
Janai Poornima
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥
मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने प्रक्रिया या चाहना हो र जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व असाध्यै धेरै छ ।

जनैपूर्णिमाको यो मध्ये कुन पक्ष तपाईंलाई मन पर्छ ?
जनै वा यज्ञोपवीत को महत्त्व
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
जनै लगाउनुको अर्थ
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्र:
"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
अर्थात्:
"जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।
नेवा संस्कृतिमा जनै पूर्णिमा
" आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई "गुंला महिनाको पुन्हि" अर्थात् "गुंपुन्हि" भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरकारक्षा बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।
जनै पूर्णिमा को बिशेष मेलाहरू
आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षेत्रीया अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन हिन्दु वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्म सूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न कालागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।
जनैको धारण र गायत्री मन्त्रको उच्चारण
परिवर्तित परिप्रेक्ष्य चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान् जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवीत अर्थात् जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस् मन्त्रिएका यज्ञोपवीतको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामर्थ्यको वृद्धि हुने विश्वास छ ।
साथै यज्ञोपवीत धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहराउँदछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।
ब्राह्मण पथ र यज्ञोपवीतको सम्बन्ध
यज्ञोपवीतले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मण पथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगको भलो अनि अध्यनशिलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्ययनशीलता र आत्मिक शुद्धताको ब्राह्मण पथमा आलीन हुन सक्दछन् ।


रक्षा बन्धन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, "रक्षा" र "बन्धन"। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ "सुरक्षाको गाँठो" हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।


क्वाति खाने दिन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको "क्वाति" हो । नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो ।
ऋषितर्पणी
यस दिन स्नान गरी सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
सनातन धर्मका अनुयायीहरू सबैका पुर्खाहरू ऋषिहरु भएको र यही अनुरूप सबैको गोत्र पनि तिनै ऋषि हरुको नाम अनुरूप तय गरिएको छ । यस अर्थमा आजका दिन दिइएको तर्पण हाम्रा अनन्य पुर्खाहरूको सम्झना र आफ्नो कुल परम्परा अनि संस्कारको समानार्थक दिइएको हो ।


पूर्णिमा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।
पूर्णिमा व्रतको महत्व
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।


ऋषितर्पणी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यस दिन स्नान गरी सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
सनातन धर्मका अनुयायीहरू सबैका पुर्खाहरू ऋषिहरु भएको र यही अनुरूप सबैको गोत्र पनि तिनै ऋषि हरुको नाम अनुरूप तय गरिएको छ । यस अर्थमा आजका दिन दिइएको तर्पण हाम्रा अनन्य पुर्खाहरूको सम्झना र आफ्नो कुल परम्परा अनि संस्कारको समानार्थक दिइएको हो ।


संस्कृत दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
संस्कृत दिवसको पृष्ठभूमि
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ सालदेखि स्वदेश तथा विदेशका विभिन्न स्थानहरूमा विश्व संस्कृत दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (ऋषि तर्पणी) अर्थात जनैपूर्णिमाको दिन जरो किलो प्रतिष्ठान नेपाल लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा विश्व संस्कृत दिवस आयोजना गर्ने गरिन्छ। यस वर्ष आठौं विश्व संस्कृत दिवस मिति २०८२ भदौ १४ गते तदनुसार अगस्ट ३१ तारिख ऋषि तर्पणी, शनिवारको दिन मनाइदैछ । विद्यालय, विश्वविद्यालय, गुरुकुल, विहार, मठ, मन्दिर, गुम्बा लगायत सम्पूर्ण शैक्षिक, धार्मिक, सामाजिक तथा भाषिक क्षेत्रमा काम गर्न स्थापित संघ संस्थाहरूलाई छैठौँ विश्व संस्कृत दिवस भव्यताका साथ मनाउन आह्वान गरिएको छ ।
संस्कृत भाषाको वस्तुगत महत्त्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको हो । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिन मै वेद पाठनको सुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।
अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ।


अन्तर्राष्ट्रिय आदिवासी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएको हो । यस दिवसकालागि संयुक्त राष्ट्र सङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुई वटा कान जस्तो आकृतिले पृथ्वीलाई दुई पटि बाट घेरेको देखिन्छ ।
आदि भनेको के हो?
'आदि' भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।
मानव सभ्यताको विकाससँगै बसाई-सराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थालेको छ । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल गरिब जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हाबी हुँदै आएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्र
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । विभिन्न अध्यनहरुले स्पष्टसँग आदिवासी र गैर आदिवासी समुदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठुलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलो कालागि पुस्तौँदेखि एक ठाउँमा खनी-खोस्री, प्रकृतिसँग पौंठेजारी खेल्दै आएका आदिवासी समुदाय विश्व कोलागि प्राचीन सम्पत्ति हो र उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।
बहु-जाती बहु-धर्म र बहु-संस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समुदायहरू छन् र तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रीति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दुर कोसिस गर्दै गरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यही मौलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।तितो सत्य के हो भने आदिवासीहरूको बसोबासलाई बिगार्दै अनि उनीहरूलाई विस्थापित गर्दै बनाइएका सहर, बसाइएका सभ्यता र जोडिएका कारखाना भन्दा उनीहरूको आफ्नो ठाउँमा हुने मौलिक उपस्थिति नै संसार र समूदायकालागि फाइदा कारक हुनेछ ।


अन्तर्राष्ट्रिय भू संरक्षण दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउने गरिन्छ ।बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुरयाउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको संझना स्वरुप यस दिवसको सुरुवात भएको हो । विभागको स्थापना सँगै जिल्ला स्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । साल २०३१ पछि विभाग स्थापना भएको दिन श्रावण २४ गतेलाई “भूसंरक्षण दिवस” को रूपमा मनाउने गरिएको पाइन्छ ।
वर्तमान स्थिति
नेपालको भूभाग मध्य कृषि क्षेत्रले २७ प्रतिशत र वन तथा बुट्यान क्षेत्रले ४४ प्रतिशत भूभाग ओगटेको नेपालको राष्ट्रिय भू संरक्षण नीति २०७५ मा उल्लेख छ । हाल आएर भू उपयोगको ढाँचामा तीव्र परिवर्तन आइरहेको छ । अव्यवस्थित प्लटिङ र भौतिक संरचनाहरूको अनर्गल निर्माणले खेतीयोग्य जमिनमा कमी आइरहेको छ । पहिलेदेखि नै गरा बनाएर खेती गर्ने हाम्रा कमजोर भूभागहरू अहिले आएर बाटोघाटो बनाउनका लागि डोजर र टिप्परहरुको चलायमानताले झनै कमजोर भएका छन् । अर्कोतर्फ जल उत्पन्न प्रकोपहरू पनि बढ्दा छन् । एक जमानामा कृषिप्रधान देश अहिले आएर खाद्यान्न आयातमुखी अवस्थामा पुगिरहँदा देशमा भू उपयोगको ढाँचामा व्यापक परिवर्तन गरिनुपर्ने कुरा निश्चित छ ।
नेपालको उच्च संवेदनशीलता
वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ । संवेदनशील भू(धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावहरूबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या बेहोर्नु परेको छ ।हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकूलित हुने दायित्व सृजना गरी मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण र भूमि संरक्षण गर्नुपर्ने देखिन्छ ।
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।