मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
२४४ दिन अगाडि
३१असोज २०८२शुक्रवारOct 17, 2025🌘

रमा एकादशी व्रत / अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

कार्तिक कृष्ण एकादशी

सूर्योदय:६ : ०४
सूर्यास्त:१७ : ३३

नोटस्

आगामी दिनहरू

रमा एकादशी व्रत

रमा एकादशी व्रत

विशेष अडियो

0:00 / 0:00

रमा को अर्थ

कार्तिक कृष्ण एकादशी वा रम्भा एकादशी या रमा एकादशी कार्तिक महिनाको कृष्णपक्षको एकादशी हो, तिहारभन्दा केवल ४ दिनअघि यस एकादशी पर्छ । लक्ष्मी माताको अर्को नाम रमा पनि हो ।


यस कारण पनि लक्ष्मीनारायण भगवान् विष्णुका लागि यस एकादशीको महत्त्व धेरै रहन गएको छ । यस एकादशी यति महत्त्वपूर्ण छ कि यस दिन व्रत लिनाले १००० अश्वमेध यज्ञ र १०० राजशुया यज्ञहरू बराबरको फल मिल्छ भन्ने विश्वास छ ।

रमा एकादशीको महत्मय

महाभारतमा कृष्णले युधिष्ठिरलाई चन्द्रभागाको भक्तिको उदाहरण दिएर यस एकादशीको महत्मय वर्णन गर्नुभएको पाइन्छ । चन्द्रभागा अनि उनका पिता मुचुकुन्द र पति शोभनासँग जोडिएर यस एकादशीको बयान भएको छ । रमा एकादशीको दिन राजा मुचुकुन्दले राज्यभरि सबैलाई उपवास लिन भनेका हुन्छन् । चन्द्रभागाले राजा शोभनासँग विवाह गरेपछि शोभनाले पनि यस एकादशीको व्रत त सुरु गर्छन् । तर सुस्तरी कमजोर हुँदै गएका राजा शोभनाको एक दिन मृत्यु हुन्छ ।

पतिको मृत्युपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात् माइतै बस्न थालिन् । तर रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मन्दराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो । एक दिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेपछि उनले राजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति–वृत्तान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सबै घटना वृत्तान्त सुनाए । रमा एकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए ।


त्यसपछि चन्द्रभागाले मन्दराचल पर्वत पुगेर ती ब्राह्मणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्‍याए र वामदेव ऋषिका आश्रममा राखे । वामदेव ऋषिले चन्द्रभागासँग सबै वृत्तान्त सोधे । वेद मन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य प्रज्वलित भयो ।

त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समीप पुगिन् र रमा एकादशी व्रतका प्रभावले यस्तो सबै अभूतपूर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भइन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे । त्यही भएर जसले रमा एकादशीको व्रत सम्पन्न गर्छ, उसको यसै गरी सबै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास छ ।


रमा एकादशी विधि
रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठी नित्य शुद्ध बनी निराहार व्रत बसी दान आदि कर्महरू पूरा गर्नुपर्छ । रमा एकादशी व्रतका अवसरमा भगवान् विष्णुलाई धूप, दीप, नैवेद्य, फूल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ । अरू एकादशी व्रतमा झैँ रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी व्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन छ ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

विशेष अडियो

0:00 / 0:00

हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट सुरु भएको हो । त्यस दिन, पेरिसको ट्रोकाडेरोमा एक लाख भन्दा बढी मानिसहरू भेला भएका थिए जुन ठाउँमा सन् १९४८ मा नै मानव अधिकारको विश्वव्यापी घोषणामा हस्ताक्षर गरिएको थियो। चरम गरिबी, हिंसा र भोकमरीको सिकार भएको विश्वमा गरिबी निवारण गर्ने मूलभूत उद्देश्यका साथ यसरी सुरु भएको यस दिवस आज पनि मनाइदैछ ।

विश्व बैङ्कको प्रतिवेदन हेर्ने हो भने पछिल्ला दुई वर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस फेरि गरिबीको चपेटामा परेका छन् । यी मानिसहरूमा अधिकांश दक्षिण एसिया र सब–सहाराका देशहरूमध्येका छन् ।


परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आम मानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका छन् । त्यस्ता दृश्यले कहिले शक्तिशाली राष्ट्र केवल तुजुकमा रमिरहँदा मानवीय पक्ष हराएको हो कि भन्ने आभास दिलाउँछ ।


२१सौँं शताब्दीको यो पहिलो अर्ध दशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस बास र कपासको आधारभूत प्रत्याभूति पनि हुन सक्ने छेकछन्द देखिएको छैन ।हरेक सरकार अनि संसद्को प्रथम प्राथमिकता भनेकै गरिबी उन्मूलन हुनुपर्ने हो । यो गरिबी उन्मूलन निम्ति शान्ति, स्थायित्व र आर्थिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण तत्त्व हुन् । यो विषयमा नेपाल पनि चुक्दै आएको छ ।

नेपालमा गरिबी

हामीले विश्व बैङ्कको तथ्याङ्क साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । वैदेशिक रोजगारीको विप्रेषण आएको रकममार्फत बढेको आयलाई दीर्घकालीन मान्न अवश्य सकिन्न । देशमै रोजगार अनि सीपको उजागर गर्दै बजार अनि वित्त व्यवस्थापन जरुरी छ । अर्कोतर्फ कृषि कार्यमा क्रान्ति ल्याएर निर्वाहमुखी भन्दा व्यावसायिक कृषि गरिनु जरुरी छ । स्मरण रहोस्, दश वर्षे द्वन्द्व र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मानिसहरूमा जीवनयापन गर्ने अवसरहरूको कमी देखिएको छ ।


अर्कोतर्फ सरकारी प्रयास स्वरूप गरिबी निवारण कोषमार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामुदायिक संस्थाहरूमार्फत विभिन्न आय आम्दानीका कार्यक्रम सञ्चालनमा आए । तर त्यसले कतिलाई गरिबीबाट माथि उठायो भन्ने चाहिँ मूल्याङ्कन भएको छैन । अनि गैरसरकारी संस्थाहरू पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनका मार्गमा लागि परेका छन् ।

गरिब र धनीको अव्यक्त खाल्डो विश्वभरि नै मौन लडाइँका रूपमा छ । यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरिब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका विपन्न समुदायप्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ ।आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।


सबैको घरमा छाना होस्

मानामा चामलका दाना होस्

कोदो होस् या पीठो होस्

जीवन सबैको मीठो होस्


अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२५ को नारा “Ending social and institutional maltreatment: ensuring respect and effective support for families,” ले समाज र संस्थाभित्र हुने अन्यायपूर्ण व्यवहार अन्त्य गरी सबै परिवारप्रति सम्मान, गरिमा र सहयोग सुनिश्चित गर्नुपर्ने सन्देश दिन्छ।


जय होस्

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू