मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
१५८ दिन अगाडि
२७पुष २०८२आइतवारJan 11, 2026🌘

राष्ट्रिय एकता दिवस / गोरखकाली पूजा / पृथ्वी जयन्ती

माघ कृष्ण अष्टमी

सूर्योदय:६ : ५५
सूर्यास्त:१७ : २७

नोटस्

आगामी दिनहरू

पृथ्वी जयन्ती | राष्ट्रिय एकता दिवस

पृथ्वी जयन्ती | राष्ट्रिय एकता दिवस

विशेष अडियो सामग्री

0:00 / 0:00

धर्मको रक्षा गर, देशको एकता कायम राख।"

दिव्योपदेश, पृथ्वी नारायण शाह


पृथ्वी नारायण शाहको नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ ।राष्ट्र निर्माताका रुपमा फ्रान्सका नेपोलियन बोनापार्ट, इटालीका जुसेप गरिबाल्डी, अमेरिकाका जर्ज वासिङ्टन, जर्मनीका विस्मार्क जस्तै नेपालमा पृथ्वीनारायण शाह रहेका छन् । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । उनकै जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।

आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।


पृथ्वी नारायण शाह को जीवन

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

१८ औं र १९औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधुनिक नेपालमा इतिहासबिद्ध डि आर रेग्मी लेख्नुहुन्छ कि पृथ्वी नारायण शाहको जीतको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले ससाना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिँदैन भनेर ।


यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।

पृथ्वी नारायण शाह को हराएका सालिकहरू

२०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ । चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वीजयन्ति होस्, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्व राख्ने उनका सालिकहरू ढलाइएका वा तोडफोड गरिएका मात्र नभई उनलाई युद्ध अपराधीको रूपमा समेत प्रचार गरिएको छ । अहिले आएर उनका विरुद्धमा कैयौँ लेख तथा पुस्तकहरू लेखिएका छन् र यस्ता अधिकांश पुस्तकहरू कल्पना र हल्लामा मात्र आधारित छन् । त्यसो गर्नु पृथ्वीनारायण शाहको मात्रै होइन, नेपालको इतिहासमाथिकै प्रहार र अपमान हो भनेर बुझ्न जरुरी छ । पृथ्वी नारायण शाह माथि आक्रमण गरेर गणतन्त्र बलियो हुने हैन र उनमाथि को आक्रमणले राजतन्त्रसँग बदला लिने आशय राख्नु पनि गलत हो । एकीकरण अभियानका वेलामा पृथ्वीनारायण शाहमा केही कमीकमजोरीहरू थिए होलान् । तर, ती कमजोरीहरू उनको महान् अभियानका सामु गौण छन् । २० वर्षको उमेरमा एकीकरणको महत्त्वाकाङ्क्षा राखेर सफलताको बाटोमा हिँड्ने अदम्य साहस भएका यी राजासँग आजको पुस्ताले सिक्नुपर्ने धेरै कुरा छन् । अढाई सय वर्षपछि उत्पात मच्चाएर उल्लेख गर्नुपर्ने विषय नभई केवल साधारण कमजोरीका रूपमा मूल्याङ्कन गर्ने विषय हुन् ।


"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"

"नेपाल दुई ढुङ्गाबिचको तरुल हो"

यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

पृथ्वी नारायण शाहको कुरा गर्दा यीनका साहसी सेनानीहरु कालु पाण्डे लगायतलाई ईतिहासले विर्षन हुँदैन ।किर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात स-सम्मान काठमाण्डौ थानकोट नजिक ईन्द्रदहमा उनको समाधी अझै पनि त्यहि ठाँउमा रहेको छ । आधूनीक नेपालको खाका कोर्ने यीनै राजाले नै गोर्खामा देखेको काठ्माण्डाैको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रार्दुभाव गरेका हुन् । विक्रम सम्वत् १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्नततिका शाषकहरुले विक्रम सम्वत् २०६३ को जनआन्दोलनको माग अनुरुप शासन सत्ताबाट अपदस्त गराई गणतन्त्रामक नेपाल स्थापित गराईएको हो ।

पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू-भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डाैको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यस क्षण काठ्माण्डाैको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू-भागहरु जितेका हुन् । परराष्ट्र मामिलामा पनि यीनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।


भक्तपुरको राजपरिवारसंग मितेरि साईनो गाँसेर पनि आक्रमण गरि विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्ध भन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रुपमा सदैव नेपाली हृदयमा रहनेछन् ।

किर्तिपुरवासीहरु माथिको अन्याय

युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले किर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि किर्तिपुरवासीहरुले पुराना क्रुरताका कथाहरु भन्दछन् । जे होस् आधूनिक नेपालका यी रचयीताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरुसमक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन् ।


सदन अनि सडक दुबैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिकतै देश अनि देशबासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ ।


देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन्, यहाँ पाइलाहरु मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडावाट हामी सबैलाई नियाल्दै छन् ।

जय होस् !

गोरखकाली पूजा

गोरखकाली पूजा

विशेष अडियो सामग्री

0:00 / 0:00

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।

दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥


विजयी (जयन्ती), शुभ (मंगला), काली (उग्र), भद्रकाली (कपालिनी) र कपाल धारण गर्ने देवीलाई नमस्कार छ। उनी दुर्गा (अपराजेय), शिव (शुभ), क्षमा (क्षमाको अवतार), धात्री (समर्थक), र पवित्र उपहार (स्वाह र स्वाधा) हुन्।


यो श्लोक प्रायः सुरक्षा, सफलता, र आध्यात्मिक शक्तिको लागि देवीको आशीर्वादको लागि मन्त्रोच्चारण गरिन्छ ।


बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।


बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।

यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।


गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।


यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ। गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।


गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।

गोरख सन्देश

गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –


देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।

अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।


हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।


बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।


गोरखकाली पूजाको असीम स्नेह ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू