।

तिल होम होम गर्दा तिलको प्रयोग चरुको रुपमा गर्ने ।

तिल तर्पण: पितृ कर्मको तर्पण मा तिलको प्रयोग गर्ने ।

तिल दान: तिल दान गर्ने ।

तिल भक्षण: अर्थात् तिलको सेवन गर्ने ।


माघे सङ्क्रान्ति तिल खाने मात्र दिन नभई तिलका यी समग्र प्रयोग गर्ने दिन पनि हो । उत्तरायणको सुरुवाती दिन पनि हो ।

मसान्त र सङ्क्रान्तिहरू

१२ वटा महिना, ६ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ ।


माघे सङ्क्रान्ति

आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।


सनातन ससकारमा तिलको महत्त्व, तिलुवा सङ्क्रान्ति

सनातन ससकारमा तिलको विशेष महत्त्व छ, चाहे होम जाप गर्नलाई चरुको रूपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृ कर्म अनि शुभ कार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हो, त्यसै कारणले पनि माघे सङ्क्रान्ति लाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात् उत्तरी र दक्षिणी ध्रुवका बारेमा हामीले भूगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ, आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रीष्म बढ्दै जाने मान्यता छ ।

घ्यु चाकु खाने दिन

अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन् त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ?


तरुल, सखरखण्ड, पिँडालु उसिन्न बाँकी नै छ कि भ्याइयो ? अनि खिचडी (जाउलो) नि ? जाउलोसँग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलित छ, "खिचडी के चार यार, दही पापड घी आ अचार" । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरू हुन्छन्, दही, पापड घ्यू अनि अचार । अनि तैयार छन् त यी कुराहरू कि अन्य कुराहरूसँग खिचडी तात्तातो खाने सोचमा हुनुहुन्छ ?


जाडोको समयको यो न्यानो चाड माघे सङ्क्रान्तिले दैलोमा ढकढक्यायो । बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा , ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसर्थमा कति धेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोसिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्म रोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।

मधेसमा माघे सङ्क्रान्ति

मधेसमा भने मैथिल र थारु समुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समुदायमा आजको दिन येले दुगंका रूपमा लगभग नयाँ वर्षका रूपमा मनाइन्छ । आजकै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरु भएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा धमार गीत गाउँदै रमाइलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । आनन्दि नामक चामलको जाँड पश्चिमी थारु समुदायमा बहुत चर्चित छ । यसै गरी छोरीचेलीहरु माइत आउने र फर्कँदाखेरि 'निसराउ' अर्थात् उपहारहरू दिएर पठाउने चलन छ ।


नेवार समुदायमा ‘घ्यः चाकु संल्हू’

नेवार समुदायमा ‘घ्यः चाकु संल्हू’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो।

मगर जातिको माघे सङ्क्रान्ति

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जङ्गलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरूले धनुष काँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फल्याकमा अङ्गारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तीतेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरू चैँ साँझमा जम्मा भई घरघरमा गई बासी आन्द्रा पाई कि नपाई भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटीहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरू रमाउँदै अर्को घर जान्छन् ।


मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरू यस वर्षभरि कायम हुन्, सबैको जय होस् ।

मकर स्नान आरम्भ

नदीनालाको देश नेपाल उद्गम बिन्दु भएको सनातन संस्कारमा जलाशयहरूमा गरिने स्नानको विशेष महत्त्व रहन्छ । यस्तै मध्य हिउँदको मकर स्नानको पनि विशेष महत्त्व रहन्छ । मकर सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ ।


मकर स्नानको धार्मिक र पौराणिक मान्यता

यस दिनको धार्मिक र पौराणिक मान्यताका बारेमा चर्चा गरौँ, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्ख मूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ । यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सीधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्य पूराणमा उल्लेख गरिएको छ । सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ ।

यस वर्षको मकर स्नानमा सबैलाई स्वागत

राष्ट्रिय योग दिवस

राष्ट्रिय योग दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

हरेक वर्ष जुन २१ तारिखमा अनतराष्ट्रिय समुदायले विश्व योग दिवस मनाँउदछ । विश्वले पहिचान गरेको र मान्यतामा राखेको यस योगको उत्पति र अध्ययनका प्राचिनतम इतिहासहरु पर्वतखण्ड श्रृखला अर्थात हालको नेपाली भूमि र तपोभूमिसंग समबन्धीत छ ।


नेपालले भनें हरेक वर्षको माघ १ लाई राष्ट्रिय योग दिवसका रुपमा मनाँउदछ । नेपाललाई सगरमाथा, बुद्ध अनि हिमालहरुको देशका रुपमा मात्र नभई योगको उद्गम बिन्दुको देश भनेंर पनि सबैले चिन्न जरुरी छ ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बन्न लकेको परिपेक्षमा यही क्षेत्रबाट पुनर्जागरण गर्न जनचेतना जगाउने काम स्वरुप नेपाल सरकारले राष्ट्रिय योग दिवस घोषणा मनाउना थालेको हो। नेपाल सरकारको मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । शिक्षा मन्त्रालय र विज्ञान तथा प्रबिधि मन्त्रालय गाभिएर 'शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय' भए संगै यो दिवसलै यसै मन्त्रालयले मूल समारोह समिति बनाई २०७२ साल देखि देशका विभिन्न स्थानमा रहेका योग विज्ञान तथा साधनामा काम गरिरहेका वविभिन्न संघसस्थासंग सहकार्यमार्फत विभिन्न कार्यक्रमहरु गर्दै मनाउदै आइरहेको छ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।


नेपालभर योग सिकाउने हालसम्म करिब ६०० संस्था र असख्यँ योगगुरु र योग थलोहरु छन् । हरेक बिहान चौरमा या बाटाका छेउमा अनि आफ्ना घरमा योग अभ्यास गरिरहेका मान्छेहरुको नजारा सामान्य भएको छ । हरेक टिभी र रेडियोहरुले शुरुवाती प्रसारणमा बिहानै धर्म, शास्त्र र योगका कुराहरु वाट शुरुवात गर्न थालेका छन् । जुनसुकै धर्म या समुदायका ले पनि योगलाई सनातन सभ्यताको उत्कृष्ट अभ्यास र चेतनास्तरको बृद्धिको अनुपम तवरका रुपमा स्वीकार गर्दै आएका छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । अहिले नेपालमा योग पर्यटनको एउटा अभिन्न हिस्स बन्दै गैरहेको छ। नेपाल सरकारले उचित ध्यान दिएर लगानी गरेको खण्डमा नेपालमा योग पर्यटनको प्रचुर सम्भावना देखिन्छ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

उत्तरायण आरम्भ

उत्तरायण आरम्भ

विशेष अडियो सामग्री

0:00 / 0:00

"उत्तरायण र दक्षिणायन"

वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ती दुई परिवर्तनलाई "उत्तरायण र दक्षिणायन" भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।


उत्तरायणको अवधिमा सूर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरूले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरूले पुनर्जन्म लिनु पर्छ, यसै कारण पनि सूर्यको यी दुई स्थितिलाई मानिसहरूको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।


उत्तरायणको बेला दिनहरू लामो र रातहरू छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ। सबैको भलो होस्।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()