त्रयोदशी श्राद्ध / संविधान दिवस / मघा श्राद्ध
असोज कृष्ण त्रयोदशी
असोज कृष्ण त्रयोदशी

संविधान दिवस
विशेष अडियो
सङ्घीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज–३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको थियो । जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरेको थियो ।
संविधानमा के छ ?
एकात्मक राज्य संरचनालाई संघीयतामा रूपान्तरण गरेको यस संविधानमा केन्द्र र हरेक प्रदेश संसदीय व्यवस्था ब्यवस्था अघि बढेका छन् । आफूले चाहेको लैङ्गिक पहिचानसहितको नागरिकता पाउने सहज ब्यवस्था गरेको यो संविधानले २०४७ सालको संविधान सरह मृत्युदण्डको खारेजीलाई निरन्तरता दिएको छ । छोरीहरूलाई पैतृक सम्पत्तिमा छोरा सरह समान अधिकारको ब्यवस्था गरेको यो संविधान हरेक प्रकारले लैङ्गिक सशक्तीकरणको पक्षमा दृढ छ । नेपाल राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्रका रूपमा ब्याख्या गरेको छ ।
संविधानको प्रस्तावना
संविधानको प्रस्तावना भनिएको छ, ‘सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताको स्वविवेकले पटक–पटक हुँदै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात शहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दछ ।’

संविधानको प्रावधान अनि मर्म अनुरूप आज कुनै पनि नेपालीले लिङ्ग, धर्म, जात, वर्ग, रंग, पहिचान, भाषा या अन्य कुनै आधारमा विभेद सहन गर्नुपर्ने छैन् । अब त झन् विकास अनि समृद्धिका लागि प्रदेश र स्थानीय तहहरूलाई संविधानतः अधिकार प्राप्त छ । सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ ले सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दै; बहु–जातीय, बहु–भाषिक, बहु–धार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधतबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकासहितको कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिवद्धता राख्दछ ।

संविधानले भविष्यको आवश्यकता र पिँढी दर पिँढीको चाहनालाई प्रतिविम्बित गर्दछ । यस संविधानका पनि केही प्रावधानप्रति गुनासो अनि असहमति हुने नेपाली नागरिक र समुदाय नभएका हैनन् । तर संविधान एकै पटकमा पूर्ण र सर्वसहमतिमूलक नहुन पनि सक्छ । अनेक असमान्यस्थितिका बाबजुद विश्व इतिहासमै एउटा दुर्लभ रेकर्ड बनाउँदै कूल ९० प्रतिशत सभासदको हस्ताक्षरमा संविधान घोषित भएको हो । संविधानसभामा कायम ५९८ सभासदरुमध्ये सहमतिमा ५०७ जना सभासद्को हस्ताक्षर संविधानमा परेको छ । यो संविधानप्रति २५ असहमत सभासद् तथा ६६ सभासदले संविधानको निर्णायक मतदान अस्वीकार गरेका थिए ।
विश्व मानचित्रमा आजको मितिसम्म अधिकांश समुन्नत राष्ट्रहरू संवैधानिक तर्कहरूमा एकै पटकमा सर्व–सहमतिमा पुगेका हैनन् । संविधानप्रतिको असहमति सामान्य प्रक्रिया हो र असहमति नै थप परिष्कृत भएर निखारिने अझ राम्रो मौका पनि हो । संविधानले असहमत नागरिकका मुद्दाहरूलाई पनि सम्वोधन गर्दै हाम्रो अनि राम्रो संविधान बन्न सकोस् अनि समस्त नेपालीजनमा विकास र भातृत्वको लहर छाओस् ..
नेपालीजनमा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस् । यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपालीपनको रातो र निलो छाताभित्र सबै जना अटाउन सकौँ । विधिको शासन होस्, विधि–प्रक्रिया अनि न्याय सरोवर होस् ।
समानता यस्तो होस् कि गाई पाल्ने को ढुंग्रोभरि मोही होस् । ठेकीभरि दही होस् अनि मानाभरि घिऊ ।
गरी खान पाइयोस्, शिक्षा, स्वास्थ अनि गाँसका आधारहरू माफियातन्त्रबाट माथि होस् । सबैको एउटै आवाज होस् ।
मेरो नेपाल प्यारो छ ।


त्रयोदशी श्राद्ध
विशेष अडियो
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।
त्रयोदशी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।


मघा श्राद्ध
विशेष अडियो
यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले मघा पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यासम्म चल्ने पितृ पक्षको मघा नक्षत्र को श्राद्धलाई विशेष रूपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथि पनि अन्य तिथिहरू समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथिलाई विशेष मानिन्छ ।
मघा तारा
मघा तारा चाहिँ पितृहरूले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथिमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।
पितृ पक्ष अथवा महालय श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ, कुतुक र रोहिणी मुहूर्तमा यी श्राद्धकर्महरु गरिनु अत्यन्त फलदायी भएको मानिन्छ, त् मघा श्राद्धलाई काकवली अथवा वलभोलानी पनि भनिन्छ । यस तिथिमा उमेर नपुगी मृत्युवरण भएका बालबालिकाका लागि संझनास्वरुप श्राद्ध गरिन अत्यन्त फलदायी मानिन्छ, यस तिथिमा मृत्युवरण भएका सकल पितृहरूको मोक्षको कामना ।