मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
२१३ दिन अगाडि
मंसिर २०८२सोमवारNov 17, 2025🌘

सोम प्रदोष व्रत / अन्तर्राष्ट्रिय विद्यार्थी दिवस / वृश्चिक संक्रान्ति

मंसिर कृष्ण त्रयोदशी

सूर्योदय:६ : २६
सूर्यास्त:१७ : ११

नोटस्

आगामी दिनहरू

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

‘विद्यार्थी परिवर्तनका संवाहक हुन् ।’


विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।


विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।

यथा हि चक्रं परिवर्तते सततं,

तथा विद्या च परिवर्तते निरन्तरम्।

विद्यार्थिनां चेतसि सदा परिवर्तना,

नवीनं ज्ञानं सततं हि दीप्यते॥


जसरी पाङ्ग्रा निरन्तर घुमिरहन्छ, त्यसरी नै ज्ञानको पनि निरन्तर विकास भइरहेको छ। विद्यार्थीहरूको दिमागमा, त्यहाँ सधैं परिवर्तन हुनुपर्छ, किनकि नयाँ ज्ञान निरन्तर उज्यालो हुन्छ।"


अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो?

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।

सन् १९३९ को कुरा हो । नाजीहरुले चेक रिपब्लिकका विश्वविद्यालयहरुमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरुले केही विद्यार्थीहरुको हत्या मात्र गरेनन्, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरुलाई कन्सेन्ट्रेसन क्याम्पहरुमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरु र कलेजहरु पनि बन्द गरिएका थिए ।


त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरुमा पनि विद्यार्थीहरुको विशेष भूमिका रहेको छ । २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२/६३ सालमा नै किन नहोस्, विद्यार्थीहरुको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।


त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरुमा, विश्वविद्यालयहरुमा समेत विद्यार्थीलाई भोलिका कर्णाधार भन्छौँ, उनीहरुको महत्त्वलाई बिर्सन सक्दैनौँ ।


हाम्रो पात्रोको तर्फबाट विद्यार्थी दिवसको शुभकामना ।

वृश्चिक संक्रान्ति

वृश्चिक संक्रान्ति

विशेष अडियो सामग्री

0:00 / 0:00

आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ ।


छोटा दिनहरू र लामा राताहरू

अब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ ।


बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् ।

चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी । चिसो लाग्न सक्ने भएकाले अब हामीले आफ्नो स्वास्थ्यको पनि विशेष चासो दिनुपर्छ, टोपी, पन्जा, मोजा तथा न्याना कपडाहरू हामीले अब दराजमा थन्काएका थियौँ भने निकाल्नुपर्छ । सिरक र ब्ल्याङ्केटको जोहो पनि त हामीले गरिसकेका छौँ होला । त्यसलाई पनि अब प्रयोग गर्न निकाल्नुपर्छ, जाडो रातलाई न्यानो बनाउनुपर्छ ।


मङ्सिरको महिना सुरु भएसँगै हाम्रो घर आँगनमा केही उत्सवहरू पनि आउँछन् । धेरै पहिलेदेखि यही मङ्सिरको महिनामा हुने विवाहलाई लक्षित गरेर नेपालमा अनेक गीत पनि बनेका छन्, गाइएका छन् । विवाह र व्रतबन्धजस्ता सनातनी संस्कारका लागि सबैभन्दा उपयुक्त महिना मङ्सिर मानिन्छ । त्यसैले त मंसिरमा विवाहका साइतहरू हुन्छन् । अनि विवाहका लागि चाहिने गरगहना, कपडाहरू किन्नेको भीड पनि बजारमा देख्न सकिन्छ । विवाह र व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि सबैभन्दा उत्तम महिनाका रूपमा पनि मङ्सिर लाही लिइन्छ । वैदिक सनातन हिन्दुहरूका लागि त्यसैले पनि शुभ साइतको राजाका रूपमा लिइन्छ मङ्सिर ।

एकातिर यस्ता साइतहरू हुने भएकाले मङ्सिर लाही शुभ साइतको महिना भनिन्छ भने आजकै दिनदेखि सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ । त्यसैले मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ । हाम्रो पात्रोअनुसार यो मङ्सिर सङ्क्रान्ति आठौँ सङ्क्रान्ति हो ।


मङ्सिर को यो संक्रान्तिलाई कृषि कार्यका लागि पनि विशेष मानिन्छ । किनकि साउने संक्रान्तिदेखि रोपिएको मिहिनेतको फल अर्थात् रोपाइँपछिको फल अब घरघरमा भित्र्याउने बेला भएको छ । खेतमा लहलह झुलेका धानका बाला हेर्दा यसै पनि मनमोहक देखिन्छ । सुनजस्तै फलेको धानलाई काटेर नीनमा सुकाएपछि अब बिस्तारै कुन्यू पनि लगाइन्छ । नेपालमा कतिपय ठाउँमा त धान काटेर पनि सकियो होला, कतिपय ठाउँमा यस वर्षको नयाँ धानको चामलमा दही मिसाएर न्वागी पनि आजकै दिन खाइन्छ ।


नयाँ धानको चामल, नयाँ धानको चिउरा

नयाँ धानको चामल, नयाँ धानको चिउरा कुट्ने प्रचलन पनि नेपाली समाजमा रहेको छ । आजको दिन नयाँ धान भित्र्याउने ठाउँमा वा भूमि पाथी पूजा गर्ने दिन पनि हो ।

सोम प्रदोष व्रत

सोम प्रदोष व्रत

विशेष अडियो सामग्री

0:00 / 0:00

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!

शिव गायत्री मंत्र


अर्थ

म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।


प्रदोष भनेको के हो ?

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।


प्रदोष व्रत कहिले गर्ने ?

प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।


प्रदोषमा के नगर्ने ?

प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।


प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?

पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()