रमा एकादशी व्रत / अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
कार्तिक कृष्ण एकादशी
कार्तिक कृष्ण एकादशी

रमा एकादशी व्रत
विशेष अडियो
रमा को अर्थ
कार्तिक कृष्ण एकादशी वा रम्भा एकादशी या रमा एकादशी कार्तिक महिनाको कृष्णपक्षको एकादशी हो, तिहारभन्दा केवल ४ दिनअघि यस एकादशी पर्छ । लक्ष्मी माताको अर्को नाम रमा पनि हो ।
यस कारण पनि लक्ष्मीनारायण भगवान् विष्णुका लागि यस एकादशीको महत्त्व धेरै रहन गएको छ । यस एकादशी यति महत्त्वपूर्ण छ कि यस दिन व्रत लिनाले १००० अश्वमेध यज्ञ र १०० राजशुया यज्ञहरू बराबरको फल मिल्छ भन्ने विश्वास छ ।
रमा एकादशीको महत्मय
महाभारतमा कृष्णले युधिष्ठिरलाई चन्द्रभागाको भक्तिको उदाहरण दिएर यस एकादशीको महत्मय वर्णन गर्नुभएको पाइन्छ । चन्द्रभागा अनि उनका पिता मुचुकुन्द र पति शोभनासँग जोडिएर यस एकादशीको बयान भएको छ । रमा एकादशीको दिन राजा मुचुकुन्दले राज्यभरि सबैलाई उपवास लिन भनेका हुन्छन् । चन्द्रभागाले राजा शोभनासँग विवाह गरेपछि शोभनाले पनि यस एकादशीको व्रत त सुरु गर्छन् । तर सुस्तरी कमजोर हुँदै गएका राजा शोभनाको एक दिन मृत्यु हुन्छ ।

पतिको मृत्युपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात् माइतै बस्न थालिन् । तर रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मन्दराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो । एक दिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेपछि उनले राजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति–वृत्तान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सबै घटना वृत्तान्त सुनाए । रमा एकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए ।
त्यसपछि चन्द्रभागाले मन्दराचल पर्वत पुगेर ती ब्राह्मणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्याए र वामदेव ऋषिका आश्रममा राखे । वामदेव ऋषिले चन्द्रभागासँग सबै वृत्तान्त सोधे । वेद मन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य प्रज्वलित भयो ।

त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समीप पुगिन् र रमा एकादशी व्रतका प्रभावले यस्तो सबै अभूतपूर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भइन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे । त्यही भएर जसले रमा एकादशीको व्रत सम्पन्न गर्छ, उसको यसै गरी सबै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास छ ।
रमा एकादशी विधि
रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठी नित्य शुद्ध बनी निराहार व्रत बसी दान आदि कर्महरू पूरा गर्नुपर्छ । रमा एकादशी व्रतका अवसरमा भगवान् विष्णुलाई धूप, दीप, नैवेद्य, फूल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ । अरू एकादशी व्रतमा झैँ रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी व्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन छ ।


अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
विशेष अडियो
हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट सुरु भएको हो । त्यस दिन, पेरिसको ट्रोकाडेरोमा एक लाख भन्दा बढी मानिसहरू भेला भएका थिए जुन ठाउँमा सन् १९४८ मा नै मानव अधिकारको विश्वव्यापी घोषणामा हस्ताक्षर गरिएको थियो। चरम गरिबी, हिंसा र भोकमरीको सिकार भएको विश्वमा गरिबी निवारण गर्ने मूलभूत उद्देश्यका साथ यसरी सुरु भएको यस दिवस आज पनि मनाइदैछ ।
विश्व बैङ्कको प्रतिवेदन हेर्ने हो भने पछिल्ला दुई वर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस फेरि गरिबीको चपेटामा परेका छन् । यी मानिसहरूमा अधिकांश दक्षिण एसिया र सब–सहाराका देशहरूमध्येका छन् ।
परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आम मानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका छन् । त्यस्ता दृश्यले कहिले शक्तिशाली राष्ट्र केवल तुजुकमा रमिरहँदा मानवीय पक्ष हराएको हो कि भन्ने आभास दिलाउँछ ।
२१सौँं शताब्दीको यो पहिलो अर्ध दशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस बास र कपासको आधारभूत प्रत्याभूति पनि हुन सक्ने छेकछन्द देखिएको छैन ।हरेक सरकार अनि संसद्को प्रथम प्राथमिकता भनेकै गरिबी उन्मूलन हुनुपर्ने हो । यो गरिबी उन्मूलन निम्ति शान्ति, स्थायित्व र आर्थिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण तत्त्व हुन् । यो विषयमा नेपाल पनि चुक्दै आएको छ ।
नेपालमा गरिबी
हामीले विश्व बैङ्कको तथ्याङ्क साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । वैदेशिक रोजगारीको विप्रेषण आएको रकममार्फत बढेको आयलाई दीर्घकालीन मान्न अवश्य सकिन्न । देशमै रोजगार अनि सीपको उजागर गर्दै बजार अनि वित्त व्यवस्थापन जरुरी छ । अर्कोतर्फ कृषि कार्यमा क्रान्ति ल्याएर निर्वाहमुखी भन्दा व्यावसायिक कृषि गरिनु जरुरी छ । स्मरण रहोस्, दश वर्षे द्वन्द्व र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मानिसहरूमा जीवनयापन गर्ने अवसरहरूको कमी देखिएको छ ।
अर्कोतर्फ सरकारी प्रयास स्वरूप गरिबी निवारण कोषमार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामुदायिक संस्थाहरूमार्फत विभिन्न आय आम्दानीका कार्यक्रम सञ्चालनमा आए । तर त्यसले कतिलाई गरिबीबाट माथि उठायो भन्ने चाहिँ मूल्याङ्कन भएको छैन । अनि गैरसरकारी संस्थाहरू पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनका मार्गमा लागि परेका छन् ।

गरिब र धनीको अव्यक्त खाल्डो विश्वभरि नै मौन लडाइँका रूपमा छ । यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरिब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका विपन्न समुदायप्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ ।आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।
सबैको घरमा छाना होस्
मानामा चामलका दाना होस्
कोदो होस् या पीठो होस्
जीवन सबैको मीठो होस्
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२५ को नारा “Ending social and institutional maltreatment: ensuring respect and effective support for families,” ले समाज र संस्थाभित्र हुने अन्यायपूर्ण व्यवहार अन्त्य गरी सबै परिवारप्रति सम्मान, गरिमा र सहयोग सुनिश्चित गर्नुपर्ने सन्देश दिन्छ।
जय होस्