मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
२१६ दिन अगाडि
२८कार्तिक २०८२शुक्रवारNov 14, 2025🌘

विश्व मधुमेह दिवस / सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

मंसिर कृष्ण दशमी

सूर्योदय:६ : २३
सूर्यास्त:१७ : १२

नोटस्

आगामी दिनहरू

विश्व मधुमेह दिवस

विश्व मधुमेह दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

पृष्ठभूमि

आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।


मधुमेहको उपचार

मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

मधुमेह बारे केही तथ्यहरू

· मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।

· विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।


डायबिटिज दुई प्रकारका हुन्छन् ।

टाइप वान डायबिटिज र टाइप टु डायबिटिज ।

हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।


अब कुराकानी गरौँ, दोस्रो प्रकारको मधुमेहबारे । यो अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ ।


हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।

· यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् ।


· आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबिटिजको सिकार हुने सम्भावना बढ्दै गएको छ । डायबिटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।


· त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशाणुगत रूपमा पनि मधुमेह सर्न सक्छ ।


· मधुमेह कुनै ठुलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ ।


· त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।


· प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरूलाई नै डायबिटिजको सम्भावना निकै कम भएको अध्ययनहरूले प्रमाणित गरेका छन् ।

यसको अर्थ हो, डायबिटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ । डायबिटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जङ्क फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जङ्क फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरूको हृदयाघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरूले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।


· मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरूले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबिटिज भएको प्रमाणित भयो भने धूम्रपान र मद्यपान गर्नै हुँदैन ।


· सबैभन्दा पहिले हामीले प्रोसेस खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।


· डायबिटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म कार्बोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा कार्बोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरनाक हुन्छ ।


· मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरूले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरू बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरूले क्यान जुसहरू खानै नहुने बताउँछन् । त्यस्तै, डायबिटिज हुनेहरूले रातो मासु खानै नहुने पनि चिकित्सकहरूले सुझाव दिन्छन् ।


· मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अङ्गमा ठुलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ ।


समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरूको उपचार सम्भव छ ।


विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरुलाई सुस्वास्थ्यको कामना ।

विश्व मधुमेह दिवस २०२५ को नारा “Diabetes and Well-being” हो। यसले मुख्य रूपमा मधुमेह र जीवनको सम्पूर्ण कल्याण बीचको सम्बन्धमा ध्यान केन्द्रित गर्छ। सरल भाषामा भन्नुपर्दा, मानिसहरूलाई मधुमेहसँग बस्न सिक्ने तर स्वस्थ र सन्तुलित जीवन जिउने उपायहरू तर्फ सचेत गराउने उद्देश्य राख्छ।

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइन्छ। यस दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउँछ। हाम्रा सांस्कृतिक सम्पदा तथा धरोहरहरू हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन्। तर दुर्भाग्यवश, यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा पर्छन्। २०२५ मा, यस दिवसमा सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको संकल्पलाई बलियो बनाउने सन्देशलाई केन्द्रमा राखिएको छ। यसले विश्वभरि कानूनी र नीतिगत पहललाई प्रोत्साहित गर्दै सांस्कृतिक सम्पत्तिको संरक्षणमा सबैको साझा भूमिका रहेको कुरालाई पनि उजागर गर्छ।

नेपालको परिवेशमा

नेपालजस्तो देशमा, जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा पर्दछन्। हाम्रा काठ, ढुंगा, धातुका कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा व्यापारमा लागेर विदेश पुर्‍याइन्छन्, जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाउँछ। २०२५ मा यो दिवसले नेपाल लगायत विश्वभर सांस्कृतिक सम्पत्तिको संरक्षण, कानूनी पहलहरूलाई सुदृढ बनाउन र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ। यसले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा सरकारले कडा कानूनी नीति र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको कुरा झल्काउँछ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()