
इन्द्रजात्रा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ ।
यंयाः पुन्हि'
काठमाडौँको माटो र आव हवामा सभ्यता र शान्तिको एउटा स्वाद छ अनि काठमाडौँ देवता र मन्दिरको मात्र सहर नभई विविधता सहितका अनेक चाडबाड र प्राचीन सभ्यताको सहर पनि हो । इन्द्रजात्रा अर्थात् नेपाल भाषामा 'येँया पुन्हि', काठमाडौँ सहरको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबैभन्दा ठुलो चाडहरुमध्य एक हो ।
किम्बदन्ती
सुरु गरौँ किम्बदन्ती बाट जसका अनुसार स्वर्ग लोकका भगवान् इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौँ सहरमा आएर बगैँचाको माली लाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्र शक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढाले पछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोक कथन छ।काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।
बन्धनमा पारेका छोरा इन्द्र
यसरी आफ्नो खातिर काठमाडौंवासी ले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धान बाली समयमै हुर्किएर पाक्छ भन्ने किम्बदन्ती अझै पनि जनजिब्रोमा जीवितै छ। इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

इन्द्र जात्राको कुन पक्ष तपाईंलाई सबैभन्दा रमाइलो लाग्छ?
नेवा:
परम्परा अनुसार भाद्र शुक्ल पक्ष 'यँलाथ्व द्वादशी'को दिन मनाइने इन्द्र ध्वजोत्थानबाट प्रारम्भ भएर 'यँलागाः चौथी' अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासङ सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रही आएको छ । अनुहारमा विभिन्न देवी देउताका 'ख्वापाः' (अर्थात् मुखौटा) लगाएर नेवा: समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ ।
तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाको लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्र चण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको यसिं तयार पार्ने गरिन्छ। यसरी तयार भएको यसिंलाई स्थानीय नेपाल भाषामा यसिं ' समेत भनिन्छ । उक्त यसिंलाई वसन्तपुर दरबार स्क्वायरस्थित हनुमान ढोकामा अवस्थित विशाल काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रिया पश्चात् यसिं ठड्याइएपछि 'इन्द्र ध्वजोत्थान' सम्पन्न हुन्छ र प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल ।
यसरी तयार पारिने विशेष यसिंमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। यसिंको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।
यसिं ठड्याउने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुर्जुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाएर यस महत्त्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन्। इन्द्रजात्रामा इन्द्र ध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा वर्षमा एक पटक हनुमान ढोका दरबार क्षेत्रस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारण कालागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ ।
सहकालका देवता इन्द्र
काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने गरिएको छ । काठमाडौँमा दसौँ शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा सुरुवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाडौँका बुद्ध मार्गी नेवार समुदाय र हिन्दु मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ ।
सनातन र पुरातात्त्विक महत्त्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत् संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।
इन्द्रजात्राको पौराणिक कथन
पुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा देवता र असुरहरू ठुलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई 'इन्द्र ध्वजा' भनियो । देवासुर सङ्ग्राममा देवताहरूको विजय भएपछि इन्द्र ध्वज पूजा र समारोहले निरन्तरता पायो ।


अनन्त चतुर्दशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ अनन्ताय नम:
भगवान् अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना गरेर श्रद्धापूर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चतुर्दशी भनिन्छ। भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरू जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउँदै थिए। त्यस बेला भगवान् श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापूर्वक व्रत बस्न आग्रह गरेका थिए। भगवान् श्रीकृष्णको सल्लाह मान्दै पाँच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए।
श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात् जनपूर्णिमाको दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने गरेका छन्। आज चोखो धागोमा अनन्त मन्त्रणा गरी बाँध्नाले वर्षभर शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसरी बाँधिने धागोलाई “अनन्त सूत्र” भनिने गरिन्छ। यस सूत्रमा हुने चौध वटा गाँठोलाई चौध वटा लोकको प्रतीक मानिन्छ। यो सूत्र पुरुषहरूले दाहिने हातमा बाँध्ने गरेका छन् भने महिलाहरूले यसलाई बायाँ हातमा बाँध्ने गर्दछन्। हिन्दु धर्म अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नलाई उत्तम मानिन्छ।
पूजा विधि
आज प्रात:कालमा स्नान आदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ। सर्वप्रथम कलश स्थापना गरी त्यसमा अष्ट दल बनाएर राख्ने अनि कुशको अनन्त भगवान् बनाएर स्थापना गर्नुपर्दछ। कलश समक्ष चौध गाँठो भएको अनन्त सूत्र राखेर कुश लिएर
भगवान् अनन्तनाथ (भगवान् विष्णु) को सुद्ध चित्तले पूजा आराधना गर्नुपर्दछ। तत्पश्चात् धूप, दीप, नैवेद्य र अक्षता लिएर भगवान् अनन्तको पूजा गर्नुपर्दछ। अन्त्यमा आफूले चिताएको मागेर आफ्नो गक्ष अनुसार ब्राह्मणलाई दान दिनु शुभ हुन्छ। पूजा पछि कलश समक्ष राखेको अनन्त सूत्र आफूले बाँध्नाले अनन्त भगवान् प्रसन्न भई शुभ फल प्रदान गर्ने मान्यता छ। खास गरी अनन्त चतुर्दशीको पूजा दिउसोको समयमा गर्नुलाई उत्तम मानिन्छ।पुत्रको चाहना राख्ने या आर्थिक अभावमा गुजारा गरिरहेका मानिसहरूलाई आजको दिन व्रत विशेष फलदायी रहने गरेको छ।



